मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कोरोना महामारीका कारण दक्षिण एसियाका दस करोड बालबालिका गरिबीको रेखामुनि

कोरोना महामारीका कारण दक्षिण एसियाका दस करोड बालबालिका गरिबीको रेखामुनि


काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै करिब दस करोड दक्षिण एसियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसंघीय निकाय युनिसेफले मंगलबार सार्वजनिक कोरोना भाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा उल्लेख गरिएको छ । 
 
उच्च जनघनत्व रहेको यो क्षेत्र, जहाँ विश्वको झण्डै एक चौँथाई जनसङ्ख्या रहेको छ । यहाँ पछिल्ला दिनहरूमा सङ्क्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनलाई नराम्रोसँग प्रभावित अर्थतन्त्र सुधारका लागि भनी खुकुलो पारिएको छ तर सङ्क्रमण फैलिने क्रम कत्ति रोकिएको छैन । महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावसँगै यहाँका करोडौँ बालबालिकाको अवस्था गरिबीतर्फ धकेलिएको रिपोर्टमा उल्लेख छ ।
 
“एसियामा रहेका ती बालबालिकाहरू भाइरसमा मात्र कम संवेदनशील हुनसक्ने भए पनि महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावका कारण व्यापक असर परिरहेको छ,” संयुक्त राष्ट्रसंघ बालअधिकार निकाय युनिसेफले बताएको छ ।
 
एसियाली आठ मुलुकहरू भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, मालदिभ्स र भूटान समावेश रहेको दक्षिण एसियामा करिब ६० करोड बालबालिका रहेकोमा झण्डै दुई करोड ४० लाख गरिबीका बीच बाँचिरहेका युनिसेफले बताएको छ । 
 
“अब तत्काल सुधारको प्रयास नथालिएमा कोभिड–१९ ले प्रभावित सम्पूर्ण जनसङ्ख्याको आशा र भविष्यलाई बर्वादीतर्फ धकेल्नेछ,” युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक जाँ गोफले एक विज्ञप्ति जारी गरी उल्लेख गरेका छन् । 
 
“महामारीका कारण खोप, पोषण, तथा अन्य अतिआवश्यकीय स्वास्थ्य सेवाहरूलाई विस्तार गर्ने कुरामा समस्या भइरहेको छ ।” 
 
युनिसेफले भनेको छ, “बंगलादेशमा गरिएको सर्वेक्षणमा महामारीका कारण कतिपय परिवारले दैनिक तीनपटकको खानाको जोहो गर्न नसकिरहेको उल्लेख छ । त्यस्तै श्रीलङ्कामा करिब ३० प्रतिशत परिवारले आफ्नो खानपानमा कटौती गरेका छन् ।” 
 
महामारीका कारण विद्यालय बन्द भएका छन् । खासगरी ग्रामीण परिवारमा इन्टरनेट र विद्युतसमेतको पहुँच नहुँदा लामो समयदेखि बालबालिकाहरू शिक्षाबाट वञ्चित भएका छन् ।  
 
“चिन्ता त यो छ कि विद्यालयको पहुँचबाट कोभिड–१९ पहिले नै बाहिर रहेका तीन करोड २० लाख बालबालिकाको सूचीमा महामारीका कारण थप ठूलो सङ्ख्या विद्यालयबाट टाढिएको छ ।”  
 
यसबाहेक बालबालिका, किशोरकिशोरी वा युवाहरू घरमा नै बस्नुपर्ने बाध्यताका कारण उनीहरूलाई घरेलु हिंसा, मानसिक स्वास्थ्य, डिप्रेसनलगायतका विषयहरू अन्य प्रमुख जोखिमहरू हुन् । एएफपी