विचार / ब्लग

‘साप्ताहिक’ र ‘नेपाल’ किन बन्द भए ?

1020 पटक पढिएको

– विजय घिमिरे

कान्तिपुर मिडिया हाउसलाई बाहिरबाट हेर्दा | 7th Jul 2020, Tuesday | २०७७ आषाढ २३, मंगलवार ०६:३६
नेपालको सबैभन्दा ठुलो व्यवसायीक प्रकाशन समुह कान्तिपुर मिडिया ग्रुपले हालै आफ्ना दुई प्रकाशन साप्ताहिक र नेपाल म्यागेजिन बन्द गर्यो । यी दुबै प्रकाशन झण्डै १० बर्ष अघि नै असान्दर्भिक भैसकेका थिए, अहिले बन्द भए ।
 
यी प्रकाशन किन कसरी बन्द भए ? स्वभाविक मरण भएको हो वा हत्या गरिएको हो ? यस्ता प्रश्न उठेका छन् । नेपाली मिडियाले यसको जवाफ खोज्नै पर्छ ।  तर, किन बन्द भए एउटा सजिलो उत्तर हो–ग्राहक घटे, यसले गर्दा विज्ञापन कम भयो । यस पछि नोक्सानमा गएका प्रकाशनको कुनै आवश्यकता पनि थिएन । पढ्ने पनि भएनन्, विज्ञापन दिने पनि छैनन् । अनि किन यी पत्रिका चलाउनु ? प्रकाशकका लागि प्रकाशन जारी राख्नुको कुनै अर्थ थिएन ।
 
यो व्यवसायिक लगानीकर्ताले गर्ने विशुध्द व्यापारिक निर्णय हो । पढ्ने पाठक बढेको भए विज्ञापन बढ्थ्यो, यी प्रकाशनले कमाईरहन्थे । लगानीकर्ताले फाइदामा हुँदासम्म दोकान बन्द गर्दैनन् । छापा प्रकाशन बन्द भएका यो कुनै नयाँ पनि होइन ।  विश्वभर परम्परागत छापा संचारमाध्यमले यस्तै दुर्भाग्यको शिकार हुनुपरेको छ । नेपालमा पनि थुप्रै म्यागेजिन, साप्ताहिक पत्रिका वन्द भएका उदाहरण छन् ।
 
कोरोना भाइरसको समयमा यी प्रकाशन बन्द भएकाले पनि सधै नाफामा भएको प्रकाशन गृहले ३/४ महिनाको संकटपनि धान्न सकेन भन्ने प्रश्न पनि केहीले उठाएका छन् । माथि नै उल्लेख गरियो यी प्रकाशन एक दशक अघिबाटै असान्दर्भिक भईसकेका थिए । पछिल्ला दिनमा आएका समाचारले त कान्तिपुर दैनिक समेत अहिले त्यही बाटोमा हिडेको संकेत गर्छ ।  त्यसैले कोरोनाको समयमा दुई प्रकाशन बन्द हुनु संयोग मात्र हो । बरु मिडिया हाउसमा यस्तो संकट अरु गहिरिन सक्छ । यो सचेत हुने घण्टी हो । यो केही पत्रकारको जागीरको विषय मात्र होइन । यसमा न लगानीकर्ता न पत्रकार कसैलाई अन्याय हुनुहुँदैन । के कसरी यी प्रकाशन असान्दर्भिक भए यसको विश्लेषण नेपाली मिडियाले गम्भिर रुपमा गर्नु पर्छ ।
 
करिव २५ बर्ष अघि एलएलसी दिएका युवाको रुची हेरेर साप्ताहिक प्रकाशन भएको थियो । देश विदेश घुमेका पत्रकार किशोर नेपालले त्यसबखत किशोरवाट युवा हुँदै गरेकाहरुको माग बुझेर टेबोल्याइड आकारमा साप्ताहिक थालनी गरेका थिए । एक दशकसम्म त यो निकै सही निर्णय पनि भयो ।
 
गोरखापत्र संस्थानको प्रकाशन युवामञ्च त्यसबेला निकै लोकप्रिय थियो । युवामञ्चको अन्तिम भित्रि पृष्ठमा छापिने पत्रमित्रता स्तम्भ त यति पपुलर थियो त्यसमा ठाउँ पाउन सोर्स फोर्स पनि लगाउनु पथ्र्यो, महिनौ कुर्नुपर्थ्यो । पत्रमित्रतामा नाम र फोटा आएपछि देशभरवाट चिठ्ठी आउँथे । बेसार एक फाइदा अनेक, विज्ञानका विभिन्न रोचक घटना त्यहाँ हुन्थ्यो । करिब करिब यही शैलीलाई साप्ताहिकले अंगालेको थियो । अलिक फरक शैलीमा ।
 
साप्ताहिकमा पत्रमित्रता स्तम्भ मात्र राखिएन, सन्देश पनि थपियो । ‘बगामुखी मन्दिरमा साउनको पहिलो विहिवार सेतो कुर्ता सुरवाल लगाउने घरीघरी पछाडी फर्किएर हाँस्ने, जाने बेलामा वाई भन्नेलाई यो सन्देश आएको हप्ताको विहिवार फेरी त्यही भेट्न अनुरोध छ’ भन्ने खालका सन्देश आधा पाना भन्दा बढी छापिन्थ्यो । सन्देश छाप्न पैसा समेत पठाउनु पर्थ्यो, तर कान्तिपुर साप्ताहिकमा सन्देशका लागि चाङ्गका चाङ्ग पत्र आउँथे । केहीले सन्देश छाप्ने सोर्स पनि लगाउँथे । त्यहीँका पुराना कर्मचारी फोटोग्राफर नवराज वाग्ले यसका साक्षी हुन् ।
 
साप्ताहिकको मध्यपृष्ठमा छापिने रंगीन ब्लोअप तस्विर निकै चर्चित थियो । ब्लोअपकै कारण कतिपय युवतीहरूले नेपाली फिल्मका लागि नायिका छानिए।
 
दशैमा गाउँ जाँदा भाईहरुको कोठामा साप्ताहिकका पाना टाँसिएका हुन्थे । मैले पनि ती भित्ता आफ्नै बाइलाइन (नाम) को समाचार लेख थुप्रै भेटेको छु ।
 
२०४६ सालमा पञ्चायत व्यवस्था समाप्त भएपछि नेपाली समाज खुला तर्फ अघि बढेको थियो । स्कुल खोल्ने र पढ्ने संख्या बृद्धि भएको थियो । गाउँगाउँमा युवाहरु जागरुक हुँदै थिए । यस्तो वेला साप्ताहिकको माग पनि बढेको थियो । कान्तिपुरलाई माग अनुसार साप्ताहिक पुर्याउन धौधौ थियो । २०५४ साल तिरको कुरा हो त्यसबेलाका चर्चित अर्थशास्त्री डा. राधवध्वज पन्तले समेत शुक्रवार साप्ताहिक किनेर ल्याउँथे । 'यहाँ गम्भिर केही छैन तर, के छ के छ मलाई हेर्न मन लाग्छ' उनले भन्थे ।
 
तर, एक दशक अघि टेलिभिजनको बढ्दो प्रभाव, इन्टरनेट आएपछि साप्ताहिकको यो पुरानो शैली लगभग असान्दर्भिक हुदै गएका थिए । वेसारको फाइदा पढ्ने, सन्देश पठाउने जमात इन्टरनेट तिर लागिसकेको थियो । मोबाइल र स्मार्टफोनको प्रचलन बढेपछि फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता सामाजीक सञ्जालका साधन आए । तर, साप्ताहिकले यो गति अनुसार अनुसार आफुलाई परिवर्तन गर्न सकेको थिएन । साप्ताहिकले सन्देश, पत्रमित्र जस्ता  स्तम्भ त हटायो तर, पाठकलाई हेर्न र पढ्न मन लाग्ने आकर्षक, उपयोगी बनाउन सकेन । प्रकाशकले पनि यसलाई गम्भिर रुपमा लिएनन, त्यहीँ त्रुटी भयो । यति हुँदा पनि झण्डै १० बर्ष साप्ताहिक चल्यो ।
 
नेपाल साप्ताहिक पनि टेलिभिजन, अनलाइन र समाजिक सञ्जालले गर्दा असान्र्दभिक भएको थियो । घटनाहरु छिटो छिटो परिवर्तन हुने समयमा सात दिनको एक पटक निस्कने म्यागेजिनले लय समाप्त सक्ने अवस्था नै थिएन । सात दिन कुरेर पढ्ने पाठक हराउँदै थिए । नेपाल म्यागेजिन व्यवसायिक उद्देश्यले शुरु भएको थियो कि अरु म्यागेजिनको बजार विगार्न यसमा शूरु देखिनै बहस थियो । तर, स्थापनाका दिनमा म्यागेजिनको बजार भने थियो । पाठकहरु पनि थिए । तर, घट्दै गएका थिए ।
 
कान्तिपुर प्रकाशन हुँदा यसलाई पनि गोरखापत्र भनिन्थ्यो । ‘गोरखापत्र कान्तिपुर’ दिनुहोस भनेर किन्नेहरु थिए । कान्तिपुरको सफलताले गोरखापत्र भन्ने हट्यो । कान्तिपुरले गोरखापत्रको सर्कुलेशन र विज्ञापन बजारको एकाधिकार मात्र तोडेन निजी क्षेत्रवाट व्यवसायीक पत्रकारिताको जग पनि बसायो । कान्तिपुर प्रकाशित हुँदा त्यहाँका कयौं पत्रकारको मासिक तलव झण्डै सरकारका सचिवको हाराहारीमा नै थियो । समयमा तलव दिन कान्तिपुर कहिल्लैपनि चुकेन । कयौं पत्रकारले तलव नपाएको समाचार आईरहन्थे । तर, कान्तिपुरका पत्रकार कर्मचारीका लागि यो कथा जस्तो थियो । त्यसवेला नेपाल पत्रकार महासंघका सभापित विष्णु निष्ठुरीले सार्वजनिक रुपमै भनेका थिए, यहाँ एटिएम कार्ड बोक्ने र महिनौ देखि तलव नपाउने पत्रकार छन् ।
 
एटिएम कार्ड बोक्ने पत्रकार भनेर कान्तिपुरका पत्रकारलाई संकेत गरिएको थियो । कान्तिपुरले त्यसवेला पत्रकारको तलव सिधै बैंक खातामा पठाउन शुरु गरेको थियो । बैंकले पत्रकारलाई एटिएम कार्ड दिएका थिए । कान्तिपुरका कर्मचारीको महिना मर्दा नमर्दै बैंक खातामा तलव पुग्थ्यो । त्यसवबेला तलव नपाउने कयौं पत्रकार थिए ।
 
कोरोना भाइरसको महामारीले गर्दा सात दिन कान्तिपुरका सवै प्रकाशन वन्द भए । कान्तिपुरका पत्रकार कर्मचारीको तलव सेवा सुविधाका वारेमा विभिन्न समाचार आए । कान्तिपुरमा आउने विज्ञापन घटेको थियो । यसले आम्दानी घटेको संकेत दिईरहेको थियो । के अब कान्तिपुर पनि संकटमा पर्न थालेको हो ?
 
विगतलाइ हेरौं ।
 
२०४९ फागुन ७ गते देखि औपचारिक रुपमा शुरु भएको कान्तिपुर पव्लिकेशन्सका शुरुका एक जना मुख्य लगानीकर्ता एक बर्ष हुँदा नहुँदै घाटा खाएर वाहिरिए । शुरुमा दुई करोड लगानीमा स्थापनाको भएको कान्तिपुर मिडिया हाउसका संस्थापक प्रकाशकले आफ्नो ५० प्रतिशत शेयर हिस्सा छाड्दा ८० लाख रुपैंया पाएका थिए । २० लाख रुपैंया उनले गुमाएका थिए । तर, त्यसको झण्डै १५ बर्ष पछि ५० प्रतिशतका हिस्सेदारले ८० करोड रुपैंया लिएर कान्तिपुरवाट वाहिरिए । कान्तिपुरका लागि यो लेनदने निकै भारी पर्यो । कान्तिपुरभित्र संकटको प्रवेश त्यही बेला देखि भएको थियो ।
 
यो विभाजन कान्तिपुरका लागि मात्र होइन नेपालको व्यवसायिक पत्रकारिताका लागि पनि दुखद थियो । यो हुनुहुदैनथ्यो । यो विभाजन र लेनदेन नभएको भए नेपालको व्यवसायीक पत्रकारिता अझै मजबुत हुन्थ्यो । कान्तिपुर भित्र पनि थुप्रै कमजोरी रहे विगत १० बर्षमा कान्तिपुर मिडिया हाउसले बजारको माग अनुसार मुभ गर्न सकेन । त्यसैले मजबुत पकड गुमाउँदै गयो ।
 
(किन र कसरी ? अर्को पटक) 
 
(लेखक घिमिरे लामो समयसम्म कान्तिपुर दैनिकमा आर्थिक समाचार व्यूरो प्रमुख हुनुहुन्थ्यो ।)