मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लामो समय विद्यालयमा क्वारेन्टाइन बनाइँदा विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्ने

लामो समय विद्यालयमा क्वारेन्टाइन बनाइँदा विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्ने


काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टाइन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ ।
 
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आइतबार आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर पर्ने भएकाले विद्यालयभन्दा अन्य स्थानमा क्वारेन्टिन राख्न सुझाव दिइएको हो ।
 
हाल करिब २८ हजार सामुदायिक विद्यालयमध्ये चार हजार पाँच सयमा क्वारेन्टाइन र ६४ मा आइसोलेसन कक्ष बनाइएको छ । कतिपय विद्यालयमा व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत थाहा नदिई स्थानीय पालिकाले आफूखुशी तथा जबर्जस्ती विद्यालयलाई क्वारेन्टाइन बनाइएकामा चिन्ता व्यक्त गरिएको हो ।
 
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष नरेन्द्र डङ्गोल सरकारले विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को विपरीत विद्यालयमा यस प्रकारको बोझ थप्न नहुने बताए । 
 
बालअधिकारकर्मी कृष्ण सुवेदीले विद्यालयको विकल्प खोजेर होटलहरुलाई क्वारेन्टाइन बनाइएको भए बस्नेहरुलाई पनि सुविधा पुग्ने उल्लेख गरे । विपद विज्ञ श्याम ज्ञवालीले सुरक्षित विद्यालयको अवधारणाबाट विद्यालयलाई क्वारेन्टाइन बनाइनु गलत भएकाले यसबाट चौतर्फीरुपमा असर परेको उल्लेख गरे । 
 
महासंघका अध्यक्ष कृष्ण थापाले आफूहरुले विद्यालयमा क्वारेन्टाइन नराख्न सुरुदेखि आग्रह गरेको र हाल निरन्तर विद्यालयमा क्वारेन्टाइन बढ्न थाले पनि थप चिन्ता जाहेर गरिएको जनाए ।