मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रवासी नेपालीमा कोरोना कहर, के गर्दैछ एनआरएनए ?

प्रवासी नेपालीमा कोरोना कहर, के गर्दैछ एनआरएनए ?


काठमाडौँ । संसार नै यतिबेला कोरोना कहरसँग जुधिरहेको छ । शनिबार राति नौ बजेसम्म ३४ लाख २६ हजार ३११ नागरिकमा कोरोना सङ्क्रमण भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । यस्तै दुई लाख ४० हजार ४९८ को निधन भएको छ । कुल १० लाख ९४ हजार १६ भने निको भएर घर फर्केका छन् ।
 
कोरोनाको इपिसेन्टरका रूपमा अहिले पनि संयुक्त राज्य अमेरिका नै रहेको छ । अमेरिकामा कुल ११ लाख ३४ हजार ८४ लाई कोरोना सङ्क्रमण भएको छ । आजमात्रै ३०५४ मा नयाँ सङ्क्रमण देखिएको छ । कुल ६५ हजार ८८८ को मृत्यु भएको छ ।
 
स्पेनमा दुई लाख ४५ हजार ५६७ सङ्क्रमित हुँदा २५ हजार १०० को निधन भएको छ । इटालीमा दुई लाख सात हजार ४२८ लाई कोरोना लाग्दा २८ हजार २३६ को निधन भएको छ । बेलायतमा कुल एक लाख ७७ हजार ४५४ लाई कोरोना लाग्दा २७ हजार ५१० को ज्यान गएको छ । फ्रान्समा कुल एक लाख ६७ हजार ३४६ लाई कोरोना लाग्दा २४ हजार ५९४ को ज्यान गएको छ । 
 
जर्मनीमा कुल एक लाख ६४ हजार ७७ लाई कोरोना लागेकामा छ हजार ७३६ को ज्यान गएको छ । रसियामा एक लाख २४ हजार ५४ लाई कोरोना लाग्दा १ हजार २२२ को मृत्यु भएको छ ।  
 
टर्कीमा १ लाख २२ हजार ३९२ लाई संक्रमण हुँदा ३ हजार २५८ को मृत्यु भएको छ । यस्तै, बेल्जियममा ४९ हजार ३२ लाई कोरोना लाग्दा सात हजार ७६५ को निधन भएको छ । नेदरल्याण्डमा ४० हजार २३६ लाई कोरोना लाग्दा चार हजार ९८७ को ज्यान गएको छ । स्वीटजरल्याण्डमा कुल २९ हजार ८१७ लाई कोरोना लाग्दा एक हजार ७५४ को ज्यान गएको छ । कोरोनाको इपिसेन्टर बनेको युरोपेली देशमा रहेका नेपालीसमेत कोरोनाबाट नराम्ररी प्रभावित भएका छन् । उनीहरुको रोजगारी खोसिएको छ । 
 
विद्यार्थी सबैभन्दा बढी मारमा
 
अध्ययनका लागि गएका विद्यार्थी सबैभन्दा बढी समस्यामा परेका छन् । बेलायतमा कोरोनाका कारण हालसम्म ३५ जनाको ज्यान गएको छ । विदेशमा कूल दुई हजार २५० नेपाली कोरोनाबाट प्रभावित भएका छन् । गैरआवासीय नेपाली सङ्घका अनुसार ५० नेपालीको ज्यान गएको छ । त्यसमा अमेरिका र बेलायतमा रहेका नेपाली सबैभन्दा बढी प्रभावित भएका छन् ।
 
पछिल्लो विवरणअनुसार अमेरिकामा मात्रै एक हजार बढी नेपाली कोरोनाबाट प्रभावित भएका छन् । जसमा १५ नेपालीको ज्यान गएको छ । त्यस्तै तथ्याङ्क छ बेलायतको पनि । बेलायतमा एक हजार बढी कोरोना सङ्क्रमित हुँदा ३५ नेपालीको ज्यान गएको छ । कोरोना कहरका कारण अमेरिकामा विद्यार्थीको प्रवेशाज्ञा लिएर गएका नेपाली सबैभन्दा बढी समस्यामा परेका छन् । त्यहाँको सरकारले प्रदान गर्ने राहतसमेत उनीहरुले नपाउने अवस्था रहेको छ । उनीहरु कामसमेत नपाएकाले चर्को आर्थिक मारमा परेका छन् । 
 
त्यस्तै, आधिकारिक कागजात नभएका नेपाली पनि समस्यामा परेका छन् । विभिन्न प्रवेशाज्ञा लिएर विदेश पुगेका नेपालीसमेत समस्यामा परेको पाइएको गैरआवासीय नेपाली सङ्घको भनाइ छ । कोरोना महामारीले अमेरिकालगायत क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा एनआरएनले छलफल गरेको थियो । सङ्क्रमणले ५० भन्दा बढी गैरआवासीय नेपालीको निधन भएको र दुई हजार ५०० भन्दा बढी नेपाली कोरोना सङ्क्रमित भएको सङ्घका अध्यक्ष कुमार पन्तले जानकारी दिए । 
 
कोरोना महामारीको प्रकोप कहिलेसम्म रहने हो अहिल्यै भन्न सक्ने अवस्था नभएकाले अहिल्यै केही भन्न सकिने अवस्था छैन । अध्यक्ष पन्तले भने, “त्यसका लागि सबै जना मिलेर जान र सबै संयन्त्र परिचालन गनु जरुरी छ ।”
 
नेपालीको हितमा दूतावास
 
क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुङ्गानाले कोभिड–१९ शुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्बन्धी गतिविधि शुरु गरेको जानकारी दिए । उनका अनुसार महामारीको अवस्थामा पनि दूतावासले सेवाग्राहीलाई दिने सेवालाई थप प्रभावकारी बनाएको र नेपाली समुदायको हितका लागि २४सैँ घण्टा टेलिफोन तथा इमेल सेवा सञ्चालन गरिएको छ । 
 
संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा अर्जुन कार्की महामारीपछि अमेरिकामा रहेका नेपालीप्रति दूतावास चिन्तित रहेको उल्लेख गर्छन् । उनले अमेरिकामा रहेका नेपालको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी दिइएको र विद्यार्थीलगायत नेपाली समुदायमा रहेको मुख्य समस्या पहिचान गरी समाधानको प्रयास गरिएको बताए । सङ्घका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरस प्रभावित ४५ देशमा ९०० भन्दा बढी स्वयंसेवक खटाएर ३० हजारभन्दा बढीले राहत पाएका छन् । 
 
दश हजार युरो राहत सङ्कलन
 
एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार युरोपका विभिन्न देशमा रहेका नेपालीका लागि भनेर कूल १० हजार युरो बराबरको राहत सङ्कलन गरिएको छ । सहकोषाध्यक्ष दाहालले आगामी दिनमा देखिने समस्या समाधानका लागिसमेत आफूहरु प्रयासरत रहेको बताए । कोरोना महामारीले रोजीरोटी खोसिएको छ भने बेरोजगारीको चरम समस्या देखिएको छ । साना व्यवसायीलाई कूल चार हजार युरो बराबरको प्याकेज घोषणा भए पनि ठूला होटल तथा रेष्टुरेन्ट सञ्चालकका लागि भने हालसम्म कुनै राहत प्याकेज घोषणा भएको छैन ।
 
सहकोषाध्यक्ष दाहालका अनुसार ठूला होटल व्यवसाय गर्नेलाई आगामी दिनमा के–कस्तो अवस्था आउला भनेर तत्काल नै भन्न सकिने अवस्था छैन । उहाँले भन्नुभयो, “खाडी मुलुक साइप्रसजस्ता देशमा केही राहत उपलब्ध गराउनेतर्फ लागेका छौँ । साइप्रसमा तीन हजार डलर र खाडी मुलुकमा पाँच हजार डलर सहयोग उपलब्ध गराउने सोचका साथ काम भएको छ ।” तत्कालका लागि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन लागिपरेको उनको भनाइ छ । 
 
विशेषगरी बेलायतमा भूतपूर्व गोरखा सैनिकलाई बढी समस्या परेको छ । वृद्ध उमेरका उनीहरु बढी जोखिममा रहेको पाइएको छ । यस्तै नेपाली समस्या नपर्दासम्म सम्पर्कमा नआउने, आफ्नो स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी नदिने अवस्था पनि रहेको छ । गैरआवासीय नेपाली सङ्घले नेपाली रादूतावाससँग मिलेर काम गरिरहेको जानकारी दिँदै सहकोषाध्यक्ष दाहालले भने, “नङ र मासुको जस्तै सम्बन्ध स्थापित गरेर हामीले काम गरिरहेका छौँ । आगामी दिनमा आउने सङ्कटलाई समाधान गर्नेतर्फ पनि हामीले पहलकदमी लिएका छौँ ।”
 
प्रवेशाज्ञा सकिएकाको हकमा पनि समस्या समाधानका लागि प्रयत्न जारी रहेको छ । व्यक्तिगतरूपमा पनि आपत्विपद्मा परेका नेपालीलाई खुला हृदयका साथ सहयोग गर्नेहरु पनि उत्तिकै छन् । तर, त्यसले मात्रै पुगेको छैन । 
 
विशेषतः घरभाडा र कलेजको शुल्क कसरी तिर्ने भन्नेमा विद्यार्थीलाई बढी समस्या परेको छ । सहकोषाध्यक्ष दाहाल आफैँले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका लागि एक हजार थान मास्क निःशुल्क उपलब्ध गराएका छन् । दाहालले नै गैरआवासीय नेपाली सङ्घ स्पेनलाई पनि एक हजार थान मास्क उपलब्ध गराएका छन् । 
 
दाहालको पहलमा धादिङमा स्वास्थ्य, शिक्षा, खानेपानी र धार्मिक सम्पदाको पुनःनिर्माणलगायत क्षेत्रमा काम भइरहेको छ । उनले चीनबाट आफ्नै व्यक्तिगत खर्चमा सात हजार मास्क खरिद गरेर दाहालले युरोपका नेपालीलाई वितरण गरेका हुन् । उनले बेल्जियमका लागि पाँच हजार थान मास्क उपलब्ध गराएको जानकारी दिए ।