मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा आइतबार १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

नेपालमा आइतबार १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो


काठमाडौँ । नेपालमा एकै दिन थप १६ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १६ जनामा कोभिड–१९ का सङ्क्रमित पुष्टि भएको जनाएको हो । 
 
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सामा एक र बाँकेको नेपालगञ्जमा १५ जनामा कोभिड सङ्क्रमण देखिएको बताए । नेपालगञ्जमा भेटिएका कोभिड सङ्क्रमितमध्ये आठ पुरुष र सात महिला रहेका छन् । उनीहरुमध्ये सात वर्षदेखि ६० वर्ष उमेरका छन् । 
पर्साका ३६ वर्षीय पुरुषमा कोभिड सङ्क्रमण देखिएको छ । उनलाई रुपन्देही अस्पतालमा उपचारका लागि लगिएको छ भने बाँकी १५जनालाई नेपालगञ्जस्थित कोरोना अस्पतालमा ल्याउने क्रममा रहेको प्रवक्ता देवकोटाले बताए । 
 
योसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । सङ्क्रितमध्ये हालसम्म १६ जना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । बाँकी सङ्क्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
 
त्रिसट्ठी हजारको स्वास्थ्य परीक्षण
 
सरकारले ६३ हजारभन्दा बढी सम्भावित कोभिड–१९ का सङ्क्रमितको स्वास्थ्य परीक्षण गरेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा मात्रै एक हजार ४६७ को परीक्षण गरिएको छ ।
 
मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार ४९९, प्रदेश नं २ मा पाँच हजार ७०९, वाग्मती प्रदेशमा आठ हजार ५१५, गण्डकी प्रदेशमा पाँच हजार ८३४, प्रदेश नं ५ मा चार हजार ४९२, कर्णाली प्रदेशमा पाँच हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ आरडिटी परीक्षण गरिएको छ । हाल काठमाडौँमा चार र उपत्यकाबाहिर ७३ गरी ७७ शङ्कास्पद व्यक्तिलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ । 
 
आज मुलुकभर २१ हजार ९५१ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १० हजार ६६७ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ६१८, प्रदेश नं २ मा एक हजार ३३७, वाग्मती प्रदेशमा ४४०, गण्डकी प्रदेशमा ६२६, कर्णाली प्रदेशमा तीन हजार ७८ व्यक्ति क्वारेन्टाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । 
 
मन्त्रालयले कल सेन्टरमा एक हजार ११९ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार ९८४ पुगेको छ । हाल ३२१ जना रेड जोनमा रहेका र उनीहरूलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ ।