विचार / ब्लग

चर्चा लिम्पियाधुराको, यथार्थता ब्यासको

455 पटक पढिएको

- दीपेन्द्र बिष्ट

हिमालयखबर | 31st May 2020, Sunday | २०७७ जेष्ठ १८, आईतवार १२:३४
ब्यास गाउपालिका शायद कमैले सुन्नुभएको छ । जति तपाईंले कालापानी, लिपुलेक, र लिम्पियाधुरा सुन्नुभएको छ। यी नाम अहिले मात्र होइन, मैले धेरै अगाडी देखि सुन्दै आएको छु र तपाइँलेपनि कहिँ कतै सुन्नु भएको होला।  फरक यति मात्र हो, पहिले कालापानी मात्र सुन्नु भएको थियो भने अहिले केहि अगाडी लिपुलेक र भर्खरै लिम्पियाधुरा थपिएका छन्।  मलाई डर लागेर आउँछ जबजब हाम्रो सिमाको बारेमा नाम थपिएर आउँछन्। 
 
हुन त यो संसार एक भैरहेको बेला यी सिमानाका कुराले खासै माने नराख्ला । तर राष्ट्र र राष्ट्रियताको नाममा यो भन्दा ठुलो बिषय हुनै सक्दैन। जो कसैलाई पनि आफ्नो मातृभुमि प्यारो लाग्छ र आफ्नो मातृभुमिमा कसैले गिद्दे नजर लगाउँछ भने जो कसैलाई पनि यो सह्य हुदैन। आफ्नो भूमिको रक्षा गर्नु हामी र हाम्रो कर्तब्य हो । यो कालापानी, लिपुलेक, र लिम्पियाधुराको कुरा मात्र होइन, पूर्व मेची देखि पश्चिम महाकाली सम्म जहाँजहाँ सिमानामा कसैको गिद्दे नजर लाग्छ त्यतिबेला हाम्रो रगत त्यतिकै उम्लिनु जरुरी छ।  यहाँ राष्ट्रका नाममा र सीमाका नाममा राजनीति गरि गद्दारी गर्नेहरुको कमि छैन तर हामीले तिनीहरुलाई राम्ररी चिनेर पछार्नु जरुरि छ। 
 
म यहाँ एउटा तितो तर सत्य कुरा राख्न चाहन्छु।  कालापानी, लिपुलेक, र लिम्पियाधुराहरुलाई सुनिरहदा दार्चुला र ब्यास गाउपालिका जान्न त्यतिकै जरुरी छ। हामीले धेरैका ठुला ठुला भाषणहरु सुन्दै आएका छौ, सामाजिक संजालहरुमा लाइभ हेर्दै आएका छौ । तर आपसोच कालापानी, लिपुलेक, र लिम्पियाधुरा कुन गाउपालिका वा जिल्लामा पर्छन र त्यहाँका बासिन्दा अथवा जनताहरुको बस्तुस्थिति, दिनचर्या, र जिवनोपार्जन  कसरि चलेको छ त्यसका बारेमा हामी अनबिज्ञ छौ।  
 
म आफै पनि ब्यास गाउपालिकाको बासिन्दा भएको हैसियतले मैले भन्नैपर्छ, यदि हामी कुनै चिज आफ्नो भन्छौ भने त्यो चिज वा बस्तुको बारेमा हामीलाई ज्ञान हुनु जरुरी हुन्छ। हामी र हाम्रो सरकार आफ्नो सीमाको बारेमा कति जान्दछौ ? सीमाका बासिन्दाहरु राष्ट्रियताको बारेमा कति जानकार छन् ?  ती सीमाका जनताहरुमा आफ्नो राष्ट्रप्रति कतिको गर्ब छ ? यो आफैमा ठुलो प्रश्न बन्न गएको छ।
 
म कक्षा १० को परिक्षा दिएपछि त्यो छुट्टीको समयमा भागेर साथीहरुसँग भारतको छिर्किल्ला भन्ने ठाउँमा मजदुरी गर्न गएको थिएँ।  किनकि मेरा अधिकांस साथीहरु सधै त्यहाँ काम गर्न जान्थे र मैले पनि साथीहरुबाट त्यहि सिके।  भनाइको तात्पर्य मैले मेरो आतित वा बाल्यकाल कोट्याउन होइन ता कि त्यहाका जनताहरुको सत्य तथ्य कुरा बाहिर ल्याउनु हो।  अपसोचका साथ भन्नु पर्छ अझैपनि केहि औलामा गन्न सकिने सरकारी जागिरे बाहेक यहाँका ५० प्रतिशत भन्दा बढी जनताहरुको समय भारतमा मजदुरी गरेर बित्छ । 
 
हुनेखाने वा केहि गर्न सक्ने बाँकी रहेका युवाहरु खाडीतिर भासिएका छन्।  यहाँका जनताहरुमा सरकार हुनु वा नहुनुले कुनै माने राख्दैन। नेपालको अर्थतन्त्रले यहाका जनताहरुको कुनै आसर पर्दैन।  यति भन्दै गर्दा अबको आवश्यकता सरकारले आफ्नोलाई आफ्नो भनेर चिन्नु जरुरी छ। 
 
यहाँका जनताहरुमा राष्ट्रियताको भाव, आपनोत्वको भाव दिलाउन सक्नु पर्दछ।  यहाँका जनताहरुको दिनचर्या भारतमा नगएपनि नेपालमै काट्न मिल्ने बनाउनु पर्छ। हाम्रो सरकारको महसुस काठमाडौँका जनताहरुले मात्र नभई ब्यास गाउपालिकाका जनताहरुले पनि बराबर महसुस गर्न पाउनु पर्छ। हाम्रा यस्ता थुप्रै ब्यासहरु सीमामा अलपत्र छन्।  तिनीहरुलाई जोगाउनु हाम्रो कर्तब्य हो। नत्र कालापानी, लिपुलेक, र लिम्पियाधुरा (ब्यास) मा कृत्रिम बसाई बनाई बासिन्दाहरुलाई आपनोत्व देखाउन भारतले आफ्नो रासन कार्ड दिए जस्तै सयौ कालापानी, लिपुलेक, र लिम्पियाधुराहरुलाई आफ्नो भन्न के बेर ! 
 
सरकार समयमै उठौ। आफ्नोलाई चिनेर आफ्नो भन्न सकौँ। म फेरि पनि भन्छु सरकार समयमै उठौ। आफ्नोलाई चिनेर आफ्नो भन्न सकौ। 
दार्चुला, ब्यास ४ डोकट
हाल- अमेरिका