राजनीति / समाज

मंगलबार एक हजार बढी नेपाली स्वदेश फर्किए

139 पटक पढिएको

7th Jul 2020, Tuesday | २०७७ आषाढ २३, मंगलवार १०:००
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् ।
 
मंगलबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ ।
 
दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । 
 
त्यस्तै, हिमालय एयरलाइन्सले दमामबाट १५४ र अबुधाबीबाट १५५ नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएको छ । सोही एयरलाइन्सको जहाज थप नेपाली ल्याउन दोहा प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 
 
जजिरा एयरलाइन्सले कुवेतबाट १६० यात्रु काठमाडौँ ल्याएको छ । कुवेतबाट यात्रु ल्याउन पुनः त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।
 
शुक्रबार पनि ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट ८७७ नेपाली स्वदेश फर्किएका थिए । आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका आठ चार्टर्ड उडान भएको विमानस्थलले जनाएको छ ।
 
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विदेशका कतार, जजिरा, टर्किसलगायत एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन विभिन्न मुलुकका चार्टर्ड उडान गरिरहेका छन् । रासस