मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सराङकोट पहिरोमा परी मृतकको संख्या पाँच पुग्यो

सराङकोट पहिरोमा परी मृतकको संख्या पाँच पुग्यो


कास्की । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । 
 
पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 
 
घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना  घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र  पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
 
त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उनका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
घाइतेको टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोटपटक अस्पतालका चिकित्सक डा असिम सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ । गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो ।
 
पिङ्की थापाको जन्मदिन मनाउने कार्यक्रमसहित घरमा छिमेकी तथा आफन्त भेला भएका थिए । तनहुँका सरस्वती दुई छोरासहित दिदीको घरमा आएका थिए । पोखराका विभिन्न ठाउँमा गएरातिको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।
 
यसअघि पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरामा पुरिँदा उनका आमा ७० वर्षीया हिमकलीको घटनास्थलमै मृत्यु भएको थियो । वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । रासस