मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो, थप एकसहित २७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो, थप एकसहित २७ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा १०७ महिला र ४८६ पुरुष गरी ५९३ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । जसमा २४९ महिला र १० हजार ५०५ पुरुष रहेका छन् । 
 
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । 
 
नेपालमा गत बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५, मंगलबार ५३८, बुधबार ६२९ र बिहीबार ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
 
नेपालमा हालसम्म कोरोना भाइरसका कारण २७ जनाको मृत्यु भएको छ । शुक्रबार काठमाडौँमा थप तीन जनासहित मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अछाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रौतहट, सल्यान, नवलपरासीपूर्व, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायत जिल्लामा गरी ५९३ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए । 
 
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा ८ महिला र ४० पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २६९८ पुगेको छ । जसमा २२४ महिला र २४७४ पुरुष रहेका छन् । 
 
देशका रसुवाबाहेकको ७६ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ । २४ घन्टामा पिसिआर विधिबाट छ हजार ५४३ जना र आरडिटी विधिबाट चार हजार १३७ जनाको परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घन्टामा ६  हजार ५३४ जनाको पिसीआर परीक्षण गरिएको छ । देशभर हालसम्म २ लाख ६ हजार २७१ जनाको पिसीआर विधिबाट परीक्षण गरिएको छ भने २ लाख ९० हजार ३४९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
 
उनका अनुसार हाल ७१ हजार १२ जना क्वारेन्टाइनमा र ९०३० जना आइसोलेसनमा रहेका छन् । देशभर हालसम्म दुई लाख ६ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९० हजार ३४९ जनाको आरडीटी परीक्षण गरिएको  छ ।