मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेश गएकालाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने

विदेश गएकालाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने


काठमाडौँ । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने भएको छ । 
 
संघीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरी सामाजिक सुरक्षालाई दिगो बनाइने बताइन् । 
 
सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउन सरकारका विभिन्न तह र निकायबाट सञ्चालित सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई एकीकृतरुपमा कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 
 
आफ्नो हेरचाह आफैँ गर्न नसक्ने वा श्रम गर्न नसक्ने अशक्त तथा असहाय, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका र लोपोन्मुख जातिका नागरिकको पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गरिनेछ । 
 
यसैबीच, सरकारले वैदेशिक रोजागारीबाट फर्केका युवालाई स्वरोजगारमा लगाउन सुरुवाती पूँजी उपलब्ध गराउने भएको छ । नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्केका अनुभवी तथा सीपयुक्त उद्यमशील युवालाई उद्यम व्यवसाय सुरु गर्न पूँजी उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । 
 
उद्यम व्यवसाय गर्न क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणका लािग कार्यक्रमसँग आबद्ध गराइने, यसका लागि हाल सञ्चालित कार्यक्रमलाई पुनः संरचना गरी सबै प्रदेशमा विस्तार गरिने नीति कार्यक्रममा उल्लेख छ ।
 
शिक्षित बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा परियोजनामा आधारित सुरुवाती पूँजी उपलब्ध गराई भरसक निजको शिक्षासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न ‘प्रोजेक्ट’ निर्माणमा सहयोग गरी उत्प्रेरित गरिने छ । 
 
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त दक्ष जनशक्ति, रोजगारीको क्षेत्र र रोजगारसम्बन्धी अन्य कार्यक्रमसँग आबद्ध गरी यथार्थ उत्पादनमूलक रोजगारी सिर्जना गर्ने बेरोजगार लक्षित अभियानका रुपमा कार्यान्वयन गरिने नीति कार्यक्रममा उल्लेख छ । 
 
सबै स्थानीय तहमा सञ्चालनमा ल्याइएको रोजगार सेवा केन्द्र स्थापना र रोजगार व्यवस्थापन सूचना प्रणालीलाई थप विकसित गर्दै श्रम बजारमा रहेका श्रमिकको सीप र क्षमताको उपयोग गर्न सहज हुने गरी उनीहरुको व्यक्तिगत विवरण रहेको श्रम सूचना बैंक स्थापना गरिने छ । 
 
स्थानीय रोजगार सेवा केन्द्रले रोजगारदाता र रोजगारीको खोजीमा रहेकाको बीच सम्पर्क स्थापित गरी रोजगारी प्राप्तिमा सहयोग गर्ने विश्वास लिइएको छ । रोजगारदाता र श्रमिक सङ्गठनबीच असल श्रम सम्बन्धको विकास गरिनेछ । श्रम निरीक्षण प्रणालीमार्फत श्रम अडिटलाई थप व्यवस्थित गरिने छ । सबै प्रकारका श्रम शोषण अन्त्य गरिने नीति कार्यक्रममा उल्लेख छ । रासस