प्रवास

जर्ज फ्लोइडको मृत्युपछिको आन्दोलनका कारण अमेरिकामा ५५ अर्ब डलर क्षति

307 पटक पढिएको

4th Jun 2020, Thursday | २०७७ जेष्ठ २२, बिहीवार ०९:४५
मिनियापोलिस । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।
 
मिनियापोलिसका अधिकारीहरुले दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको हो ।  
 
उनीहरुले अहिलेसम्मको प्रारम्भिक विवरणअनुसार २२० घरमा क्षति भएको छ भने क्षति भएका भवनहरुको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने अनुमान गरेका छन् ।
 
प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ ।
 
मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपूर्तिका लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिए । 
 
अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् ।
 
आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गरेको थियो । कतिपय ठाउँमा निषेधाज्ञा पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए । 
 
प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् । एपी