मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कोरोना भाइरस संक्रमण र मृत्युदर बढेको बढ्यै

अमेरिकामा कोरोना भाइरस संक्रमण र मृत्युदर बढेको बढ्यै


जेनेभा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख ३० हजार २९० पुगेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६७ हजार १८९ व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 
 
जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरणअनुसार सोमबार बेलुकीसम्ममा अमेरिकामा ४० हजार ७४३ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार विगत २४ घन्टामा अमेरिकामा मात्र १ हजार ९९७ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि अमेरिकामा १ हजार ८९१ जनाको ज्यान गएको थियो ।
 
अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्या र मृत्युदर दुवैमा अझै कमी आएको छैन । 
 
मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यका गभर्नरहरुले लकडाउन खुकुलो बनाउन पर्याप्त ध्यान नदिएको भन्दै तिखो आलोचना गरेका छन् । बन्दाबन्दीको अवस्था लम्बिएसँगै हजारौँ अमेरिकीहरुले राज्यका आदेशलाई बेवास्ता गर्दै सडकमा उत्रिएका छन् । 
 
वासिङ्टन राज्यमा दुई हजारभन्दा बढी मानिसहरुले सामाजिक दूरी कायम राख्नुपर्ने नियमको बेवास्ता गर्दै राज्यको राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरुले लकडाउन जतिसक्दो चाँडो खोल्न गभर्नरसँग आग्रह गरेका थिए । 
 
डेन्भरमा बन्दाबन्दीको विधि कोविड–१९ भन्दा खराब रहेको प्लकार्ड सहित सहभागीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीका अनुसार बन्दाबन्दीले अमेरिकी अर्थतन्त्रमा ठूलो नोक्सान भएको र २ करोड २० लाख मानिस रोजगारविहीन भएका छन् । 
 
कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा मात्र १८ हजारभन्दा बढीको ज्यान गएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले मृतकको संख्यामा विस्तारै कमी आउन थालेको बताएका छन् । 
 
तर, अमेरिकी राष्ट्रपति ट्रम्प र गभर्नरहरुबीच स्वास्थ्य परीक्षणमा भएको ढिलासुस्तीप्रति आरोप्रत्यारोप पनि जारी छ । गभर्नरहरुले पर्याप्त स्वास्थ्य परीक्षण गर्न नसकिएको गुनासो गरेका छन् भने राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसका नाममा गभर्नरहरुले राजनीति गरिरहेको दोषारोपण गरेका छन् । 
 
ट्रम्पले डेट्रोइट, न्यू अर्लियन्स र ह्युस्टनजस्ता सहरहरुमा कोरोना संक्रमण व्यापक रुपमा घटेको प्रमाणित भइसकेको जनाउँदै “हामी जतिसक्दो चाँडो हाम्रो मुलुकलाई खुला गर्दैछौँ” भने । 
 
अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेनजस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् । 
 
कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटली, स्पेन, फ्रान्स, बेलायत जस्ता समृद्ध मुलुकमा केन्द्रित छ । 
 
नेपाली कामदारको संख्या निकै बढी रहेको कतारमा कोरोनाभाइरसबाट कूल संक्रमित व्यक्तिको संख्या ५ हजार ४४८ पुगेको छ । कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार पछिल्लोपटक ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
कतारमा हालसम्म ८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । कतारमा ६२ हजार ५३८ जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ । सरकारले कतारमा जारी लकडाउनलाई सम्मान गर्न आमजनतालाई आग्रह गरेको छ । एपी / एएफपी (तस्बिर सिएनएन)