मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चर्चहरु पुनः खोल्न निर्देशन

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चर्चहरु पुनः खोल्न निर्देशन


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । ट्रम्पले यससम्बन्धी अन्य आदेशहरुसमेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन् । 
 
चर्चहरुलाई उनले अत्यावश्यक कार्यालयअन्तर्गत मानिने उल्लेख गर्दै यो आदेश देशभरका सबै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन सूचित गरेका छन् । 
 
“सरकारले अत्यावश्यक परेका कामहरुलाई रोकतोक गरेको छैन, सही समयमा सही ठाउँमा सही काम गर्न सरकारले स्वीकृति दिन्छ, पूजापाठसम्बन्धी काम पनि अत्यावश्यक कामअन्तर्गत पर्दछन्, त्यसैले चर्चहरु खोल्न दिनुपर्दछ,” पत्रकार सम्मेलनमा ट्रम्पले भनेका छन् । 
 
राष्ट्रपति ट्रम्पले जबर्जस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उनले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्वीकार गर्दै आएका छन् । तैपनि आफैँ बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदि क्रमशः खोल्नेतर्फ उनले प्रेरित गर्दै आएका छन् । 
 
कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि झण्डै दुई महिनादेखि सुस्ताएको आर्थिक गतिविधिहरुलाई पुनः सूचारु गर्नुपर्नेमा ट्रम्पको जोड रहेको छ । उनले लामो समयसम्म बन्द गर्दा सबैतिरको आर्थिक पक्षमा समेत नराम्रोसँग असर पर्ने भएकाले बन्द गरेरमात्रै बस्न नहुने जिकिर गरेका छन् । 
 
राष्ट्रपति ट्रम्पको निर्देशनपछि उनको निर्देशनलाई पछ्याउँदै देशको रोग नियन्त्रण तथा न्यूनीकरण केन्द्रले नयाँ निर्देशिका पनि जारी गरेको छ । निर्देशिकामा न्यून संख्यामा उपस्थित हुनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने, मास्क, सेनिटाइजर, पञ्जा आदिको प्रयोग गर्नुपर्नेलगायतका सर्तहरु पनि उल्लेख गरिएको छ । 
 
स्वास्थ्य अधिकारीहरुले सामन्यतया सार्वजनिक स्थलहरुमा दस जनाभन्दा बढी मानिसको भीडभाड हुन नदिन पनि सुझाव दिएका छन् । एपी