मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी चुनावमा सक्रिय दक्षिण एशियाली अमेरिकीहरु

अमेरिकी चुनावमा सक्रिय दक्षिण एशियाली अमेरिकीहरु


हिमालयखबर संबाददादा
अमेरिका- आगामी नोभेम्वर ३ मा हुने चुनावमा राष्ट्रपतिका अलावा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभको सबै ४३५ सिट सहित १०० सदस्यीय सिनेटको एक तिहाई सिटका (३३) लागि समेत मतदान हुनेछ। करीब एक दर्जन स्टेटको गभर्नर र स्टेट एसेम्वलीको समेत यसैबेला चुनाव हुनेछ। कैयन स्थानीय निकायका प्रमुखहरु- सिटी मेयर, काउण्टी जज सहित डिस्ट्रिक्ट जज, काउण्टी एटर्नी, कन्सटेबल लगाएतको चुनाव समेत हुने भएकाले आगामी चुनाव अमेरिकामा रहेर राजनीति गर्ने र मतदानको अधिकार भएका सबैलाई महत्वपूर्ण भएको छ।
 
अमेरिकी राजनीतिमा आप्रवासी एसियनहरुको समेत बिस्तारै चाख बढ्न थालेको देखिएको छ। प्रत्येक राष्ट्रिय र स्थानीय चुनावमा कोही न कोही दक्षिण एशियाली मुलका व्यक्तिहरु कुनै न कुनै पदमा उम्मेदवार भैरहेका र चुवाव समेत जितिरहेका छन्। नेपाली अमेरिकन ह्यारी भण्डारी डेमोक्रेटिक पार्टीको उम्मेदवार भएर मेरिल्याण्ड स्टेट एसेम्वलीमा निर्वाचित हुने पहिलो नेपाली मुलका व्यक्ति भएका छन् भने कैयन भारतीय, फिलिपिनो, जापानीज, चाइनिज, भियतनामी, पाकिस्तानी र बंगलादेशी मुलका व्यक्तिहरु पनि अमेरिकी संसद र स्थानीय निकायका महत्वपूर्ण पदमा निर्वाचित भएका छन्।
 
यसैबीच हाउस अफ रेप्रिजेन्टेटिभको आगामी चुनावमा टेक्ससको २२ औं जिल्लाबाट श्री कुलकर्णी डेमोक्रेटिक पार्टीका उम्मेदवार छनौट भैसकेका छन् भने केही दक्षिण एशियाली मूलका अमेरिकीहरु स्टेट र स्थानीयस्तरका प्राइमरी इलेक्सन अन्तर्गतको दोश्रो चरणको (रन-अफ) मतदानमा उम्मेदवार रहेका छन्। दोश्रो चरणको प्राइमरी आगामी जुलाई १४ मा हुॅदैछ भने सोही प्रयोजनका लागि जुन २९ देखि जुलाई १० सम्म अर्ली-भोटिंङग् समेत गर्न सकिने व्यवस्था छ।
 
यसैबीच अमेरिका मै सबभन्दा बढी जातीय बिबिधता भएको शहर ग्रेटर ह्युस्टन अन्तर्गत फोर्टबेण्ड काउण्टीको जज, काउण्टी एटर्नी र टेक्सस स्टेट रेप्रिजेन्टेटिभ पदमा समेत दक्षिण एशियाली मुलका उम्मेदवारहरु डेमोक्रेटिक पार्टी प्राइमरीका लागि आन्तरिक प्रतिस्पर्धा गरिरहेका छन्। हाल बृहत्तर ह्युस्टनमा चर्तामा रहेका दक्षिण एशियाली मूलका उल्लेखित उम्मेदवारहरुलाई सम्वन्धित पार्टी प्राइमरीमा जिताउन ह्युस्टनका भारतीय- अमेरिकन सहितका समग्र दक्षिण एशियाली-अमेरिकीहरु सक्रिय रहेका छन्।
 
डा. सुलेमन ललानी- टेक्सस स्टेट रेप्रिजेन्टेटिभ- डिस्ट्रिक्ट २६- अमेरिकाको प्रतिष्ठित शैक्षिक प्रतिष्ठानहरु बेलर कलेज अफ मेडिसिन, हार्बर्ड र कोलम्विया युनिभर्सिटीबाट मेडिकल डिग्री प्राप्त गरेका डा. ललानी अल्जाइमर्स लगाएत बृ्द्ध अवस्थाका बिरामीहरुको रेखदेखमा सक्रिय छन्।
अन्य डेमोक्रेट उम्मेदवारहरुको साझा मुद्दा सस्तो र सुलभ स्वास्थ्य उपचार र सार्वजनिक शिक्षा प्रणालीमा सुधार डा. ललानीको पनि चुनावी मुद्दा रहेको छ।
 
सुरेन्द्रन के. पट्टेल- ५०५ जुडिसल डिस्ट्रिक्ट कोर्ट
करीब दुई दशक लामो पेशागत अनुभव सम्हालेका अन्तराष्ट्रिय कानूनमा मास्टर्स पट्टेल पारीवारिक मामिलामा केन्द्रीत रहने डिस्ट्रिक्ट कोर्टको न्यायाधीश पदका लागि दोश्रो चरणको प्राइमरी इलेक्सनमा सहभागी हुॅदैछन्। उनले आगामी प्राइमरी जिते भने यो डिस्ट्रिक्ट कोर्टको न्यायाधीशका लागि प्रतिस्पर्धा गर्ने उनी पहिलो दक्षिण- एशियाली अमेरिकी हुनेछन्। दक्षिण- एशियाली सभ्यतामा रहेको बलियो पारीवारिक सम्वन्धलाई सम्वन्ध बिच्छेद लगाएतका घटनामा भैरहेको बृद्धि चुनौतीका रुपमा रहेको ठान्ने पट्टेलले सो विषयमा समेत आफूले सक्दो योगदान दिन चाहेको हिमालयखबरलाई बताएका छन्। उनको चुनावी अभियानमा समेत तीन मुख्य एजेण्डा अघि सारिएका छन्- करुणा सहितको न्याय, न्यायमा सबैको समान पहुॅच र अदालतको उच्च निष्ठा कायम।
 
सोनिया रस- काउण्टी एटर्नी,
फोर्टबेण्ड काउण्टीका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट काउण्टी एटर्नीको दोश्रो चरणको प्राइमरी इलेक्सनका लागि छानिएकी दक्षिण एशियाली मूलकी उम्मेदवार सोनिया रसले आफ्नो चुनावी एजेण्डाका रुपमा तीन मुख्य विषय उठाएकी छिन्- १)सरकारी संस्थाहरुमा हुने काम कार्बाहीहरुमा आधुनिक प्रविधीको प्रयोग गर्दै कार्यसम्पादनमा पारदर्शिता बढाउन लागिपर्ने, २) नागरिक र समुदायको सुरक्षा, वातवरणीय सरसफाई, गैरकानूनी संस्थाहरुको खारेजी लगाएतका विषयमा सुधार गर्ने र जे सही हो त्यही गर्ने।
 
दक्षिण एशियाली मुलूकहरु नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगाएतका मतदाताहरुको उल्लेख्य बसोवास रहेको यो क्षेत्रमा सम्वन्धित उम्मेदवारहरुले भेटघाट र सम्पर्क बिस्तार गर्न सके भने निकै सहज हुने अनुमान गरिएको छ। यस अतिरिक्त अफ्रिकन अमेरिकन, ल्याटिनो र ह्वाइटहरुलाई समेत आकर्षण गर्न सके भने दक्षिण एशियाली मूलका उम्मेदवारहरु सफल हुने संभावना देखिएको ह्युस्टनमा करीब दुई दशक देखि बसिरहेका डा.बिजय झाको तर्क छ। आप्रवासीहरुको साझा मुद्दालाई उठान गर्न सक्ने, हाम्रो भावी पुस्तालाई समेत अमेरिकी मुलधारको राजनीतिमा आकर्षित गर्न पनि दक्षिण एशियाली मुलका उम्मेदवारहरुलाई सघाउनु सबै दक्षिण एशियाली-अमेरिकनहरुको प्रथमिकतामा पर्नु पर्ने ह्युस्टनको नेपाली समाजमा सक्रिय द्रोण गौतम र जगदिश काफ्लेले हिमालय खबरलाई बताएका छन। अमेरिकन लगाएत अन्य एशियाली मूलुकका मतदाताहरुलाई समेट्न सके भने उनीहरु आफ्नो पार्टीबाट उम्नेदवार छनौट हुने धेरै संभावना छ, गौतम र काफ्लेको तर्क छ।
 
मन्दिर, चर्च तथा मस्जिदहरुमा हुने सामुदायिक कार्यक्रमहरुमा गएर मतदाताहरुसंग अन्तरक्रिया गर्ने संभावना कोरोना महामारीका कारण संभव नदेखिए पनि सम्वन्धित समुदायका अग्रजहरुसंग छलफल र कुराकानी गर्न सम्वन्धित उम्मेदवारहरुले ध्यान दिनुपर्ने नेपाली समुदायका अगुवाहरुको सुझाव छ।