मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

झापाका ६२ वर्षीय वृद्धमा पनि कोरोना संक्रमण देखियो

झापाका ६२ वर्षीय वृद्धमा पनि कोरोना संक्रमण देखियो


काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित थप एक व्यक्ति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार झापाका ६२ वर्षीय एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो । उनको आइसोलेसनमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएका छन् । नेपालमा योसहित कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमा १० जना निको भई घर फर्किएका छन् ।  
 
यसैबीच, सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको अवस्थामा सिल गरेर परीक्षण गर्ने भएको हो । 
 
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अहिले प्रदेश नं १ र २ मा जोखिम बढेकाले ती क्षेत्रका सङ्क्रमित ठाउँ र अन्य सङ्क्रमित ठाउँलाई सिल गरेर कोरोना भाइरसको परीक्षणको दायरा बढाउने जानकारी दिए । 
 
पछिल्लोपटक उदयपुरमा २८ जनामा कोभिड सङ्क्रमण देखिएको छ । उदयपुरमा त्रियुगा नगरपालिकाको भुल्केमा मन्त्रालयले परीक्षणको दायरा बढाउन विशेष अभियानको सुरुवात गरेको छ ।  
 
“ती प्रदेशका कुन कुन क्षेत्र जोखिममा रहेका छन् । त्यसको पहिचान गर्नका लागि टोली पठाएका छौँ”, उनले भने, “ती टोलीले कुन–कुन क्षेत्रमा बढी जोखिम छ त्यसको निक्यौल गर्ने छन् । अनि ती ठाउँमा परीक्षण गर्ने छौँ ।’
 
उनका अनुसार जोखिम ठाउँमा र विदेशबाट आएका सबैको पोलिमरेज चेन रियाक्सन (पिसिआर) मेसिनबाट परीक्षण गरिने छ । 
 
मन्त्रालयले ठूलो सङ्ख्यामा (मास) मा पनि परीक्षण गर्ने तयारी गरेको छ । मासको परीक्षण गर्नका लागि स्थानीय र प्रदेश सरकारले निर्देशन दिइसकेको छ । 
 
नेपालमा कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्‍यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 
 
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घन्टामा तीन हजार ७९१ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो ।
 
क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म १२ हजार ९८५ छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ८९ जना रहेको छ । काठमाडौँ उपत्यकामा तीन र उपत्यका बाहिर ८६ जना रहेका जानकारी गराइएको छ । त्यसैगरी हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २८७ पुगेको छ ।
 
मन्त्रालयमा सञ्चालनमा रहेका कलसेन्टरमा गत २४ घन्टामा एक हजार ७०८ रहेका र ती सबै कलको सम्बोधन स्वास्थ्यकर्मीबाट भइसकेको पनि मन्त्रालयले जानकारी गरिएको छ । कोरोना भाइरसबारे जानकारी लिनका लागि स्वमूल्यांकन फारम भर्नेको सङ्ख्या २४ हजार ९२६ रहेको छ ।