मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकैपटक २१ जनाले जिते कोरोना भाइरस

एकैपटक २१ जनाले जिते कोरोना भाइरस


नेपालगञ्ज । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् । 
 
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार गराइरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रोपटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए । 
 
उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने तयारी हुँदैछ । 
 
सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 
 
तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुईपटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल १०१ संक्रमित उपचाररत छन् ।
 
नेपालमा शुक्रबार थप ३० सहित ४८७ जनामा कोरोनाको संक्रमण भएको छ । जसमध्ये तीन जनाले ज्यान गुमाएका छन् भने ४९ जना निको भएका छन् । रासस