मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कोभिड-१९ त्राशका बेला योगीको आत्मकथा र संयोगहरु

कोभिड-१९ त्राशका बेला योगीको आत्मकथा र संयोगहरु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

योगीको आत्मकथा कोभिड १९ का कारणले बाहिर घुमफिर कम भएपछि तेहेर्याएर पढ्दैछु । तेस्रो पटक शुरु गर्दा पनि परमहंस योगानन्दद्वारा ७५ बर्ष अगाडी लिखित यो किताबका पानाहरुले मलाई तानिरहेको नै छ । यो कितावसँग मेरा विभिन्न संयोगहरु छन् । २०५० साल तिर मैले यो किताव देखेको थिएँ । सुवास दाजुलाई पुस्तक पढ्ने शोख थियो । दिल्लीमा आर्किटेक्ट पढ्ने दाजुसँग नेपाल आउँदा थुप्रै किताव हुन्थे । बानेश्वर हाइटमा बस्दा हामी किताब, नारायण गोपाल, बच्चु कैलास, गोपाल योञ्जन लगायतकाहरुको गीतका मर्मका बारे लामो वहस गर्थ्याैँ । त्यही बेला मैले उहाँको सिरानमा यो किताव देखेको थिएँ ।
 
दाजु केही दिन देखि यो किताव, तपाईको सिरानीमै छ, पढेर सकिएन ? यो प्रश्नमा दाजुको उत्तर थियो, केही किताब यस्ता हुन्छन जुन पढिरहँदा नसकियोस जस्तो हुन्छ।  यो किताव यस्तो छ, मलाई पढेर सिध्याउन मनै छैन । त्यसबेला दाजुसँग मैले यो किताव पढ्न मागिन, तर, मेरो दिमागमा यो कितावको चित्रको छाप भने परिरह्यो ।
 
योगीको आत्मकथासँग अर्को संयोग काठमाडौको हायात होटलमा भईरहेको अर्थोपेडिक डाक्टरहरुको अन्तराष्ट्रिय सम्मेलनमा जुर्यो । सम्मेलनको उद्धाटन लगत्तै डा. अशोक बास्कोटा कार्यपत्र प्रस्तुत गर्दै थिए । उनको कार्यपत्रको पावर पोयन्टको क्रममा शुरुमा योगीकै आत्मकथा किताब देखियो । डा अशोकले त्यसपछि भने यो किताबले मेरो लाइफमा सवैभन्दा प्रभाव पारेको छ । त्यसपछि उनको कार्यपत्र अगाडी पढ्यो ।
 
अर्को संयोग यसको केही बर्षपछि काठमाडौको अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयां बानेश्वरमा यो कितावको नेपाली संस्करण विमाचन हुदैं थियो । म तिनकुनेमा रहेको अफिस कान्तिपुरमा त्यही बाटो भएर जांदै थिएँ । अफिस जान बाटोमा हिड्दै गर्दा मेरा पाइला सम्मेलन केन्द्र भित्र योगीको आत्मकथा विमोचन तिर मोडिए । विमोचन ठ्याक्कै सकिएर सहभागीहरु चिया खान हल तिर लाग्ने समय भएको रहेछ । मैले पत्रकारिताको क्रममा चिनेका जानेका थुपै विरिष्ठहरु हरु त्यहाँ थिए । अन्तिम तिर पुगेपनि म किताव किन्ने ठाउँ खोज्दै थिएं । अस्कलमा म भन्दा सिनियर दाई ईन्जिनियर बाबुराम सुवेदीसँग भेट भयो । उनको हातमा तीनवटा योगीको आत्मकथाका किताव थिए । मैले उनलाई सोधें यो किताव कहाँ किन्ने ? उनले भने तिमी पढ्ने हो यो लिउ भन्दै उनले एउटा दिईहाले । नमाग्दै किताब हातमा पर्दा म अकमक्क परें । म किनेर लान्छु भन्दै थिएँ उनले मानेनन लिऊ लिऊ दिनकै लागि किनेको हो उनले भने ।
 
झण्डै ६ सय पृष्ठको किताव पढ्न त्यही साँझ शुरु गरिहालें । झण्डै ४/५ दिनमा पढिसकियो । पढिसक्दा मलाई म मेरो शरिर नै चंगा भएजस्तो लाग्यो । जीवनमा आईरहने नियमित समस्यालाई आत्मविश्वासले जित्न थालेको अनुभव भयो । आफु भित्र यस्तो कन्फिडेन्स आयो कि समस्या साना हुँदै गए ।  
 
अर्को संयोग पनि छ, अमेरिकामा व्यारेन एण्ड नोवेल किताव पसलमा छिरेको थिएं । त्यहाँ धर्मका वारेमा एउटा किताब भेटें । हिन्दु धर्मका वारेमा के लेखिएको रहेछ भनेर पल्टाएँ । उक्त कितावमा हिन्दु धर्मका वारेमा योगीको आत्मकथाको संयोगवाट नै लेख्न शुरु भएको थियो । त्यहां लेखकले आफ्नो अनुभव यसरी उल्लेख गरेका थिए,  जहाज लामो उडानका लागि रनवे तिर जादैं थियो । मेरो सिटसँगै एक जना भारतीय यात्रुसँग योगीको आत्मकथा पुस्तक थियो । जव जहाजले उड्न रनवेमा वेग समात्यो उनले आँखा चिम्लिए किताव छातीमा टाँसे । जहाज उडेर सामान्य अवस्थामा पुग्यो अनि मैले ति यात्रुलाई सोधें तपाईलाई जहाजमा उड्दा डर लाग्छ हो । ती भारतीय यात्रुले भने हो उड्दा मलाई सहज हुदैंन तर, जब योगीको आत्मकथा मसँग हुन्छ त्यस बखत आत्मबल आउँछ, डर भाग्छ । त्यसैले यात्रामा सधै लिएर हिड्छु ।   
 
परमहंस योगानन्दको जन्म भारत बंगालमा भएको थियो । त्यहाँ उहाँको भेट भारतीय सभ्यताका देन साधु सन्तसँग भयो । यसवाट उहाँलाई गम्भिर प्रभाव पर्यो । केही बर्ष भारतमा विताए पछि पुर्वीय दर्शन र योग प्रचारका लागि सन्त अमेरिका आउनु भयो  । लसएञ्जलस स्थित प्रशान्त महासागरको किनारमा उनले आश्रम बनाउनुभयो । जुन स्थानमा अहिलेपनि मनै लोम्याउने आश्रम छ । त्यहाँ विभिन्न कार्यक्रमहरु हुन्छन् । सन् १९५२ मा त्यही महासमाधीमा जानु भयो । योगीको आत्मकथा किताव एउटा उपन्साय जस्तोपनि छ  । रोमाञ्चक ह्यारी पोटर जस्तो तिलस्मी उपन्यास । यो हाम्रा ऋषीमुनी साधु सन्तको गाथा पनि हो ।  यसले  अहिलेको अवस्थामा  हिन्दु धर्म र पुर्वीय संस्कृतिको अभ्यास वुझाउन सहयोग गर्छ । यसलाई जीवन दर्शन वुझाउन कितावका रुपमा पनि लिन सकिन्छ । यो किताव पढन् धार्मिक भईरहनु पर्दैन । किताव पढ्ने बानी छ भने जुनसुकै दृष्टिकोणवाट पढ्दा पनि यो किताव रोमाञ्चक लाग्छ ।
 
यो कितावमा गीता र वाईबलका प्रशस्त उद्धरणहरु पाइन्छन । यी दुई महान ग्रन्थका समानतापनि देखाईएको छ । प्राय सवै मानिसको जीवनमा आउने संयोगहरु त्यहाँ भेटिन्छन् । संयोगहरु जीवनमा कसरी आउँछन त्यहाँ पढ्दा आफ्ना घटनापनि मनमा आउँछन् ।
 
 नेपालका प्राय अधिकांश किताव पसलमा यो किताव उपलव्ध छ । सुपथ मूल्यमा किन्न सकिने यो किताव नेपाली, अंग्रेजी, हिन्दु लगायतका भाषामा उपलव्ध छ । अनुवाद गरिएको नेपाली संस्करण कुनै दृष्टिले कमजोर छैन । कतिपय सस्कृत शव्द, पाद टिप्पणी नेपालीमा पढ्दा झनै सजिलो लाग्छ ।अमेरिका लगायत विश्वका विभिन्न देशका किताव पसलमा पनि यो किताव किन्न पाइन्छ । लसएञ्जलस स्थित योगानन्द आश्रममा नेपाली संस्करण पनि किन्न पाइन्छ ।