विचार / ब्लग

म किन यतिविधि डराएँ ?

1240 पटक पढिएको

– विजयराज भट्टराई

24th May 2020, Sunday | २०७७ जेष्ठ ११, आईतवार ०९:०२
मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन।
 
भागेर जाउँ कुन ठाउँ जाउ, मान्छे नमर्ने शहर हुँदैन।
 
गीतकार कृष्णहरि बरालले कुन समय र सन्दर्भलाई लिएर लेखे, उनी जानुन तर यो गीत आज धेरैको भावना र परिस्थिति सङ्ग जोडिएको छ।
 
जन्म पछि मृत्यु शाश्वत छ, यसको पूर्ण ज्ञान हुँदाहुदै पनि खै किन हो कुन्नि म मृत्युलाई सहज स्वीकार्ने सक्दिन। साधारण जीवनमा मात्र हैन सिनेमाका पर्दामा पनि मृत्यु देख्दा मलाई निकै गाह्रो हुन्छ। शायद यस्तै केही सानातिना कारणहरुले सिनेमा मेरो कहिल्यै शोख  बनेन। त्यसो त मैले मृत्युलाई नजिकबाट देखेको पनि र भोगेको पनि छु। ती कथाहरु क्रमश: अरु लेखमा लेख्नेछु आजलाई घरभित्रै कुरा। 
 
'बाबुले माम खाएन भने हाउगुजी आउँछ अनि बाबुलाई लिएर जान्छ। अनि हामी हाम्रो बाबुलाई खोज्न कहाँ जानु ?
 
'ऊ बाबुले बदमासी गरेको देखेर बाघ कराएजस्तो छ - घुर्रर्र …. '
 
कहिल्यै नदेखेको हाउगुजी र कहिल्यै नदेखेको बाघसँग म दुई-तीन बर्षको नपुग्दै डराउँथे र बुवा-ममी र आमाले भनेको कुरा ज्ञानी भएर मान्थे। नदेखेको जन्तुसँग डराउने बानी म मा शायद त्यही बेलादेखि बसेको हो। 
 
झन्डै तीन महिना हुन लागेछ घरबाट बाहिर ननिस्केको। अहिले आएर महसुस गर्दैछु - म निकै डराएछु। किन यसरी डराए ? प्रश्न आफुसँगै गर्छु। सही उत्तर म सँग छैन। त्यहि पनि चित्त बुझाउन उत्तर खोज्छु र दुइवटा निर्क्योल निकाल्छु।
 
पहिलो - म मर्न सँग डराए।
 
दोश्रो - डरलाग्दा, डराउन पुग्दोरहेछ मलाई।
 
मैले मात्र हैन, अहिले धेरैले जीवनको परिभाषा फेरेको मेरो बुझाई छ। धन, दौलत र अहमको परिभाषा पनि क्रमश: फेरिदै छ। सही नेतृत्वकर्ता हुनु र नहुनु बिचको फरक पनि संसारले बुझ्दैछ। यसै बीचमा बिकशित, बिकासोन्मुख र अल्पबिकशित प्रतिको बुझाई फेरिएको छ। 
 
अमेरिका संसारको सवैभन्दा ठूलो अर्थतन्त्र भएको देश जसले पैसाले संसारलाई जबर्जस्त गाइड गर्नसक्छ भन्ने मान्यता स्थापित गर्न सफल भयो। यही साखमा संसारमा साम्राज्य जमाएको यसको शानमा निकै कडा घाउ लाग्यो। यो देश यतिखेर मन र मस्तिष्कको लडाइमा मस्तिष्कले मनलाई जितेर गरिने निर्णयका कारण संसार सामु नाङ्गो हुन पुग्यो।
 
सामाजिक सुरक्षा भन्दा अर्थ सुरक्षालाई प्राथमिकतामा राख्दा अमेरिकी सरकारले बाँचेकहरुलाई बाँडेको बिभिन्न राहत प्याकेजका एकहजार दुइसय डलर भन्दा हालसम्म मृत्यु भएका ९७ हजार चारसय जनाको ज्यानको मुल्य अतुलनीय छ। त्यसैले सरकारले जे जस्तो राहत ल्याएपनि जनताले प्रशंसा गर्न सकिरहेका छैनन्।
 
राज्य चलाउनेहरुको बाध्यता मैले लेख लेखे जस्तो सजिलो पक्कै हुँदैन। हरेकले आफ्नु चाहना अनुसार निर्णय गर्न नसक्ने वा सक्दा सक्दैपनि मन मस्तिष्कको लडाईमा बिजयी निर्णयको कार्यान्वयन नै गर्ने हो।
 
धेरै घटना-प्रतिघटनाहरुले नेपालीहरु बीचमा पनि ठूलै तरंग ल्यायो। अर्काको मा काम गरेर कमाउने र दुख-सुख परिवार चलाउनेहरु, दुख गरेर कमाउने र कलेजको फी तिरेर उज्वल भविष्यको कल्पना गर्नेहरु धेरै डराए र काम गर्न गएनन। तर, ८-१० लाख देखि ८-१० मिलियनका ब्यापार गर्ने प्राय: साना व्यापारीहरु सवै स्वयं काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्यो।
 
समयले बाध्य पार्दै गयो, हिजो २००-४०० सयको मृत्यु हुँदा डराएर घर बसेकाहरु आज झण्डै पृथ्बीमा साँढे तीनलाखको सेरोफेरोमा मृत्यु पुग्दा यो अनिश्चितकालीन परिस्थितिको सामना गर्न नसकेर काममा फर्कन बाध्य हुनुपरेको छ। म भने यिनै कथाहरु माझ एउटा डरपोक पात्र बनेर यतिखेर सम्म घरभित्रै छु।
 
टेक्ससमा नेपालीहरु माझ कोरोनाको कारण त्यस्तो असामान्य परिस्थिति उत्पन्न भएन। केही बिध्यार्थीहरु र पाको उमेरका व्यक्तित्वहरुलाई आवश्यक सहयोग सामाग्री तथा न्यूयोर्क राज्यमा नेपाली माझ उत्पन्न परिस्थितिलाई सहयोग गर्न एक अर्कामा जुटन, सहयोग संकलन गर्न र जानकारी सम्प्रेषण गर्न जुमले सधै सहज बनाइरह्यो।
 
घरका लागि अन्य सामाग्रीहरुको सपिङ्ग अरु बेलामा पनि प्राय:अनलाइन नै गरिए पनि दूध, अण्डा, साग र फलफूलको शपिंग कोरोना कहर अघि अनलाइन गरिएको थिएन। मार्चको दुइ-तीन हप्ता त आत्मिय केही मित्रहरुले आफ्नै स्टोरबाट हाम्रो घरको ढोका मै यी अत्याबश्यक कुराहरु किनेर ल्याएर छोडिदिनुभयो। भित्र बोलाएर बसौ भन्ने सम्म हिम्मत भएन। म डराउदा मलाई साथ दिनुहुने उहाँहरुले लगाएको गुन म आजीवन बिर्सन्न। 
 
सन् २००१ मा म काठमाण्डौको शिवपुरीमा ११ दिने विपश्यना ध्यान गर्न पहिलो पटक गएको थिए। त्यहाँ जादाको सजिलो अप्ठ्यारो सवै बुझेर मानसिक रुपमा पूर्ण तयार भएर गएपनि शुरुका २-३ दिन बिहान ४ बजे देखि राती ९ बजेसम्मको पलेटी कसेर गरिने ध्यानमा मन एकाग्र हुनै सकेन।
 
एकनासले आखा चिम्लेर स्वासलाई हेर्न गुरुले दिएको इन्स्ट्रक्सनको साटो मनले त्यसअघिका सम्पूर्ण घटनाहरु मात्र सम्झिरह्यो। शायद २-३ दिनमा मनले सवैकुरा सिध्याएछ सोचेर, त्यसपछि बल्ल मन एकाग्र भयो र ध्यानमा चित्त लाग्यो। त्यसपछिको अनुभव र अनि ११ औं दिनपछि बोल्दा आउने आनन्दको लेखेर बुझाउन गाह्रो छ, अनुभव नै गर्नुपर्छ।
 
ठीक त्यसैगरी कोरोनाको कहरको शुरुवातका दिनहरु त्यस्तै भए। कोरोनाको जन्म देखि कै समाचारहरु पढ्दै आएको हुनाले होला घर बस्ताको महत्वपूर्ण काम नै हरेक मिनेट कोरोनाले संसारलाई कसरी गांज्दैछ? कुन देशमा कति संक्रमित भए, कति मृत्यु भयो कति रिकोभर भएर फर्के यही समाचार हेर्ने बन्यो दैनिकी।
 
अर्कोतर्फ सधैँ अफिसबाट घर फर्कदा २-४ साथीभाईहरु भेट्ने, वीकेण्डको इन्जोय, आइतवारको नेपाली पाठशाला, फेमिली आउटिङ्ग, धेरै कार्यक्रमहरुमा आउने निमन्त्रणा र आत्मीय मित्रहरुसँगको गफगाफ। यी र यस्ता धेरै कुराहरुले सम्झनामा डुबाइरह्यो।
 
फिजिकल काम गर्ने मामलामा म अलिक अल्छी छु। क्रमश: सबैकुराहरू अनलाइन अर्डर गर्न सहज बन्दैगयो। शरीरको आयतन मेन्टेन गर्न फ्रोण्टयार्डको फूलवारी र ब्याकयार्डमा तरकारी बारी निकै आत्मीय बनेका छन।
 
बुढाबुढीकै घरबाटै काम गर्न मिल्ने जागिर भएर पनि सजिलो भयो। केटाकेटी आफ्नै भर्चुअल संसारमा दंग। क्रमश: गर्मी बढ्न थालेको थियो। रेफ्रीजरेशन तथा एयर कण्डिसनिङ्गको निकै कामहरु आइरहेका थिए। कामगर्ने मान्छेहरु काम गर्न जान मान्नै छाडे कोरोनाको डरले। आफूलाई झन बाहिर निस्कने आटै भएन।
 
म एप्लिकेशन डेभलपमेन्टको काम पनि गर्छु।  कोरोनाको कारण प्राय: बिजनेशहरू अनलाइनमा गएको हुँदा इ-कमर्स एप्लिकेशन डेभलपमेण्टको काम पनि व्ह्वात्तै बढ्यो। यतिखेर आइटीको स्कोप बढ्दो छ। अहिले अलिअलि मन्द देखिए पनि यसले व्ह्वत्तै पिकअप लिनेछ। यो धेरैले बुझेको हुँदा कोरोना पछिको बजारमा आफूलाई योग्य बनाउन अध्ययन गर्नेहरूको संख्या बढ्दो छ।
 
यो कोरोनाको कहरकै माझ एउटा खुशी पनि अनुभूत गरेकोछु।  सन् २०११ को मार्चबाट आइटीका सफ्टवेयर बिजनेस एनालिस्ट, क्वालिटी एनालिस्ट र डेटा एनालिटिक्सको ट्रेनिङ्ग गराउन थालेको मैले हालै गत हप्ताबाट मैले पढाएका बिद्यार्थीहरुको संख्याले एकहजार नाघेको छ। अमेरिकामा एकहजार भन्दा बढीलाई ट्रेनिङ्ग गराउने अवसर पाउनुलाई निकै भाग्यमानी ठानेको छु। अहिले पनि तीन वटा ग्रुप पढाइरहेको छु जसमा २५ जना बिद्यार्थीहरु छन।
 
पढ्नु र पढाउनु मेरा शोखहरु हुन। यी दुवै मलाई काम जस्तो लाग्दैनन। पढाउँदा, म सिनेमा हेरेभन्दा बढी इन्जोय गर्छु। व्यस्त रहन मनपर्छ मलाई। त्यसैले कोरोनाको प्रभाव लामै हुनसक्ने अन्दाज गर्दै सरकारी स्कूलले अनलाइन स्कूल शुरु गर्नु पूर्व नै मार्च १५ मै नेपाली पाठशाला अनलाइन संचालन गर्ने जानकारी गराउदै अभिभावकहरु संग छलफल शुरु गरें र मार्च २९ बाट शुरु गरेर गतहप्ता दीक्षान्त समारोह समेत अनलाइन नै गरियो। 
 
 
यसै बीच छोरोले १२ कक्षा सक्यो । छोरी ५ कक्षामा पुगिन। यो समर रमाउने बेला थियो । कोरोनाले घरभित्रै थुपारी दियो। धेरैदिन घर भित्रै बसेर होला अचेल म घरमै निकै रमाउन थालेकोछु। घर बाहिर जाने त्यति धेरै उत्सुकता बढेको छैन। छोराछोरी पनि म सँगै सहमत छन तर श्रीमती भने 'यो त अति भयो' भन्न थालेकी छन।
 
धेरै भयो कोरोना समाचारमा मन जान छाडेको छ। नदेखिने बस्तु मात्र हैन, देखिने मृत्युसँगको डर पनि थेत्तर भएर हराउदै गएजस्तो छ। आउने हप्ता छोरोको डिस्टान्स मेन्टेन गरेर गरिने फिजिकल र फिजिकल सहभागी नहुनेहरूका लागि भर्चुवल दुवै ग्राजुएशन सेरेमोनी छ। हामी बुढाबुढीले जाने चाहना राखे पनि छोराछोरीको पब्लिक प्लेसमा जानुहुन्न भन्ने तर्क छ। जाने-नजाने भोटिङ्ग गर्न बाँकी छ घरमा।
 
अफिसका बिदाहरू रोइरहेका छन। यात्रा गर्ने कुरा सम्झदा नै आङ्ग जिरिङ्ग हुन्छ। परिस्थिति सुरक्षित बने मातृभूमि जाउला र दिल बहलाउला भनेको उता उतै बेहाल हुदैछ। नून-पानी अमेरिकाको खाएपनि किन हो कुन्नि माया र चिन्ता उतैको धेरै छ।
 
अमेरिकामा यति मरिसके रे नि भन्दै दिनहुँ चिन्ता गर्द फोन गर्ने मेरा पिताश्री अनि के कसो छ भनेर बिहान बेलुकी फोन गरेर चासो राख्ने स्वजनहरूको फोन अघिल्लो साताबाट घटेको छ । यताको त्राश अब उता पनि छाडेन । परिक्षण गरि भ्याउने हो भने प्रतिशतको हाराहारीमा अमेरिका र नेपाल उस्तै हुन बेर छैन ।
 
कुनै बेला फोन गर्न महंगो रेट तिर्नुपर्ने र भनेको समयमा नलाग्ने अवस्था मैलेनै भोगेको छु । यतिखेर प्रविधिले फोन निशुल्क जस्तै छ । प्रविधिको विस्तारसँगै रोगव्याधी पनि त्यसैगरि सहज रूपमा विस्तार हुँदै रहेछ । अब न लाग्न थाल्यो–कति डराउँ, कति घर भित्रै लुकेर बसुँ ?
 
गीतकार बराललाइ मात्र होइन मलाइ पनि लाग्न थाल्यो–
 
मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन।
 
भागेर जाउँ कुन ठाउँ जाउ, मान्छे नमर्ने शहर हुँदैन।
 
त्यसैले सोच्दैछु गाडी लिएर एकपटक निस्किउँ । साथीहरुका घर अगाडी पुगेर फोन गरूँ। बाहिर निस्कन अनुरोध गरूँ अनि गाडीकै झ्याल खोलेर आत्मीयता साटौ र डिस्टान्स मेन्टेन गर्दै भनुँ हाई अनि बाई !