मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कोरोना प्रभाव : अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले खुम्चिने अनुमान

कोरोना प्रभाव : अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले खुम्चिने अनुमान


वासिङ्टन । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म) मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । 
 
अमेरिकी केन्द्रीय बैंकको स्रोतलाई उद्धृत गर्दै वासिङ्टन पोस्टमा प्रकाशित एक विश्लेषणमा कोरोनाभइरसको संक्रमण नियन्त्रण गर्नेक्रममा देशव्यापी लकडाउन र पेशा व्यवसाय बन्द रहेका कारण अर्थतन्त्रमा असर परेको उल्लेख छ । 
 
कोरोनाभाइरसका कारण सन् १९३० को दशकयताकै यो सबैभन्दा ठूलो संकुचन हो । यो संकुचनलाई ठीक ठाउँमा ल्याउन वर्षौं लाग्ने अनुमान गरिएको छ । 
 
जनवरीदेखि मार्च महिनासम्मको अवधिमा अमेरिकी अर्थतन्त्र झण्डै ४.८ प्रतिशतले घटेको छ । अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम एच पावेलले कोरोनाभाइरसका कारण धेरै अमेरिकी घरभित्रै रहनुपर्ने भएकाले अमेरिकाको अर्थतन्त्र दोस्रो चौमासिकमा अरु खराब अवस्थामा पुग्ने संकेत गरेका छन् । 
 
दुई करोड ६० लाखभन्दा बढी अमेरिकीले यसअघि नै रोजगारी गुमाइसकेका छन् भने बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या हरेक दिन बढ्दै गएको छ । बिहीबार बेरोजगारी भत्ताका लागि आवेदन दिनेको नयाँ विवरण पनि सार्वजनिक हुँदैछ । 
 
पावेलले हालको आर्थिक संकटमा सुधार ल्याउन समय लाग्ने बताउँदै अर्थतन्त्रलाई सही मार्गमा ल्याउन कंग्रेस र केन्द्रीय बैंकले पर्याप्त कार्य गर्न नसके अर्थतन्त्रमा निकै जोखिमपूर्ण दीर्घकालीन असर पर्ने जानकारी दिए । 
 
अमेरिकाका धेरै पेशा व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । ग्राहक र आम्दानीको अभावमा हप्तौं टिक्न यी व्यवसायलाई कठिन छ, र आर्थिक मद्दत बेगर यिनीहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछन् । विश्लेषकहरुको भनाइमा दोस्रो चौमासिकमा अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले घट्नेछ ।  
 
नोबेल पुरस्कार विजयी अर्थशास्त्री पल रोमर सबै अमेरिकी नागरिकको कोरोनाभाइरस परीक्षण गर्न अमेरिकी प्रशासनले १०० अर्ब डलर खर्च गर्नुपर्ने बताउँछन् । हालसम्म करिब २ प्रतिशत नागरिकको मात्र परीक्षण गरिएको छ । रोमरले भने, “यो समस्या सुल्झाउन सकिन्छ, र यसका लागि १०० अर्ब डलर खर्चिनुपर्छ । यो कार्य त्यति कठिन होइन ।” एएनआई