मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी

कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी


दुबई । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुसले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन् । 
 
उनले भने, ‘विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नुपर्छ ।’
 
उनले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गरेका छन् । 
 
सङ्क्रमितहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित संवेदनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि उनले व्यक्त गरे । 
 
राजनीतिकरण नगर्न आह्वान गरिएकोसम्बन्धी उनको भनाइ विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित रहेको बताइएको छ । 
 
उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी गरेका छन् । 
 
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोनाभाइरसको महामारी सुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै चर्को आलोचना गर्दै आएका छन् । 
 
ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्याबका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गरेका थिए । उनले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेका थिए ।
 
ओक्लाहोमाको तुल्सामा कोरोनाभाइरस महामारीको बीचमा आफ्नो राष्ट्रपतीय अभियान सुरूवात गर्ने क्रममा ट्रम्पले कोरोना भाइरस चीनबाट फैलिएकोले यसबारे कुनै ठूलो निर्णय गर्नु नपर्ने बताएका थिए । 
 
डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन् । 
 
ती देशहरुमा अझै पनि धेरै कोरोनाभाइरसबाट सङ्क्रमितहरु धेरै रहेको र अस्पतालहरुमा विरामीहरुको भिड भइरहेको उनले उल्लेख गरेका छन् । 
 
विश्वभरी पछिल्लो तीन महिना कोरोनाभइरसको महामारी फैलिएको छ । सुरुको तीन महिनामा विश्वभरी दश लाख मानिस सङ्क्रमित भएको र त्यति नै संख्यामा सङ्क्रमितहरु पछिल्लो आठ दिनमा वृद्धि भएको पनि डब्लुएचओले जनाएको छ । एपी