विचार / ब्लग

बेफ्वाँकमा बितेको यो समय

994 पटक पढिएको

- रामचन्द्र भट्ट

हिमालयखबर | 19th Apr 2020, Sunday | २०७७ बैशाख ७, आईतवार २०:२२
दुई साता अघिसम्म लाग्थ्यो–‘बिहानभरि फुर्सद हुने हो भने त धेरै काम भ्याउने थिएँ । समय नपाएर तुर्न नसकिएका योजनाहरु पुरा गर्न त पाउथेँ ।’
 
कोरोनाले बिहानको पार्टटाइमको जागिर लग्यो । बाँकी कामहरु पुरा गर्नकै लागि बिहान काम गर्ने कम्पनीले ‘शटडाउन’ गरिदिए पनि हुन्थ्यो भन्ने भावना जागृत भएको थियो । त्यो चाहना पुरा हुन एक महिनै लाग्यो । 
 
कम्पनी तीन महिनालाई शटडाउन गर्नु अघि बैठक हुँदा धेरै सहकर्मीहरुको उदाश मुहार, खिन्न चेहरा, आँखामा त्राश, मनमा भय स्पष्ट देखिन्थ्यो । म लगायत केहीमा भने उत्साह थियो । केही साथीहरुले दुई साता अघिनै छुट्टी लिएर घर बस्न थालिसकेका थिए ।
 
बिहानको कामबाट तीन महिनाका लागि छुट्टी पाएपछि योजना बनाएँ । समाचार लेखनबाट धेरै हराइयो । हप्तामा कमसेकम एउटा खोजमुलक जस्तो समाचार तयार गर्छु । एउटा विचार (लेख) लेख्नेछु । कमसेकम दुई हप्तामा एउटा कथा लेख्छु । सन् २०२० भित्रै एउटा कथासंग्रह निकाल्छु । घर व्यबस्थापनमा गर्नुपर्ने बाँकी कामहरु पनि गर्नेछु । 
 
काठमाडौंबाट राजेन्द्र (पराजुली) दाई बेलाबेलामा घोचिरहनुहुन्छ । जीवनका उपलव्धीहरुको लेखाजोखा गर्दाका बखत सकारात्मक पाटोका रुपमा दाइसँगको सामिप्यतालाई ठानेको छु । साहित्यकारका रुपमा सुपरिचित उहाँ अहिले बाह्रखरी अनलाइनको साहित्य विधा हेर्नुहुन्छ । 
 
काठमाडौंको रैथाने दाईसँगको सामिप्यता नेपाल समाचारपत्रमा कार्यरत रहँदा हो । धेरैका परिभाषामा जागिर बाँच्ने लागि औजारका रुपमा हुन्छन् । तर राजेन्द्र दाई भने जागिर बाँच्नका लागि नभै आफ्नो क्षमता तिखार्ने अवसरका रुपमा लिनुहुन्थ्यो । जहाँ आफ्नो क्षमता उल्टै भुत्ते हुन्थ्यो ती जागिरलाई छोटो समयमै बाई गरेर उहाँ हिँडेका घटनाबाट म थोरबहुत परिचित छु ।
 
‘तिमी हरायौ भाई, यसो लेख्दै गर है’ कमसेकम १५ दिनमा एक पटक फोन गरेर उहाँ मलाई निरन्तर चिमोटी रहनुहुन्छ । मैले कथा लेख्न प्रयास गरेदेखि बेलाबेलामा फोन गरेर उहाँ सल्लाह, सुझाव दिँदै आउनुभएको छ । 
 
कोलोराडोबाट विजय (घिमिरे) दाई पनि उस्तैगरि दबेटीरहनुहुन्छ । ‘त्यही फेसबुकमा लेखेको स्टाटसलाई पनि तथ्यहरु थपेर तन्काउने हो भने त एउटा राम्रो विचारप्रधान विषय हुन्थ्यो नि’ उहाँ भन्नुहुन्छ । फेसबुकमा लेख्नुभन्दा अनलाइनमा लेख्दा छुट्टै गहन हुने उहाँको तर्क हुन्छ । 
 
पेशाले स्वास्थकर्मी । अनि साहित्यतर्फ गहिरो रुची र झुकाव राख्नुहुने भाउजु कमला अधिकारी पनि व्यङ्ग्य गर्दै भन्नुहुन्छ–‘हिजोआज लेख्न छाडियो नि त ? हामीनै कथा लेख्छौ अब ।’ कृया प्रतिकृया दिएर उहाँ पनि मलाई लेखनमा घोचिरहनुहुनेको सूचिमा पर्नुहुन्छ । 
 
जागिर गएपछि गर्छु भनिएका, बीचबीचमा थपिने, आफन्त साथीभाईका लागि गरिदिनुपर्ने कामहरुका चाङ्ग थपिएका छन् । घरको फ्रन्टयार्ड, व्याकयार्डको व्यबस्थापन त्यत्तिकै लठीबज्र छ । 
 
समय नहुँदा के के न गरिभ्याउँथे भन्ने मेरो सोच हिजोआज बिहानभरको समय हुँदा पनि केही गर्न नसकि बितिरहेको छ । बेफ्वाँकमा समय खेर गएको छ । काममा हुँदा टक्क अडिएजस्तो हुने समय हिजोआज बेगले उँडेको जस्तो महसुस हुन्छ । 
 
‘आज कति जना बढेछन् ?’ बिहान उठेर कफीको चुस्कीसँगै श्रीमतीजीको जिज्ञासाको थालनी हुन्छ । 
 
सत्य भनौँ, म हिजोआज कोरोनाका समाचार हेर्दिन । राष्ट्रपति र उहाँको टीमले गर्ने दैनिक पत्रकार सम्मेलन नहेरेको दुई हप्ता जति भैसक्यो । 
 
समाचार हेर्यो, संक्रमित र मृतकको दर माथि चढिरहेको हुन्छ । राष्ट्रपतिका कुरा सुन्यो, यो ठूलो समस्या नै होइन । व्यापार, व्यबसाय त चल्न देउ । छु... गरेको भरमा देश सही बाटोमा आइपुग्छ भनेजस्तो अभिव्यक्ति बाहेक केही हुन्न । हिजोआज टिभीका समाचारले निराशाको खेती गरिरहे जस्तो लाग्छ । रोगले भन्दा पनि हतोत्साही बनाएर, निराश बनाएर, मानसिक कमजोर तुल्याएर, वैराग्यता जगाएर मानिस मार्ने खेती मिडियाबाट भैरहेको जस्तो लाग्न थालेको छ । 
 
भन्नेले भन्लान्–‘उपचारबाट निको भएकाको संख्या हेर्ने हो भने त उत्साहजनकनै छ त ।’ तर संक्रमण, निको, मृत्यु भन्दा यतिखेर विश्वले सुन्न, हेर्न चाहेको रोगको निर्मुलीकरण हो । निर्मुलीकरणका लागि चाहे ट्याबेल बनोस् या क्याप्सुल । झोल बनोस् या भ्याक्सिन । संसारले सुन्न र देख्न चाहेको यो हो । 
 
विश्व स्वास्थ संगठनका कुरा सुन्यो घोर निराशा भन्दा केही जगाउँदैनन् तिनले । संसारलाई सामरिक रुपमा मात्र नभएर आर्थिक, सामाजीक, राजनीतिक रुपमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने अमेरिकी शासकले पनि आश जगाउन सक्दैनन् । यत्रो वर्ष लगाएर अमेरिकाले आर्जन गरेको ख्यातीलाई अझै चुल्याउँदै यो संकटको घडीमा पार लगाउने नेतृत्व अमेरिकालेनै लिइदेओस् भन्ने सारा संसारको आशा छ । हामी अमेरिकामा रहेकाहरू, बाँकी विश्वबाट इमिग्रेन्टका रूपमा बसेकाहरूको अपेक्षा अनुसन्धान, उपचारमा ‘अमेरिकानै पहिलो हुनुपर्छ’ भन्ने छ । 
 
 कोरोनामाथिको विजयको नेतृत्व अरु देशले होइन, अमेरिकाले नै लिनुपर्छ, अमेरिकालनै आशा जगाउनुपर्छ भन्ने ‘स्कुल अफ थट’ को वाहुल्यता छ । 
 
यो पृष्ठभूमिमा डब्ल्यूएचओलाई दिने अनुदान रोकेर, कुनै देशलाई आरोप लगाएर, कसरी रोग अमेरिका प्रवेश गर्यो भनेर वहश गर्ने बेला थिएन यो । 
 
टिभी हेर्यो यी र यस्तै खाले वहशले समय खान थालेको छ । सिएनएन हेर्यो–डोनाल्ड ट्रम्प संसारकै अक्षम हुन् र उनले पार लगाउन सक्दैनन् भन्ने तर्क र ती तर्कलाई पुष्टी गराउँदैमा यो च्यानलको समय बितेको छ । उता फक्सन्यूज हेर्यो–‘ट्रम्प महान हुन् । उनले जे गरेका छन् सबै सही छन् । अमेरिकाका लागि उनले फेरि एकपटक नेतृत्व लिइदिनुपर्छ’ भन्ने तर्क शिवाय आम जनताका कुरा आउँदैनन् । 
 
सिएनएन डा. सञ्जय गुप्ता र फक्सन्यूज डा. मार्क सेगलका वकवासले भरिएका हुन्छन् । कोरोना प्रकोपले जागिर गुमाएकाहरुको कथा व्यथा तिनले बिकाउ ठान्दैनन् । अस्पतालमा जम्मा भएको भीडमा यिनका क्यामरा घुम्दैनन् । स्वास्थकर्मीले दिनरात नभनि उपचारमा खटेको कथाव्यथा यिनका लागि ग्ल्यामरयुक्त छैनन् । 
 
यस्तो लाग्छ, जनस्वास्थको एजेण्डा भन्दा पनि कोरोना चुनावी मुद्धा भएको छ । यसैलाई मुद्धा बनाएर चुनावी मैदानमा यी दुई च्यानल भिडेका छन् । यही कारणले हिजोआज मैले न्यूजच्यानल हेर्नै बन्द गरिदिएँ । यसका साटो समाजद्वारा ‘सी ग्रेड’ भनिएका फिल्म हेरिन्छ बरु । 
 
मन थीर छैन । यताका साथीभाइ इष्टमित्र, नेपालमा परिवार, साथीभाइ, इष्टमित्र, अरू देशमा रहेका इष्टमित्रलाइ फोन गर्दैमा दिन बितिरहेको छ। 
 
 यताको अवस्था हेर्यो पुरै ठप्प नभएपनि हरेक दिन संक्रमित र मृतकको संख्यामा भएको बढोत्तरीले समुदाय आत्तिएको अवस्था छ । 
 
अघिल्लो दिनसम्म काममा देखिएको सहकर्मी भोलीपल्ट डरले देखिदैनन् । ‘ज्यानभन्दा ठूलो केही होइन, कामसाम छाडिन्छ बरु’ धेरै सहकर्मीहरु त्रशीत छन् । ‘स्टेहोम’ भनिएको छ । तर मानिसहरु रमिता हेर्न सडकमा गाडी सहित निस्किएका छन् । 
 
सुरुका केही दिन सुनसान राजमार्गहरु हिजोआज भीडभाड हुन थालेको छ । ‘मर्नुभन्दा बहुलाउनु निको’ भनेझैँ मानिसहरु रोजगारी खोज्न तल्लिन छन् । खोल्ने र बन्द गर्ने, काममा बिदा लिने र काम चाहियो भनेर जुलुश गर्नेभित्र पनि राजनीति छिरेको महसुस जोकोहीले गरिरहेका छन् । 
 
यति संकटको बीच पनि एउटा सकारात्मक पक्षलाई चाहि मान्नैपर्छ । मानिसहरु रोगले मरेका छन्, तर खान नपाएर मरेका छैनन् । अत्यावश्यक सेवाका क्षेत्रमा काम गर्नेले छुट्टी नपाएर परिवार भेट्न पाएका छैनन्, तर सार्वजनिक यातायात रोकिएका कारण ठाउँमा पुग्न नसकेको अवस्था छैन । ट्रेन चलेकै छन्, बस गुडेकै छन्, हवाइजहाजहरु उँडीरहेकै छन् । यस्तो पनि लाग्छ–‘केही भएकै छैन । सब प्रकोपका पछिल्तिर प्रायोजित तवरले लागेका छन् ।’
 
मानिसमा आश छ । सरकारले प्रति करदाता दिएको १२ सय डलर, परिवारको कम्तिमा २४ सयदेखि माथिको रकमले आशा जागृत गराएको छ । सरकार छ भनेर देखाएको छ । 
 
सरकारले सहयोग गरिहाल्छ भनेर रित्ता प्लेनहरु उँडीरहेकै छन् । नियमित तालिकाभन्दा तलमाथि नगरि रेल दौडिरहेकै छन् । घाटा पुरा गर्ने सरकार छँदैछ । 
 
जागिर (काम) गयो त के भयो बेरोजगारमा सूचिकृत भएपछि नियमित पारिश्रमिक जसरी रकम प्राप्त हुन थालिसकेको छ धेरैलाई । त्यसले गर्दा आम मानिसलाई कुनै पर्वाह छैन । सबै चलेकै छन् । यहाँ यस्तो लाग्छ–राष्ट्रपतिदेखि जेनिटरसम्म सबै व्यस्त छन्, आफ्नै धुनमा मस्त छन् । 
 
यति हुँदाहुँदै पनि मैले चाँही गर्छु भनेका, प्रतिवद्धता जनाएका कुनै काम गर्न भ्याएको छैन । पेण्डिङ काम पुरा गर्न छाडौँ गर्नेपर्ने काम पनि भुल्न थालिएछ । यतिसम्म कि इन्टरनेटको महसुल तिर्न भुलेर जरिवाना लगायाँै भनेर इमेल आयो । हत्तनपत्त ‘तिर्न बिर्सेछु, बरु दुई महिनाकै तिरिदिन्छु एकैपटक’ भनेर कस्टमर केयरमा काम गर्नेलाई फकाएँ । अवस्था उस्ले पनि बुझेर जरिवाना हटाइदियो । 
 
एउटा साथीले सर्टमुभीका लागि स्क्रिप्ट मागेको थियो । ‘ल हेरुँला’ भनेको थिएँ । समयमा पुरा त छाडौं सुरुनै गर्न सकिएन । बोल्नै छाडे । 
 
आलमारीमा किताबका थुप्रो लागेका छन् । यहिँ किनेका, एमाजनबाट मगाएका, नेपालदेखि झिकाएका किताबहरु छन् । यो बेला पढिसक्छु भनेर पनि योजना बनाएको थिएँ । 
 
आधा लेखेर रोकिएको कथा अझै अपुरो छ । एउटा लेख लेख्न थाल्यो भने १० पटक फेसबुक र ट्विटरमा ध्यान पुग्छ । लेख्दै गर्दा युटुबको गीततिर मन पुग्छ । अनि त्यतिखेरै श्रीमतीजी आएर फेरि पनि सोध्छिन्–‘के छ ताजा संख्यात्मक विवरण ?’