मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४०१ पुग्यो, सात जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४०१ पुग्यो, सात जनाको मृत्यु


काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा एकै दिन १८९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । जसमा १८५ पुरुष र चार महिला रहेका छन् । 
 
शनिबार दैलेखको दुल्लु नगरपालिका वडा नं ११ कालभैरवस्थित क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवामा पनि कोरोना पुष्टि भएको छ । ती युवाको स्वाब तीन दिनअघि प्रयोगशाला पठाइएकोमा शनिबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । यही जेठ ७ गते ७९ जना साथीसहित भारतको गुजरातबाट गाउँ फर्किएका थिए । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुने उनी पहिलो हुन् । 
 
नेपालमा शनिबार हालसम्मकै अधिक संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो । नयाँ संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२४ जना, धनुषाका सात जना, झापाका ४५ वर्षीय एक पुरुष र कपिलवस्तुका १६ वर्षदेखि ६० वर्षसम्मका ७७ जनामा संक्रमण देखिएको हो । 
 
यसैगरी, शनिबारै ललितपुरका एक २३ वर्षीया महिला, महोत्तरीका चार २५ देखि ५५ वर्षका पुरुष, रौतहटका छ जना १८ वर्षदेखि ४५ वर्षका पुरुष, सर्लाहीका १७ जना १६ वर्षदेखि ४० वर्षका पुरुष र सिराहाका ११ जना १७ वर्षदेखि ४० वर्षका पुरुष रहेका छन् । 
 
यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पनि २९ जनामा संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधराका २९ जना १५ देखि ५० जना पुरुष रहेका छन् । 
 
यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा नौ जना, सप्तरीका १८ देखि २८ वर्षका एक महिला, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जना, कपिलवस्तु विजयनगरका तीन जना २६ वर्षदेखि ५२ वर्ष उमेरका पुरुष रहेका छन् ।
 
दाङ हापुरेका एक जना ३० वर्षीय पुरुष रहेका छन् । बङ्गलाचुली दाङकै चार जनामा २७ देखि ३८ वर्षका तीन पुरुष र एक २८ वर्षीया महिला छन् । 
 
नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको छ । बारा हर्दियाका एक २४ वर्षीय पुरुष, पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको छ । ती सबै दैलेखका १७ देखि ५० वर्ष उमेर समूहका पुरुष रहेका छन् । 
 
यस्तै, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको छ । सङ्खुवासभा खाँदबारीका २३ वर्षीय पुरुष र सङ्खुवासभाकै पाँचखपनका २२ वर्षीय पुरुष रहेका छन् । संक्रमित हुनेमा १ हजार २८८ जना पुरुष छन् भने ११३ जना महिला रहेका छन् । शनिबार संखुवासभा संक्रमण देखिएसँगै ५३ जिल्ला प्रभावित भएका छन् । 
 
यसैबीच, शनिबार थप १३ जना निको भई घर फर्किएका छन् । हालसम्म २१९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।