मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विनाशकारी आँधीका कारण बंगलादेश र भारतमा ८४ को मृत्यु

विनाशकारी आँधीका कारण बंगलादेश र भारतमा ८४ को मृत्यु


बंगलादेश । भारतमा बंगलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ । सन् १९९९ देखि अहिलेसम्मको सबैभन्दा बढी विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम दिइएको छ । 
 
आँधीका कारण मानवीय क्षतिसँगै घरलगायतका सयौँ भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रुखबोट विरुवाहरु पनि नष्ट भएका छन् । 
 
भौतिक संरचनामा क्षति पुगेकोले प्रभावित क्षेत्रमा विद्युत, पानी, सञ्चारलगायतका सेवाहरु पनि अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन् । 
 
संयुक्त राष्ट्रसंघले एक करोड मानिस आँधीबाट प्रभावित भएको र पाँच लाख मानिसले घर गुमाएको जनाएको छ । घटनामा परेकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको सङ्ख्या अझ बढ्न सक्ने पनि राष्ट्रसंघको अनुमान छ । 
 
अधिकारीहरुले दिएको जानकारीअनुसार भारतको पश्चिम बंगाल प्रदेशमा मात्रै ७२ जनाको मृत्यु भएको छ । तीमध्ये १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिइन् । उनले भने, “यति ठूलो र विनाशकारी आँधी मैले अहिलेसम्म देखेकी थिइन् ।”
 
आँधीको प्रभाव परेको बङ्लादेशमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मौसम पूर्वानुमान राम्रो भएकाले लाखौँ मानिसलाई उद्धार गर्न सफल भएको र मानवीय क्षति कम भएको उनीहरुको भनाइ छ । 
 
बङ्लादेशमा २४ लाख मानिसलाई विभिन्न शिविरहरुमा राखिएको छ । जब कि भारतमा छ लाख ५० हजार मानिसलाई स्थानान्तरण गरेको छ । 
 
आँधीका कारण कम्तीमा पनि एक करोड मानिस विद्युत सेवाबाट बाहिर रहेको बंगलादेशका ग्रामिण विद्युतीय बोर्डका प्रमुख मोइन उद्दिनले जानकारी दिए । 
 
“आँधीका कारण अनगिन्ती विद्युत पोलहरु ढलेका छन्, टान्सफर्मरमा क्षति पुगेको छ, त्यसैगरी असीमित रुखहरु ढलेका छन्,” उनले भने । 
 
सडकमा समेत क्षति पुगेको र अन्य संरचनाले सडक छेकिएकाले सवारी साधनहरु सञ्चालन हुन नसक्ने अवस्थामा रहेका छन् । कोरोना भाइरसको त्रासमा रहेकै बेला विनाशकारी आँधी आएपछि यस क्षेत्रका नागरिक दोहोरो मारमा परेका छन् । 
 
कोरोना भाइरसको त्रासकै कारण उद्धार तथा व्यवस्थापन कार्यमा पनि अरु बेलाभन्दा बढी कठिनाइँ भएको उद्धार कार्यमा संलग्न अधिकारीहरुले जनाएका छन् । एएफपी