मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए मास्क

अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए मास्क


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी सुरु भएपछि पहिलोपटक सार्वजनिकरूपमा मास्कको प्रयोग गरेका छन् । 
 
यसअघि कोराना भाइरसको महामारीलाई कम महत्त्व दिँदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाउन बाध्य भएका छन् । 
 
उनले यसअघि आफूले मास्क नलगाउने उद्घोष गरेका थिए भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका थिए । 
 
गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्सन ९सिडिसी’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिँदा पनि ट्रम्पले अस्वीकार गर्दै र वेवास्ता गर्दै आएका थिए । 
 
तर, शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उनले मास्क लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
 
वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उनी शनिबार हेलिकोप्टरमार्फत् गएका थिए । आफ्नै अडानविपरीत मास्क लगाएको अवस्थामा सार्वजनिक भएपछि उनले विषेश गरेर अस्पतालमा आएको बेला मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो हुने प्रतिक्रिया दिएका थिए ।  
 
उनी घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वासिङ्टनबाहिर रहेको सो अस्पतालमा गएका हुन् । 
 
अमेरिकामा पछिल्लो २४ घन्टामा ६६ हजार बढी नयाँ सङ्क्रमित भेटिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 
 
महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै एक लाख ३७ हजार ५७२ मानिसको मृत्यु कोरोनाकै कारण भएको जनाइएको छ । एपी