मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकैदिन थप २१३ सहित नेपालमा कोरोना संक्रमित ३ हजार ४४८ पुगे

एकैदिन थप २१३ सहित नेपालमा कोरोना संक्रमित ३ हजार ४४८ पुगे


काठमाडौँ । नेपालमा आइतबार एकैदिन २१३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो अपटेडअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट नयाँ सक्रमितको संख्या २१३ मध्ये २०९ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कुल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । 
 
जसमा ३ हजार २१२ पुरुष र २३६ महिला रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा कोभिड–१९ को संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ । हालसम्म १३ संक्रमितको मृत्यु भएको छ । 
 
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट कुल ९६ हजार २०५ व्यक्तिको परीक्षण गरिएको छ । त्यसैगरी आरडिटीबाट एक लाख ४५ हजार ४९ व्यक्तिको परीक्षण गरिएको छ । 
 
गत २४ घन्टामा पिसिआर विधिबाट तीन हजार ७२८ र आरडिटी विधिबाट सात हजार ६१४ वटा परीक्षण सम्पन्न भएको प्रवक्ता डा देवकोटाले बताए । हाल सातै प्रदेशमा गरी एक लाख ७० हजार ७३२ जना क्वारेन्टाइनमा रहेका छन् । 
 
त्यस्तै विभिन्न अस्पतालका आइसोलेसनमा कूल दुई हजार ९६८ सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् । क्वारेन्टाइन व्यवस्थापन र अस्पतालको आइसोलेसन व्यवस्थापनका लागि मन्त्रालयले विशेष ध्यान दिएको प्रवक्ता डा देवकोटाले बताए । 
 
यसै सन्दर्भमा मन्त्रालयले देशभरका सबै किसिमका अस्पतालबाट के कस्ता सेवा सञ्चालन भएका छन् र हुनुपर्ने सेवा किन भइरहेको छैन भनी अनुगमन, सुरक्षाको व्यवस्थापन र नियमन गर्ने उद्देश्यले एक समिति गठन गरेको छ । 
 
स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुखको संयोजकत्वमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी), नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक सङ्घ तथा निजी अस्पतालका छाता सङ्गठनको प्रतिनिधित्व रहने गरी समिति गठन गर्ने निर्णय भएको प्रवक्ता डा देवकोटाले जानकारी दिए । 
 
यसैबीच,मन्त्रालयको प्रवक्ताको जिम्मा मन्त्रालयकै डा जागेश्वरप्रसाद गौतमले सम्हाल्ने भएका छन् । उनले सोमबारदेखि लाइभ प्रसारण गर्नेछन् । 
 
डा गौतम यसअघि परोपकार तथा प्रसूतिगृहका कार्यकारी निर्देशक थिए । डा देवकोटाको गुणस्तर तथा नियन्त्रण महाशाखामा सरुवा भएको छ । प्रवक्ता डा देवकोटाले चैत ११ देखि ७६ दिन लाइभ अपडेटले अफूलाई धेरै कुरा सिकाएको भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई धन्यवाद दिए । 
 
उनले आफ्नो जिम्मेवारी हेरफेर भए पनि लाइभ प्रसारण निरन्तर रहने र यसमा सहयोग गर्न सरोकारवालालाई आग्रह गरे । रासस