विचार / ब्लग

किशोर नेपालको रूकुम यात्रा र नियोजित प्रचार

470 पटक पढिएको

- ज्ञानेन्द्र गदाल | 7th Jun 2020, Sunday | २०७७ जेष्ठ २५, आईतवार १७:३९
यतिबेला मुलुक रुकुमको चौरजहारीमा मारिएका ६ कलिला युवकहरुको बीभत्स घटनाले आक्रान्त छ । यस घटनालाई लिएर युटुब तथा अनलाइनहरु विभिन्न मानिसका विभिन्न खाले बिचार बिमर्श, टीकाटिप्पणि र आवेग संवेगहरुले भरिएका छन् | सामाजिक सञ्जालभरि घटनाप्रतिको संवेदना, आक्रोश र वितृष्णाहरु छरपष्ट छन्  ।
 
मलाई आश्चर्य लाग्छ, जबजब समाजमा सामाजिक उत्पिडन, जातीय विभेद, यौन शोषण, वालशोषण, बलात्कार वा हत्याको शिकारमा उत्पिडित वा निमुखा बर्गहरु पर्दछन, राज्यद्वारा यसको सहि निरुपण गराई पीडितलाई न्याय दिलाउनु सट्टा यस्ता घटनाको ढाकछोप गरि मुद्दा नै शिथिल पार्ने प्रपंच्मा केहि मानिसहरुको छटपटाहट शुरु हुन थाल्दछ यो किन हुन्छ ?  
 
यी ६ जना मृतक युवाहरुको फोटो सहित पक्ष बिपक्षमा व्यक्त अभिव्यक्तिहरुले रंगिएको मिडिया र सामाजिक सञ्जालहरु हेर्दा लाग्छ समाज प्रगतिशील छ, जागरुक छ र चनाखो छ | तर जव विषयबस्तुको  नजिक नपुगीकनै यस्ता रंगिन पानाहरु फिका हुन थाल्दछन त्यसबेला लाग्छ, मानिसहरू यी गम्भीर घटनाको जरो कहाँसम्म छ भन्ने नबुझी त्यसै सतहमा बोलिरहेका छन् | आफुले बोलेका र लेखेका कुराको गहिराइ अन्दाज नै नगरी बोल्ने वा लेख्ने काम भैरहेको भान हुन्छ ।
 
जब यस्ता दुर्घटनामा उत्पिडित बर्गको न्यायको कुरा आउँछ यसलाई केवल जातीय विभेद बिरुद्धको बिरोध मात्रै बुझ्ने गरिएको छ | तर त्यो मात्रै होइन, त्यहाँ 'मानव हत्या' प्रकरण गाँसिएको छ मूलतः त्यही ज्यान मार्ने अपराधिक गतिविधिको बिरोध हो । अन्ततः हत्याको कारण पहिल्याउँदै जाँदा जातको निहुँमा हत्या गरिनुको बिरोध हो ।
 
घटना गम्भीर छ, न्यायका पक्षमा यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने हो | तर एकथरि मानिसहरु यसलाई सामान्य घटनाको रुपमा लिइरहेका छन्, गाउँले ओइरिएर आक्रमण गरि मारिएका ६ जनाको मृत्युलाई साधारण घटनाका रुपमा सामान्य ढंगले बुझ्नुपर्छ भनिरहेका छन् र यसको छिनोफानो पनि सामान्य ढंगले नै गरिनुपर्ने जस्ता हल्का र मजाकको अभिव्यक्ति दिइरहेका छन् | यसको सशक्त उदाहरण हालै स्थानीय रुकुमबाटै पत्रकार किशोर नेपालले दिएको रेडियो अन्तर्वार्ता काफी छ |
 
पुराना पत्रकार किशोर नेपाल अहिले रुकुम-जाजरकोट दौडाहामा रहेछन् । उनको यो दौडाहको उद्देश्य रुकुम घटनाको बारेमा खोज-अनुसन्धान रहेको भन्ने उनको आशयबाट बुझ्न सकिन्छ । यो जिम्मेवारी उनलाई कहाँबाट मिलेको हो या स्वतन्त्र पत्रकारका रुपमा आफ्नै खर्चबर्चमा हिंडेका हुन् त्यसबारे केहि खुलेको छैन । जे होस् उनी त्यही इलाकामा घुमिरहेका छन् अहिले । त्यतैबाट रुकुम (सोती) घटनाको बारेमा रेडियो कान्तिपुरलाई एउटा अन्तर्वार्ता दिएका रहेछन् ।
 
उक्त अन्तर्वार्ता सुन्ने अवसर मलाइ पनि जुर्यो हिजो | कुनै अशल कुराको आशा त मैले वहाँबाट खासै गरेको थिइन तथापि यति खराब कुराको अनुमान पनि थिएन मलाई उनीबाट | सुने, सुनेपछि केहि नलेखी चित्त मानेन | र, देहाय बमोजिम उनका अन्तर्वार्ताका सार सहित मेरा संक्षिप्त बिचार यहाँ प्रश्तुत गरेको छु । बिस्तृत अडियो यहाँ सुन्न सकिन्छ । 
 
 
रुकुम घटना सामान्य घटना होइन, समाजमा विभेद छ त्यो सत्य हो, 
तर घटनालाई उचालेर आफ्नो स्वार्थ पुरा गर्ने खेल भैरहेको छ |
रुकुमको स्थिति सामान्य छ, कुनै समस्या छैन | (नवराजहरुको मृत्युलाई 'हत्या' नभनेर देहावसान भनेका छन् |)
यथार्थलाई पाखा लाएर भावनात्मक कलेवर दिन खोजिएको छ |
दुई पक्षका केटाहरु बिचको मनमुटाव, रिषइवीका आधारमा भएको झडप हो |
घटनामा जातिय आधार होला, नवराज विश्वकर्मा संलग्न हुनाले जातीय आधार भन्नलाई सजिलो छ तर यसमा जातिय आधार छ भन्न सकिन्न |
दुइ समुहका बीच झपड हुँदा ६ जना मानिस भेरीमा परेर मरे भन्नुपर्छ |
आक्रोशित हुने होइन, सामान्यीकरण गर्नुपर्ने घटना हो |
दुइ पक्षका टिनएजरहरुको बिचमा भएको झगडामा ठुलाबडा मुछिएका हुन् |
६ जना नरहरुको संहार भएको छ तर, सामुहिक नरसंहार होइन | नरसंहार भनेर घटनालाई अतिरन्जित गरिएको छ |
जबर्जस्ति रुपमा जातिय विभेद हो भनेर क्रान्तिकारी जामा पहिर्याउनु पर्ने जरुरत छैन |
सबैपक्षसंग बुझ्ने मौका पाएको छुइन, अहिले नै निष्कर्ष निकाल्न सक्ने हैसियत मेरो भैसकेको छैन, यो मेरो अब्जर्भेशन हो मेरो निष्कर्ष होइन |
 
यो घटनालाई किशोर नेपालले सामान्य मानेका छन् | नवराज बिक सहित ६ जनाको मृत्युलाई उनले भेरीमा परेर भएको देहावसान भनेका छन् | सारा गाउँलेले लखेटेर मारेको सार्वजनिक तथ्य बाहिर आइरहँदा पनि उनले यसलाई 'हत्या' भन्न कन्जुस्याइं गरेका छन् ।
 
सामान्य घटनालाई जातिय रंग दिएर केहि पत्रकारहरुद्वारा अतिरन्जित गरिएको समेत उनले दावी गरेका छन् । सरकारले धेरै पत्रकारलाई त्यहाँ (रुकुम) जान रोक लगाइरहेको अवस्थामा किशोर नेपाललाई त्यहाँ पठाउनु र यिनको मुखबाट घटनालाई 'सामान्य' हो भन्ने झुटको पुलिन्दा सम्प्रेषण गर्न लाउनु यो बिभत्स घटनालाई दबाउने एउटा सुनियोजित खेल हो भन्ने बुझ्न गाह्रो छैन । यसबाट प्रष्ट हुन्छ भने घटनालाई सामान्यीकरण गर्ने खेल शुरु भएको छ, त्यसको मतियारको रुपमा सरकारबाट मानिसहरु परिचालन गर्न थालिएको छ । यस्तै परिचालितहरुमध्ये एउटा पात्रको  रुपमा प्रयोग भएको देख्दा पत्रकारिता (?) को लामो विराशत बोकेका किशोर नेपालप्रति मेरो मनमा असीम दया पलाएर आयो । 
 
कुन स्वार्थ वा प्रलोभनमा परेर उनले आफ्नो जीवनको उत्तरार्धमा मानवीय समवेदनालाई नै बिर्सेर, सत्यलाई ढाकछोप गरि गलत कुराको पृष्ठपोषण गर्ने साहस गरे यो त उनी आफै जानून तर यो घटनाप्रति उनको बकपत्रले उनलाई जनमानसको नजरबाट सदाको लागि गिराउने चाहिं पक्का भएको छ । 
 
यो सत्य हो, ६ जना युवाहरु गाउँलेद्वारा लखेटिएर मरेका छन् घटना सामान्य होइन | कारण जेसुकै होस्, त्यो पछि अनुसन्धानले पुष्टि गर्ला तर १९ जना कलिला युवाहरुलाई योजनाबद्ध ढंगबाट सारा गाउँलेहरु मिलेर खोलावारि तीनतिरबाट घेरेर ६ जनाको हताहत गराइएको समाचारहरु सर्बत्र जगतमा ब्याप्त छ | 
 
यसको आधार जातीय विभेद हो भन्ने प्रष्ट झल्किन्छ । यस्तो जघन्य घटनाप्रति मौन रहनु आफैमा अमानवियाताको पराकाष्ट हो, अझ घटनालाई तोडमोड गरी सत्यमाथि झुटको लेप लगाउन खोज्नु सरासर अपराध पनि हो । यसलाई दबाउन, कम्जोर पार्न वा लुकाउनका लागि आफ्नो पत्रकारिताको लामो इतिहास समेत दाउमा राख्ने हिम्मत किशोर नेपालले किन र कसरी गर्दैछन म अचम्म छु । 
 
आदरणीय किशोर दाइ, 
माथिका तपाईंको भनाइको अन्तिम बुँदा अझै ज्यूँदो छ, यसलाई सदुपयोग गरी आफुलाई पनि मर्न दिनुहुने छैन र एकबारको जुनी हो कसैको दवाव, प्रभाव र प्रलोभनमा आफ्नो अस्तित्व जोखिममा राख्ने दुस्साहस नगर्नुहोला।  मेरो हार्दिक शुभकामना । 
 
(लेखक गदाल हाल अमेरिकाको कोलोराडोमा बसोबास गर्दै अाउनुभएको छ ।)