विचार / ब्लग

प्रवासी नेपालीको नजरमा नेपाली राजनीति

627 पटक पढिएको

-द्रोण गौतम

27th Apr 2020, Monday | २०७७ बैशाख १५, सोमबार २१:१५
संसार कोरोनाको महामारीले आक्रान्त छ। यसैबीच हाम्रो जन्मभूमि नेपालमा राजनीतिक महामारी चलेको छ। शेरबहादुर देउवाले एकलौटी तरिकाले पार्टी चलाउँदा नेपाली काङ्ग्रेस जस्तो पार्टी अहिले कुन अवस्थामा पुग्यो भन्ने कुरा त भर्खर स्कुल जान सुरु गरेका बच्चालाई पनि थाहा छ। संसद्मा प्रचण्ड बहुमतसहित सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले पनि जनमतको अहंले हो या उनको दम्भले हो पार्टी र सरकार सञ्चालनमा एकाधिकार गरेकाले सरकार गठनको दुई वर्ष पुग्दा नै निकै ठूलो आलोचना खेप्नु परेको छ। समकालीन नेपाली राजनीतिबाट उनले केही शिक्षा लिएजस्तो लागेन। 
 
पार्टीभित्र र क्याबिनेटमा समेत यथेष्ट छलफल नगरीकन ल्याइएको विधेयक जारी भएको चारदिन पनि टिक्न सकेन। देश कोरोनाको कहरमा रुमल्लिरहेको बेला सम्पूर्ण राजनीतिक पार्टीको साथ र सहयोग लिनुपर्ने बेला विपक्षी दललाई फुटाउने अभिप्रायले अध्यादेश ल्याउनु र विपक्षी पार्टी विभाजनका लागि आफ्नै दलका सांसद्हरुलाई परिचालन गर्नु प्रधानमन्त्रीका लागि साह्रै नसुहाउने काम हो। यसअघि नै कतिपय मामिलामा आलोचित सरकारले कुबेलामा ल्याएको अध्यादेशले विपक्षी राजनीतिक दलहरुको मात्र होइन आफ्नै दलका अधिकांश नेता र कार्यकर्ताको  समेत तीव्र आलोचना र विरोध सहनु पर्‍यो । 
 
हाल नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई नियालीरहेका हामीजस्ता प्रवासी नेपालीहरुलाई समेत निकै चिन्तित बनाएको छ। कोरोना महामारीका विरुद्ध देशलाई एकतावद्ध पार्नुपर्ने बेला ‘फुटाउ र राज गर’ भन्ने ढंगले झण्डै दुई तिहाइ बहुमतमा रहेको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीको हर्कत ‘छिः’ भन्न लायककै देखिन्छ। हालैका छुद्र राजनीतिक घटनाक्रममा प्रधानमन्त्री र उनको सल्लाहकार समूहको संलग्नताले प्रधानमन्त्री ओलीको मात्र होइन उनको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समेत छवि धुमिल भएको छ। अझ भनौँ व्यक्तिगतरुपमा केपी ओलीको नैतिक धरातल रसातलमै पुगेको छ। 
 
एकलौटी ढंगले पार्टी र सरकार चलाउँदा आउनसक्ने नकारात्मक नतिजाको आँकलन प्रम ओलीले नगरेकै हुन् त ? उनले यी सबै हर्कत सम्भावित दुष्परिणाम थाहा नपाएरै गरेका हुन् त ?  यदि त्यस्तो हो भने उनलाई देश र पार्टी चलाउनमात्र होइन आगामी दिनमा नेपाली राजनीतिमा समेत स्थान नहुन सक्ने सम्भावना बढेको देखिन्छ। यदि उनले हालैका घृणित राजनीतिक हर्कत जानी जानी गरेका हुन् भने नैतिकरुपमा अब पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाएका छन्।
 
अब कुरा आयो नेपाल सरकारको सम्भावित वैकल्पिक नेतृत्वको। मानौँ केपी ओली सरकारबाट बाहिरिए रे। अब कसले लिने त सत्ताको बागडोर ? सम्भावना भएकामध्ये प्रचण्ड, माधव नेपाल, झलनाथ नै त हुन् । र, अर्को कम सम्भावना बोकेको तर असम्भव पनि नभएको विकल्प भनेको नेकपा फुटेको अवस्थामा मिलिजुली सरकारको नेतृत्व शेरबहादुर वा बाबुरामले समेत गर्न सक्ने परिस्थिति बन्न सक्छ। 
 
केपी ओलीको विकल्प यिनै ‘टेष्टेड’ र लगभग शून्य ‘पर्फर्मेन्स’ भएकाहरु नै हुने हो भने सरकार बदल्न भैरहेका अदृष्य हर्कतहरुले पनि कुनै राम्रो परिणाम ल्याउने देखिन्न। मिडिया र सामाजिक सञ्जालमा सरकारको आलोचना गरेकै भरमा वाहवाही बटुलीरहेका भीम रावल, रामकुमारी झॉक्री वा गगन थापाहरुले सरकारको नेतृत्व पाउने सम्भावना अहिलेलाई छैन। त्यसैले बाँकी अढाई वर्ष त नेपालमा अति देवत्वकरण गरिएका रवि लामिछाने, डा सुरेन्द्र केसी, डा सुन्दरमणि दीक्षित, ज्ञानेन्द्र शाही, रमेश खरेल, खगेन्द्र संग्रौलालगायत हामी विदेशमा बस्नेहरु समेतले आफू केही नगर्ने तर मिडिया र सामाजिक सञ्जालमा अरुलाई गाली गलौज गर्दै कराउने मात्र हो। बाहिर बसेर बोल्नु, अरुको कमजोरी देखाउनु र काम गर्ने ठाउँमा बसेर काम गर्नु धेरै भिन्न कुरा हुन् भन्ने कुरामा हामी विदेशमा बसेकाहरु पनि भुक्तभोगी नै छौँ।
 
त्यसकारण अबको अढाई वर्ष केपी ओली सुध्रिनुपर्छ। उनले पार्टी र सरकार सञ्चालनको तौरतरिका बदल्नुपर्छ। अझ भनौँ, उनले व्यक्तिगत अहं र अधिनायकवादी सोच त्याग्नुपर्छ। विष्णु रिमाल र सूर्य थापाजस्ता आन्तरिक पार्टी राजनीतिमा गुटलाई प्रोत्साहित गर्ने राजनीतिक भाइरसहरुलाई ठेगान लगाउनु पर्छ र सक्षम र प्रोफेसनल व्यक्तिहरु सचिवालयमा नियुक्ति गरिनु पर्दछ। र, मन्त्रिमण्डल पुनर्गठन गरी बिना मगरहरुजस्ता अक्षम मन्त्रीहरु हटाएर जनईच्छाअनुसारको काम गर्नसक्ने वसन्त नेम्वाङजस्ता नयॉ जोश र जॉगर भएका मन्त्री ल्याउनसक्नु पर्दछ। 
 
त्यसैगरी नेपाली काङ्ग्रेसले पनि आगामी महाधिवेशनबाट शेरबहादुरलाई बिदा गरेर गगन थापाजस्ता जुझारु युवा नेतृत्वलाई स्थापित गर्ने साहस गर्नुपर्छ। गाउँगाउँमा गएर संगठन विस्तार गरी नेकपालाई काउन्टर दिन सक्ने हुनुपर्छ। अहिले प्रतिपक्ष धेरै कमजोर भएकोले पनि हो सरकार जनहितका काममा भन्दा अनुचित काम र अनुचित लाभको पछि लागेको। 
 
अब रह्यो देवत्वकरण गरिएकाहरुको वास्तविकता। रेडियो, टिभी, फेसबुक र युट्युबमा नेताहरुलाई तथानाम गाली गर्दैमा केही सुधार हुँदैन। आफू पदमा नहुँदा के के न गर्छुजस्तो लाग्छ अनि जति फलाक्यो, जति नेताहरुलाई गाली गर्‍यो उति नै लाइक र कमेन्ट त बढ्छ तर त्यस्तो लाइकले मात्र देश बन्दैन। अनि बाहिरबाट बोल्न जति सजिलो छ काम गर्न त्यति नै गाह्रो छ जुन कुरा बाबुराम भट्टराईले ८ वटा र रवीन्द्र मिश्रले ३ वटा पार्टी फेरेबाट नै प्रमाणित हुन्छ। एउटा पार्टीमा रहन नसक्ने वा एउटा पार्टी चलाउन नसक्नेले देश चलाउन कदापि सक्दैनन्। त्यसैले अरुलाई गाली गर्नेमात्र होइन, संगठित भएर गाउँगाउँमा गएर जनताको मन जितेर अब अढाई वर्ष पछि हुने आमनिर्वाचनमा नेकपा र काङ्ग्रेसलाई टक्कर दिन सक्नुपर्छ। 
 
यसैगरी आफ्नो जिम्मेवारी कहिल्यै पूरा नगर्ने र अरुलाई दोषमात्र दिने जनता पनि कम जिम्मेवार छैनन्। आफूले फ्रुटी र बिस्कुट खाएर खोल सार्वजनिक ठाउँमा फाल्ने अनि फोटो खिचेर सोसल मिडियामा सरकारले काम गरेन भन्दै आफू भाइरल हुन खोज्ने हामी जनताको मानसिकता पनि परिवर्तन हुन जरुरी छ।
 
आफ्ना कैयन बाध्यताका बीच हामी विदेशमा छौँ। विदेशमा रहनु भनेको नेपाली नहुनु वा नेपालको बारेमा चासो राख्न नपाउनु होइन। विदेशमा भए पनि बिहान आँखा खुलेदेखि राति निदाउने बेलासम्म नेपालकै समसामयिक घटनाक्रमहरुमा ध्यान हुन्छ। नेपालमै हुर्के बढेकोले होला, विदेशको राजनीतिले भन्दा नेपाली राजनीतिक परिघटनाहरुले ध्यान खिचिरहेको हुन्छ। विदेशमा बसेर नेपाली राजनीतिको बारेमा चियोचर्चो गर्‍यो नभन्नु होला। नेपाल दुख्दा हाम्रो छाती पनि चर्कन्छ। किनकि जहाँ भए पनि यो मन त नेपाली नै हो नि !