नेपाल

नेपालमा थपिए ३६० संक्रमित, थप पाँच जनाको मृत्यु

काठमाडौँ उपत्यकामा थप ८७ सहित ८३९ जनामा कोरोना संक्रमण

प्रकाशित |

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३६० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ६६२२ जनाको पिसिआर परीक्षणका क्रममा ३६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 
बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । जसमा ६२९६ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको छ ।
 
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम गरी सात जिल्लामा संक्रमितको संख्या शून्य छ । प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको बताए । 
 
मृत्यु हुनेमा मोरङका ४५/४५ वर्षीय दुई पुरुष, सर्लाहीका ६५ वर्षीया महिला, धनुषाका ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको साउन २१ गते मृत्यु भएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६५ जना पुगेको छ ।
 
काठमाडौँ उपत्यकामा थप ८७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ८३९ पुगेको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ४ लाख १९ हजार ५७५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ९ हजार ४७० जना देशभरका क्वारेन्टाइनमा र ६२९६ जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै, बिहीबार एकै दिन कोरोना संक्रमण निको भई २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ । जुन कुल संक्रमितको ७० प्रतिशत हो ।



हिमालयखबर संवाददाता

हिमालयखबर संवाददाता -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया