राजनीति / समाज

कोभिड–१९ ले नेपालमा पारेको मनोवैज्ञानिक असरबारे अनुसन्धान

188 पटक पढिएको

-शरद शर्मा | 20th Apr 2020, Monday | २०७७ बैशाख ८, सोमबार ०८:१५
काठमाडौँ । सरकारले कोभिड–१९ को कारणले सर्वसाधारण र चिकित्सकमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ ले सर्वसाधारण र चिकित्सकको के कस्तो असर परेको छ, सोबारे अनुसन्धान सुरु गरिएको हो । 
 
परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले जनमानसमा नै त्रसित गराउने कोभिड–१९ ले मानिस र बिरामी जाँच गर्ने चिकित्सकलाई असर परेकाले दुवैको मनोवैज्ञानिक असरबारे अध्ययन गरिरहेको जानकारी दिए । उनका अनुसार सर्वसाधारणलाई सामाजिक सञ्जाल र चिकित्सकलाई प्रत्यक्ष भेट गरेर प्रश्नावलीमार्फत अनुसन्धान भइरहेको छ । 
 
बन्दाबन्दी (लकडाउन) मा बसेका, क्वारेन्टाइनमा बसेका, सङ्क्रमित ठाउँमा रहेका सर्वसाधारणलाई सामाजिक सञ्जाल (फेसबुक, भाइवर, ट्वीटर) बाट कोभिड–१९ ले पारेको मनोवैज्ञानिक असरबारे अनुसन्धान गरिहेको परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले बताए । अहिले ती व्यक्तिको तथ्याङ्क सङ्कलनको कार्य सुरु गरिएको छ । 
 
उनका अनुसार ती दुई अनुसन्धानसँगै परिषद्ले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार पद्धतिबारे सात वटा अध्ययन अनुसन्धान पनि गरिरहेको छ । यसका लागि परिषद्बाटै  नै करिब ५० जनाको टोली बनाइएको छ । प्रत्येक विषयको अनुसन्धान गर्नका लागि सात जनाको समूह बनाइएको छ । 
 
अध्ययनले भविष्यमा हुने महामारीमा रोक्नका लागि सहयोग पुर्‍याउने उनको भनाइ रहेको थियो । परिषद्ले सर्वसाधारणले कोरोना भाइरसलाई कसरी लिएका छन् भन्ने पनि अनुसन्धान गरिरहेको छ । महामारीको रुपमा फैलिएको कोरोनाबारे सर्वसाधारणको बुझाइ के हो भन्ने बारेमा पनि अनुसन्धान गरिएको उनले जानकारी दिए । 
 
यसैगरी परिषद्ले कोरोना भाइरसविरुद्ध बन्ने भ्याक्सिन नेपालमा सम्भव छ वा छैन भनेर पनि अध्ययन गर्न थालिएको उनको भनाइ थियो । “विदेशमा बन्ने भ्याक्सिनले नेपालमा प्रयोग गर्न सकिन्छ वा सकिन्न भन्नेमा हामी अनुसन्धान गरिरहेको छौँ”, उनले भने, “अनुसन्धानबाट के निष्कर्ष आउँछ, त्यसैको आधारमा भ्याक्सिन प्रयोग गर्नेछौँ ।”
 
आयुर्वेदिक औषधिको पनि अनुसन्धान
 
परिषद्ले कोभिड–१९ को उपचारमा आयुर्वेदिक औषधि पनि प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन गर्न थालेको छ । परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले आयुर्वेदिक औषधिले पनि कोभिड–१९ को उपचार गर्न सकिन्छ भनेर आयुर्वेदिक औषधिसँग सम्बन्धित जडिबुटी र वनस्पतिको पनि अध्ययन गरिरहेको बताए । 
 
उनका अनुसार बेसार, गुर्जो, वनतोरीलगायत खाद्यान्न र वनस्पतिमा अनुसन्धान गरेर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि भनेर अध्ययन गर्न थालिएको छ । यसैगरी परिषद्ले प्लाज्मा टान्सफ्युजन’ गरेर गर्ने पद्धतिबारे अनुसन्धान गर्ने तयारी गरेको छ । कोभिड–१९ का सङ्क्रमितबाट स्वस्थ्य भइसकेको व्यक्तिबाट रगतमा भएको प्लाज्मा झिकेर सङ्क्रमित बिरामीमा राखेर गरिने उपचार पद्धति हो । 
 
अहिले यो पद्धतिबारे वैज्ञानिकले अनुसन्धान गरेर अपनाउन सकिने बताएका छन् । अहिले मन्त्रालयले ‘प्लाज्मा टान्सफ्युजन’ बारे कार्यविधि बनाइरहेको छ । परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले कार्यविधि बनेपछि ‘प्लाज्मा टान्सफ्युजन’ बारे अनुसन्धान गरिने जानकारी दिए । यसैगरी परिषद्ले सेनिटाइजेसन टनेलले मानिसमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न थालेको छ । 
 
परिषद्ले विदेशबाट फर्केका र सङ्क्रमित नजिक रहेका नातेदार, आफन्तको पनि कन्ट्याक टेसिङ गर्ने कार्य गर्दै आइरहेको छ । अहिलेसम्म ३१ जना सङ्क्रमित र विदेशबाट फर्केर आएका मानिसहरुको कन्ट्याक ट्रेसिङ गरिएको परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले बताए । 
 
उनका अनुसार विदेशबाट आएका व्यक्तिको कागजात अध्ययन गरेर सर्भेलेन्सको कार्य परिषद्ले गर्दै आइरहेको छ । यसैगरी कोभिड अस्पतालको र ज्वरो ९फिवर० क्लिनिकको अवस्थाको बारेमा पनि परिषद्ले अध्ययन गरिरहेको छ । 
 
“अस्पतालमा बिरामी आउनुअघिदेखि उपचार व्यवस्था कस्तो छ भनेर हामीले अध्ययन गरेको छौँ”, उनले भने, “ती अस्पतालले कोभिड–१९ को उपचारका लागि के कति आकस्मिक शैय्या, सघन उपचार कक्ष छन् भनेर हामीले अध्ययन गरेका छौँ ।” रासस