प्रवास

भारतमा कोभिड–१९ का संक्रमितको संख्या सात लाख नाघ्यो

138 पटक पढिएको

6th Jul 2020, Monday | २०७७ आषाढ २२, सोमबार १२:००
नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा कोभिड–१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या ७ लाख नाघेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ७ लाख १९ हजार ४४८ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । 
 
विगत २४ घन्टामा भारतमा थप २४ हजार २४८ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४२५ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । विज्ञप्तिका अनुसार सोमबार रातिसम्म ४ लाख ४० हजार १३७ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।” 
 
सोमबारसम्मको विवरणअनुसार भारतमा अझै २ लाख ५९ हजार १३७ व्यक्ति सङ्क्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरहेका छन् ।  भारतमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख ६ हजार ६१९ संक्रमित रहेका छन् भने ८ हजार ८२२ जनाको मृत्यु भएको छ ।
 
दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ १ लाख ११ हजार १५१ जना संक्रमित रहेका छन् भने १ हजार ५१० जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । यहाँ ९९ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ६७ जनाको मृत्यु भएको छ । 
 
भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ । एएनआई