मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

मंगलबार ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो


काठमाडौँ । नेपालमा मंगलबार देशभरका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ७१ महिला र २४५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 
 
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ । जसमा ११ हजार ९०७ पुरुष र एक हजार ६५७ महिला रहेका छन् । 
 
नेपालमा पहिलोपटक गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता विभिन्न मुलुकबाट नेपाल फर्किएकामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण हुनेमध्ये ९५ प्रतिशत भारतबाट फर्किने रहेका छन् । 
 
नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९, बिहीबार ४३४, शुक्रबार ५९३, शनिबार ५५४, आइतबार ४६३ र सोमबार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
 
नेपालमा हालसम्म कोरोना भाइरसका कारण २९ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक पुरुष, आइसोलेसन सेन्टर कोहलपुर बाँकेबाट एक पुरुष, अल्पाइन नर्सिङ सर्लाहीबाट १५ पुरुष, साईकृष्ण आइसोलेसन सप्तरीबाट १५ पुरुष, गण्डक अस्पताल पर्साबाट दुई पुरुष रहेका छन् । 
 
यस्तै, जलेश्वर अस्पताल महोत्तरीबाट चार पुरुष, कोशी अस्पतालबाट चार पुरुष दुई महिला, मोरङ जिल्ला अस्पतालबाट तीन महिला र दुई पुरुष, पाँचथरबाट एक महिला तथा सुनसरीबाट एक महिला एक पुरुष र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष डिस्चार्ज भएका छन् । 
 
विगत २४ घन्टामा ६० जना कोरोनामुक्त भएका छन् । तीमध्ये नौ महिला र ५१ पुरुष रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार १९४ पुगेका छन् । जसमध्ये २७७ महिला र दुई हजार ९१७ पुरुष रहेका छन् । 
 
मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, दाङ, दैलेख र कैलाली जिल्लामा ५०० भन्दा बढी संक्रमित भएका छन् । 
 
उनका अनुसार देशभर हालसम्म २ लाख २८ हजार ३४१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख ६२० भन्दा बढीको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ५३ हजार ७० जना क्वारेन्टाइनमा र १० हजार ३४१ जना आइसोलेसनमा रहेका छन् ।