मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘भारतीय सञ्चारमाध्यमका समाचार भ्रामक’

‘भारतीय सञ्चारमाध्यमका समाचार भ्रामक’


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कतिपय भारतीय सञ्चारमाध्यमले केही दिनयता  गलत, भ्रामक र मर्यादाहीन समाचार सम्प्रेषण गरिरहेको प्रति आपत्ति जनाएका छन् । 
 
सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “ती सञ्चारमाध्यमको अभीष्ट राम्रैसँग बुझ्न सकिन्छ । तिनले पत्रकारिताबाहेक अरूथोक मात्र गरिरहेका छन् । तीन करोड नेपालीजनमा यस्ता आधारहीन सम्प्रेषणले कुनै अर्थ राख्दैनन् । बरू जिम्मेवार पत्रकारिताका निम्ति यस्तो सम्प्रेषण स्वयंमा लज्जाको विषय भएको छ ।”
 
कतिपय भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई जोडेर अनर्गल समाचार प्रवाह गर्दै आएका छन् । 
 
प्रधानमन्त्री ओलीले यही असार १४ गते जननेता मदनकुमार भण्डारीको जन्मजयन्तीका कार्यक्रममा नेपालले अतिक्रमित भूमिलाई समेटेर आफ्नो नक्शा छापेवापत भारतीय संयन्त्रले नेपालमा सरकार परिवर्तन गर्न लागेको अभिव्यक्ति दिएका थिए । त्यसयता सत्तारुढ दलभित्र आन्तरिक विवाद बढेको छ । 
 
यसैबीच, नेपालमा भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक अन्य सबै च्यानलको प्रशारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरले भारतीय समाचार च्यानलको प्रशारणमा रोक लगाएको बताएका छन् ।
 
नेपालको बारेमा गलत समाचार लगातार प्रशारण गरेपछि यस्तो निर्णय गर्नुपरेको हो । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले भारतीय टेलिभिजन च्यानलहरुले नेपालका बारेमा अनर्गल प्रचार गरेकाले नेपालमा रोक लगाउनुपरेको बताएका छन् । 
 
नेपालको अस्मितामाथि लगातार अफवाह फैलाएपछि स्वतःस्फूर्तरुपमा भारतीय टेलिभिजन च्यानल बन्द गराएको हो । हालसम्म २० वटा न्युज च्यानल बन्द गरिसकेको जनाइएको छ । रासस