मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोभिड–१९ बाट संक्रमितको संख्या एक करोड १८ लाख नजिक

विश्वभर कोभिड–१९ बाट संक्रमितको संख्या एक करोड १८ लाख नजिक


जेनेभा ।  विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख ४१ हजार ७५३ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख नजिक पुगेको छ । 
 
तर, जोन हकिन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितको सङ्ख्या एक करोड १७ लाख रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच लाख ४१ हजारभन्दा बढी पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ६७ लाखभन्दा बढी रहेको छ ।
 
विश्वमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । सङ्क्रमणका हिसाबले भारत विश्वको बढी प्रभावित मुलुकहरूमध्ये तेस्रो स्थानमा रहेको छ । 
 
यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि बेलायतमा बढी रहेको छ । बेलायतमा मङ्गलबारसम्म कुल ४४ हजार २३६ को मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या भने दुई लाख ८५ हजार ७६८ मात्रै रहेको छ । 
 
सङ्क्रमण र मृत्युका हिसाबले हेर्दा विश्वमा बढी प्रभावित अन्य मुलुकहरूमा इटली, स्पेन, रूस, पेरू, फ्रान्स, मेक्सिको र जर्मनीलगायतका मुलुकहरू रहेका छन् ।  
 
विश्व स्वास्थ्य सङ्गठनले विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण महामारी को अवस्था आएको घोषणा गत मार्च ११ मा गरेको थियो । सर्वप्रथम कोरोना भाइरस सङ्क्रमणको पुष्टि चीनको वुहान सहरमा भएको थियो । 
 
ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु 
 
ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबार ६५ हजार ६३१ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ ।
 
मन्त्रालयका अनुसार विगत २४ घन्टामा ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ६५६ रहेको छ ।
 
त्यस्तै विगत २४ घन्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थप २१ हजार ४८६ ले वृद्धि भएको छ । अहिलेसम्म ब्राजिलमा १६ लाख २६ हजार ७१ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् । सोमबार ब्राजिलमा नयाँ सङ्क्रमितको सङ्ख्या २६ हजार रहेको थियो भने मृत्यु सङ्ख्या ६०२ रहेको थियो ।
 
ब्राजिलमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण उपचारपछि निको हुनेको सङ्ख्या १० लाख ७२ हजार २२९ रहेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एएफपी