विचार / ब्लग

हेपिएका महिला अब सशक्त महिला

530 पटक पढिएको

-सुशीला शर्मा | 10th Jul 2020, Friday | २०७७ आषाढ २६, शुक्रबार ०९:१५
शिक्षा र चेतनाको हिसाबले अझै पनि नेपाली महिलाहरुको स्थितिले दीर्घकालिन लक्ष्य हाँसिल गर्न सकेको छैन। ग्रामिण भेग र सहरी भेगका महिलाको वीचमा कैयौं कुरामा असमानता देखिन्छन् । शिक्षा र रोजगारी मात्र नभएर निर्णयको अधिकार, समानता र समझदारी मिश्रित सशक्तिकरण नै वास्तवमा महिला सशक्तिकरण हो । २०११ को जनगणनालाई आधार मान्दा महिला साक्षरता (४६.७) पुरुष साक्षरता (७१.१) भन्दा २५ प्रतिशतले कम छ। महिला साक्षरता कम हुनु भनेको शिक्षामा महिलाहरुको पहुॅच कम हुनु हो। जसले महिलाहरुलाई समग्र आर्थिक, सामाजिक एवं पारिवरीक गतिविधिहरुमा पछि पारेको छ।
 
बर्षौदेखि पाठेघर खस्ने समस्या भएकाहरुले क्यान्सरको अवस्था आईसक्दा पनि लोक-लाजका कारण समस्या लुकाउने गरेको थुप्रै घटनाहरु हाम्रै वरिपरि छन्। गरीब वा एकल भएकैले पनि महिलाहरुप्रति फरक व्यवहार पनि हुने गरेको छ। आँखाले देख्ने सुन्दरताको परिभाषाभित्र नपरेर हेपिएकी हुन् वा आफ्नै परिवार अनि समाजबाट बोक्सीको आरोप खेपेकी महिला हुन्, महिलाहरु प्रताडित छन्। महिनावारी र प्रसवका बेला छाउगोठमा बस्नुपर्ने चलन भएका महिलाहरु फरक व्यवहार भोग्न बाध्य छन्। यसैगरी श्रीमान र परिवारको मानसिक र शारीरिक यातना सहिरहेका तर त्यस्ता यातनाबारे कसैसंग पनि भन्न नसक्ने कैयन महिला दिदी-बहिनीहरु हाम्रै समाजमा यत्र-तत्र छन्। महिलाहरुप्रति बिभेद र फरक सामाजिक व्यवहार हुनुमा सासु वा नन्द-आमाजुका रुपमा महिलाहरु नै जिम्मेवार छन् भन्ने बुझाई पनि हाम्रो समाजमा पाइन्छ।
 
आजकल महिलाका शत्रु महिला नै हुन् भन्ने तर्कहरु पनि प्रसस्तै उठ्ने गरेको सुनिन्छ। हुन त महिलाका शत्रु पुरुष पनि होईनन् तर पनि समाजमा पुरुषको अग्रस्थानको कारणले गर्दा महिलालाई अधिनस्थ बनाउने पुरुष प्रधान समाजबारे यस्ता धारणा बन्नु सामान्य हो।
 
महिलाका शत्रु महिला नै हुन् भन्नेहरुको तर्क यस्तो छ—विदेश गएका लोग्नेले दुःख गरेर कमाएर पठाएको पैसा श्रीमतीले उडाईन् या त्यही पैसा लिएर अर्कै पुरुषसंग बिहे गरिन् आदि। केही अपवादहरुलाई आधार बनाएर समग्र महिलाहरु नै खराव हौ भन्नेमा हामी महिलाहरु पनि हौं। विज्ञानका कुरा गर्छौ, विज्ञान नै पढेका पनि छौं तर पनि महिनावारी नवारेमा कस्तो कस्तो लाग्छ भन्दै छोईछिटो गरिरहेका हुन्छौं ।
 
कोही होटल व्यवसायी महिलाले आफ्ना होटलमा भर्खर पढ्ने उमेरका किशोरीहरुलाई काममा लगाएका हुन्छन् । ती किशोरीहरु पहिरन र मेकअपमा त अगाडि नै छन् तर उनीहरु पढ्नबाट बन्चित छन्। महिला व्यवसायी भएर पनि ती किशोरीहरुलाई पढ्ने अवसर दिन सकेका छैनन्।
 
महिला होस् या पुरुष, शारीरिक संरचनालाई छोडेर परिभाषित गर्ने हो भने यी दुबै मानव हुन् र समाज बिकास,परिवर्तनसंगै हाम्रा संस्कृति चालचलन अनि भिन्न शारीरिक संरचना र प्राकृतिक भूमिकाले गर्दा नै महिलाको स्थिति कालान्तरमा पुरुषको भन्दा कमजोर र राज्यमा महिलाले दिने योगदान र भूमिकालाई समेत कमजोर बनाएको छ ।
 
हामी महिलाहरु हाम्रा संस्कृति मूल्य मान्यतासंग यसरी गाँठो परेका छौं कि त्यो गाँठो अनन्तसम्म पनि फुकाउन नसकिने बरु झन् कस्सिएर बरु चुँडिएला हाम्रो मनस्थिति चुँडिनेवाला छैन् । जस्तो कि हामी महिनावारीमा खाना पकाउन नहुने, देवी देवताका मन्दिर छुन नहुने भन्ने सामाजिक मान्यताले बाॅधिएका छौं। यहाँसम्म कि दिनभरी भान्सामा जान नभएको कारण भोकै बस्न र ग्यास्ट्रिकको समस्या सहन तयार हुने तर महिनावारी भएकै कारणले सधैं आफूले गरिरहेको कार्य गर्न नहुने मान्यता पालन गर्न बाध्य छौं। र, श्रीमानले पनि त्यस्तै परिस्थितिलाई स्वीकार गरेर निरन्तरता दिईरहेकै छन्। बिभिन्न चाडवाड् अनि धार्मिक महोत्सवमा ब्रत बस्ने, पूजाआजा गर्ने , पाहुना-पाच्छाको सत्कार गर्ने लगाएतका यावत काममा महिलाको उपस्थिति नै उल्लेख्य हुने तर त्यस्ता कामहरुको मुल्याङ्कन भने नहुने स्थिति छ। यसैगरी बिवाह लगाएतका धार्मिक-साॅस्कृतिक जमघट, भोज-भतेर लगाएतका कार्यक्रममा महिलाले विशेष रुपले सजिनुपर्ने अनि नयाँ र परिष्कृत शैलीका गहना/कपडाहरु लगाउनुपर्ने र त्यसो भएन भने त्यस्ता समारोहहरुमा उपस्थित हुन नै अप्ठ्यारो हुने दबावमा सबै क्षेत्रका महिलाहरु छन्। आजकल त कामकाजी महिलाहरुलाई पनि नयाँ शैली र तरिकाका पहिरनहरु लगाउन जानिएन या सकिएन भने पनि आधुनिक समाजसंग समायोजन हुन नसकिएला कि भन्ने पीर थपिएको छ।
 
केही पढेलेखेका, आर्थिक रुपमा सबल र सुविधायुक्त जीवनशैली भएका महिलाहरुको सशक्तिकरण त निकै देख्न सकिन्छ तर हामी अलिकति सचेत भनिएका महिलाहरुको मनस्थितिमा पनि सकारात्मक र विश्लेषणात्मक परिवर्तन आउन भने बाँकी नै छ । हुन त परिवर्तन एक्कासी देखिने जादुको छडी होईन कि छुने वित्तिकै नौलो परिणाम देखिईहालोस् । नेपाल भनेको काठमाण्डौं या गिने-चुनेका शहर मात्र होईन् कि ठाउँ र भेषभूषा हेरेर कुनै ब्यक्तिको जीवनस्तर आँकलन गर्न सकियोस् । यहाँ विकट हिमाली क्षेत्र होस् वा पहाड अनि तराई सबै ठाउँमा अत्यन्त कष्टकर जीवन जिउन बाध्य कैयन मानिसहरु छन्। झन् त्यस्तै परिवेशमा महिलाहरुको जीवनस्तर त झनै कहाली लाग्दो छ।
 
तर यी सबै सकारात्मक नलाग्ने सूचनाहरुका अतिरिक्त अचेल केही सुखद परिवर्तनहरु पनि देखिन थालेका छन्। हामी महिलाहरु आर्थिक रुपमा केही सशक्त देखिएका छौं। शैक्षिक स्तर बढेको छ । सवारी साधनहरु आफैं हाँकेर आफ्ना गन्तव्यसम्म जान सक्छौं । सरकारी तथा गैरसरकारी संस्था लगाएत स्वास्थ्य सेवा , वैंकिङ्ग, होटल एवं पर्यटन क्षेत्रहरुमा समेत उल्लेखनीय संख्या र भूमिकामा महिला सहभागिता बढेको देखिन्छ। नेपालको सन्दर्भमा त वर्तमान राष्ट्रपति नै महिला हुनुहुन्छ भने प्रधानन्यायाधीश र सभामुख समेत भैसकेका महिलाहरु हुनुहुन्छ।
 
हालैका बर्षहरुमा सामाजिक र आर्थिक क्रियाकलापहरुमा महिलाहरुको सक्रियता निकै बढिरहेको छ। यसलाई कतिपय अर्थमा महिला सशक्तिकरणमा आएको सकारात्मक परिवर्तनका रुपमा पनि लिन सकिन्छ। विशेष गरेर महिलाहरु समूहमा आवद्ध हुने, सानो तिनो रकम बचत गर्ने, भ्रमण गर्ने, अनुभव बटुल्ने, आफ्ना दुःख सुखबारे खुलेर अभिब्यक्त गर्न सक्ने भएका छन्। यो परिवर्तन गाउँठाउँमा लेखपढ गर्न नसकेका महिलामा देखिएका कुराहरु हुन् । यस्तो हुनुमा सरकारका बिभिन्न निकायहरु, गैरसरकारी संस्था, परिवारको पुरुष सदस्यहरुको सहयोग र राजनीतिमा महिला सहभागिता प्रमुख कारक हुन्।
 
समाज अलि उदार बन्दै गइरहेको परिप्रेक्षमा शहर बजारहरुमा सार्वजनिक र पारिवारीक समारोहहरुमा पुरुष साथीहरुसंगै बसेर वाईन पिउनेसम्मको परिवर्तनहरु देखिइसकेको छ। पुरुषहरुको मात्र जमघट हुने रात्रीकालिन क्लब/डिस्कोथेकहरुमा अवेरसम्म रमाउने शहरीया महिलाहरु पनि अचेल प्रशस्तै छन्।
 
हिजोआज देखिएका केही राम्रा परिवर्तनहरुलाई संस्थागत गर्दै आमरुपमा महिलाहरुप्रति हुने गरेका सामाजिक, आर्थिक, राजनीतिक तथा साॅस्कृतिक बिभेदहरु अन्त्य गर्न महिला र पुरुषको एकिकृत तर सकारात्मक बिभेद सहितको हस्तक्षेप जरुरी छ। राज्यका उत्च तहमा महिलाहरु पुगिसकेका भएपनि नीति निर्माणका तहमा महिलाहरुको उल्लेखनीय सहभागिता बढ्नु आवश्यक छ। अति पिछडिएका क्षेत्रका, दलित, मधेसी, शारिरीक/मानसिक अशक्तता भएका फरक क्षमता भएका एवं एकल महिलाहरुको सार्वजनिक सहभागिता अझै बढ्नु पर्छ। विद्यालय जाने उमेरका बालिका तथा किशोरीलाई पहिला शिक्षा अनि मात्र काम र बिवाह भन्ने सामाजिक मान्यता विकास हुनु परेको छ। हेपिएर, दबिएर बस्न हुँदैन भन्न नसक्ने र आधुनिकताको नाममा कमजोर र साधारण महिलालाई शोषण गर्ने प्रवृत्तिमा पनि सुधार आवश्यक छ।
 
हामी महिला आधा आकाश हौं । हामीमा प्रकृतिले हस्तान्तरण गरेका जटिल किसिमका शारीरिक विशेषता छन् र पनि समाजमा हेपिन, चेपिन पुगेका छौं, तर समय सधैं एकनाश हुँदैन, यो परिवर्तनशील छ, र प्रगतिशिल पनि। विगतका कतिपय असमान मूल्य मान्यताहरु बिस्तारै बदलिंदै छन्। त्यसैले हामी महिलाहरुले सानातिना कुराहरु कै कारण फरक नसोचौं। महिलाले महिलालाई बोक्सी नभनौं। बिग्रेकी नभनौं। पाखे नभनौ। यो जात, उ जातको नभनौं। पाप र धर्ममा आफ्नो मनोविज्ञानलाई नसाटौं। महिला तथा बालबालिका अनि जेष्ठ नागरिक मैत्री बनौं। र, समाजमा एउटा जिम्मेवार नागरिक, विवेकशील व्यक्ति र सबैभन्दा महत्वपूर्ण कुरा हामी महिला बनौं। दोष भाग्यको होइन र दोष अरुको पनि होईन। एक पटक आफैंलाई नियालौं, अघि बढौं। हामीमा भईराखेका गुण, साहस, उत्साह अनि जाँगरलाई निरन्तरता दिदै कमी कमजोरीलाई पहिल्याउँदै, सिक्दै अघि बढौं। सामाजिक बिभेद र अन्यायको बिरुद्ध आवाज उठाउँदै अघि बढौं। त्यसो भयो भने अवष्य असमानतालाई चिरेर न्यायिक संसारभित्रको मानव हुन सक्नेछौ र स्वाभिमानी महिला भएर रहन सक्नेछौं। 
 
-(शर्मा सामाजिक विकासका क्षेत्रमा सक्रिय छिन्)