मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमणको संख्या बढेको बढ्यै

भारतमा कोरोना संक्रमणको संख्या बढेको बढ्यै


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा वृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । 
 
पछिल्लो २४ घन्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ८८ हजार ९८९ पुगेको अधिकारीहरुले जनाएका छन् । अघिल्ला दिनहरुमा दैनिक रुपमा सङ्क्रमित हुनेहरुको संख्या यो भन्दा थोरै रहेको थियो । 
 
त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या पाँच हजार ३५८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा देशभरी ९३ हजार ५७५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने झण्डै उत्तिकै संख्या अर्थात् ९० हजार ५६ जना सङ्क्रमण मुक्त भएका छन् ।
 
“तथ्यांकलाई विश्लेषण गर्दा कुल सङ्क्रमितमध्ये ४७.७५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन्,” एक जना सरकारी उच्च अधिकारीले भने ।  कुल सङ्क्रमितहरुको संख्यामा विदेशीहरुको संख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौं नेपालीहरु पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 
 
शनिबार बिहानदेखि आइतबारसम्ममा भारतमा थप १९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
उनीहरुका अनुसार मध्यप्रदेश र राजस्थानमा नौ, नौ जना, पश्चिम बंगालमा सात जना, तमिलनाडु र तेलङ्गानामा छ, छ जना, बिहारमा पाँच जना, उत्तर प्रदेशमा तीन जना, पञ्जाबमा दुई जना, हरियाणा र केरलामा एक एक जनाको कोरोनाका कारण पछिल्लो २४ घन्टामा मृत्यु भएको छ । पिटिआई