मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कोरोनाबाट आक्रान्त अमेरिका: के गर्दैछन् नेपाली-अमेरिकन सामाजिक संस्थाहरु?

कोरोनाबाट आक्रान्त अमेरिका: के गर्दैछन् नेपाली-अमेरिकन सामाजिक संस्थाहरु?


हामी प्रत्येक क्षण हारिरहेका छौं र कोरोना भाइरसले जितिरहेको छ। र, हामी त्यही कोरोनाले बाजी मारीरहेको भूमीमा रहेर संक्रमणबाट बच्न पौंठेजोरी खेलिरहेका छौं। मनमा डर र व्यवहारमा साहस बोकेर यी हरफहरु लेखिरहॅदा कोरोनाका अघि निरीह अमेरिकाको ताजा तथ्याॅक देख्दा मन चसक्क हुन्छ र पाॅच लाख साठी हजार भन्दा बढी संक्रमितहरुको सूचिमा अहिलेसम्म आफू नपरेकोमा खुसी हुनु परेको छ।
 
जताततै कोरोनाको मात्र चर्चा छ। संचार माध्यमहरुको ध्यान पनि संक्रमण र मृत्युको संख्या गन्नेमा नै केन्द्रित देखिन्छ। यस आलेखमा कोरोना भाइरसका बारेमा केही तथ्यांकीय विश्लेषण र नेपाली समुदायका अगुवा संस्थाहरुले अमेरिकी-नेपाली समुदायका लागि गरिरहेका स्वंयसेवी प्रकृतिका सह्रानीय कामका बारेमा छलफल गर्ने प्रयास गरिएको छ। निकै असहज परिस्थितिकाबीच नेपाली समुदायलाई सहयोग गर्न अग्रसरहरुका बारेमा चर्चा गर्न खोजिएको छ।
 
कोभिडि-१९ को इपिसेन्टर अमेरिका
विश्वको सबभन्दा ठूलो अर्थतन्त्र भएको सर्वशक्तिमान देश अमेरिका संसार नै ठप्प पारिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमित र मृत्यु हुनेहरुको संख्यामा पनि सबभन्दा अघि छ। यतिखेर अमेरिकाको मात्र होइन संसार भरी कै शक्ति एकातिर हुॅदा पनि कोरोना भाइरस बढी बलशाली देखिएको छ। डिसेम्वरको मध्यतिर चीनमा देखिएको नोभेल कोरोना भाइरसको संक्रमण मार्चको शुरुसम्म चीन मै बढी देखिएको थियो। त्यसपछि बिस्तारै युरोप र अमेरिकातिर फैलन शुरु भएको हो। अमेरिकाको कुरा गर्दा फेब्रुवरी १५ मा १५ जनामा देखिएको संक्रमण एप्रिल १२ मा आइपुग्दा पाॅच लाख ६० हजार नाघि सकेको छ। अमेरिका एक्लै विश्वभरीका करीब १८ लाख ५० हजार संक्रमित मध्ये ३० प्रतिशत संक्रमित रहेको देश भएको छ भने मृत्युहुने एक लाख १३ हजार मध्ये करीब २० प्रतिशत अमेरिका कै छन्।
 
अमेरिकी राज्य न्यूयोर्कमा मात्र एक लाख ९० हजार संक्रमित भैसकेको परिस्थिति छ। एप्रिल महिनाको शुरु देखि अमेरिकामा नयाॅ संक्रमित हुनेहरुको संख्या प्रत्येक दिन ३० हजार भन्दा बढी छ भने झण्डै दुई हजार जतिले दैनिक ज्यान गुमाइरहेको तथ्यांक छ। अमेरिकामा मात्र प्रत्येक घण्टा एकहजार तीनसय बढी नयाॅ संक्रमित थपिइरहेका छन् भने ७५ जना बढीले ज्यान गुमाइरहेका छन्।
 
छिन-छिनमा थपिइरहने नयाॅ संक्रमित र मृतकको संख्या र अत्यावश्यकीय स्वास्थ्य सामग्रीहरुको अभावका समाचारले सबैतिर डर र निराशा छ। प्रत्येक मान्छे त्रासमा बाॅचेको छ, कतिबेला संक्रमित भइने हो कसैलाई पत्ता छैन। अधिकाॅस राज्य र ठूला शहर आंशिक बन्द जस्तै छन् तर अत्यावश्यकीय सेवाका नाममा ठूला ग्रोसरी स्टोरहरु संचालन मै छन्। जहाॅ मान्छेहरुको धुईंचो घटेको छैन। ग्रोसरी स्टोरहरुमा आउने ग्राहकहरु बीच छ फिटको दूरी कायम राख्ने प्रयास थालिएको छ। सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले घर बाहिर जाॅदा मास्क वा मुहार ढाक्ने कपडा प्रयोग गर्न सुझाएको छ। भाइरस संक्रमण रोक्न एप्रिल ३० सम्म उच्च सतर्कताका लागि सबै नागरिकलाई अपील गररिएको छ।
 
संक्रमण नियन्त्रणका लागि निकै कठोर नीति लिएका देशहरुमा त भाइरसको फैलावट रोक्न सजिलो भैरहेको छैन भने कोभिड-१९ को केन्द्रबिन्दु न्यूयोर्कमा अझै सार्वजनिक यातायात संचालन मै छ र अमेरिका भरी ठूला ग्रोसरी स्टोर र कन्स्ट्रक्सन इण्डस्ट्रीहरु चलि नै रहेका छन्। स्वतन्त्रताको चरम प्रयोग गर्न अभ्यस्त अमेरिकीहरुका लागि राज्य सरकारहरु र स्थानीय सरकारहरुले लगाएका खुकुला प्रतिबन्धहरुले पनि भाइरसको प्रसारमा कमी ल्याउन सकेको छैन।
अमेरिकी राष्ट्रपतिले शुरुवाती दिनमा ‘चाइनिज भाइरस’ र साधारण फ्लु हो र त्यसबाट सजिलै पार पाउने भनेर त्यति वास्ता नगरे पनि मार्चको अन्त्यतिर आइपुग्दा भने अमेरिकी प्रशासन कोभिड-१९ बिरुद्द अलि आक्रामक शैलीमा आएको हो। उपराष्ट्रपति माइक पेन्सको संयोजकत्वमा ‘द ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स’ नै बनाएर अहिले अमेरिका युद्धस्तरमा भाइरसको संक्रमण नियन्त्रण र रोकथाममा लागेको छ। डा. एन्थनी फउसी, डा. डेवोरा बर्क्स जस्ता विज्ञहरु दिनरात खटेका छन्। अमेरिकी सरकार अहिले युद्धका बेला कै प्रशासन शैलीमा काम गरिरहेको छ। राष्ट्रपति ट्रम्प प्रत्येक दिन आफैं प्रेस ब्रिफिंगमा आउॅछन् र संघीय सरकारले न्यूयोर्क लगाएतका अति प्रभावित राज्यहरुलाई गरिरहेको सहयोगका विवरण जारी गरिरहेका हुन्छन्। ती बिवरणहरुमा लाखौंको संख्यामा वितरित मास्क, पन्जा लगाएतका सुरक्षा सामग्री र तत्काल उत्पादन शुरु गरिएका महंगा भेन्टिलेटरहरुको वितरण समेत समेटिएका हुन्छन्।पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करीब २८ लाख कोरोना परिक्षण भइसकेको छ। र, दैनिक एक लाख बढी परीक्षण गर्ने क्षमता बनाई सकेको छ। परीक्षणहरुबाट करीब २० प्रतिशतमा संक्रमण देखिएको छ।
 
शुरुमा निकै बढी संक्रमणको जोखिम देखिएका राज्यहरु वाशिंगटन र क्यालिफोर्नियामा अहिले संक्रमण दर घटिरहेको छ र त्यहाॅ पोजिटिभिटी रेट करीब ९ प्रतिशतमा छ भने दक्षिणी राज्य टेक्ससमा पनि परीक्षण भएका एक लाख २४ हजार मध्ये करीब १० प्रतिशतमा संक्रमण देखिएको छ (टेक्सस डिपार्टमेण्ट अफ हेल्थ एण्ड ह्यूमन सर्भिसेज)।
 
शुरुमा राष्ट्रपति ट्रम्पले अमेरिकामा २० लाखसम्म संक्रमण हुनसक्ने र दुईलाखसम्म मान्छे मर्ने अनुमान गरेपनि रोकथाम, नियन्त्रण र उपचारमा भैरहेको युद्धस्तरको प्रयासले ६० हजारसम्म मात्र मान्छेहरु मर्न सक्ने पछिल्लो अनुमान सार्वजनिक भएको छ।
 
स्पेन, इटली, फ्रान्स, जर्मनी र बेलायत युरोपमा सबभन्दा बढी प्रभावित देशहरु हुन्। अमेरिका, बेल्जियम, टर्की, इरान र चीन समेतका १० देशहरुमा मात्र संसार भरका करीब ८० प्रतिशत संक्रमित रहेका छम् भने मृत्यु हुनेहरुमा करीब ८७ प्रतिशत त्यही देशका रहेका छन्।
 
संसार कै आर्थिक राजधानी शहर भनेर चिनिने न्यूयोर्कमा हालसम्म दुईजना नेपालीहरुको मृ्त्यु भएको नेपाली संचार माध्यमहरुले जनाएका छन् भने दर्जनौंमा संक्रमण भएको न्यूयोर्क आसपास कामगर्ने सामाजिक अगुवाहरुले बताइरहेका छन्।
 
इतिहास कै डरलाग्दो बेरोजगारी
 
कोभिड-१९ का कारण हालसालै रोजगरी गुमाएकाहरु करीब एक करोड ८० लाख अमेरिकनहरुले बेरोजगारी भत्ताका लागि आवेदन दिइसकेका छन्। यो संख्या बढेर करीब ४ करोड ७० लाख अर्थात ३२ प्रतिशत सम्म बेरोजगारी दर पुग्ने अनुमान गरिएको छ (सेन्ट लुइस फेड प्रोजेक्सन)। अमेरिकी इतिहास मै यो संख्याको बेरोजगारी यस अघि कहिल्यै देखिएको थिएन। करीब ३.५ प्रतिशतको बेरोजगारी दर कायम राखेको जस लिइरहेका राष्ट्रपति ट्रम्पलाई आगामी राष्ट्रपतीय चुवावमा नकारात्मक असर गर्ने आंकलन गर्न थालिएको छ। अमेरिकामा झण्डै ६ करोड ७० लाख व्यक्तिहरु जुनसुकै बेला रोजगारी गुम्नसक्ने प्रकृतिका काम गर्छन् र हाल जारी कोभिड-१९ महामारीले पनि तिनै कामकाजी समुहका व्यक्तिहरुको रोजगारीलाई बढी प्रभावित पार्ने देखिन्छ।
 
आर्थिक राहत
कोरोना भाइरसका कारण नराम्ररी प्रभावित अमेरिकी अर्थतन्त्र, नागरिक र श्रम बजारलाई राहत दिन दुई खर्ब डलरको राहत प्याकेज ल्याएर भाइरसको डरमा बाॅचिरहेका नागरिक र व्यवसायहरुलाई तत्कालिक राहत दिने प्रयास गरिरहेको ट्रम्प प्रशासनलाई थप राहतको प्याकेज ल्याउन समेत दबाव बढीरहेको छ। निरन्तर उकालो लागिरहेको कोभिड-१९ संक्रमित र मृत्यु हुनेको संख्याको ग्राफले अमेरिकी अर्थतन्त्रको ग्राफ भने ओरालो लाग्ने अवस्थामा पुगेको छ। महामारीको प्रकोप जति बढ्दै जानेछ, सरकारी राहतको जरुरी हुने जनसंख्या पनि बढ्दै जाने निश्चित नै छ। त्यस्तो अवस्थामा सरकारी राहत अझै बढाउनु पर्ने हुन्छ र त्यो संसारकै ठूलो अर्थतन्त्र भएको मुलुकका लागि पनि असहज बन्न सक्ने संभावना बढ्दै छ।
 
के गर्दै छन् नेपाली संघ-संस्थाहरु?
बिपदका बेला आपतमा परेकाहरुलाई सहयोग गर्नु सामाजिक संस्था खोलेर बसेकाहरुको कर्तब्य नै हो। कोभिड-१९ महामारीका बेलामा नेपाली संघसंस्था र यसका अगुवाहरुको सक्रियता निकै सह्रानीय देखिएको छ।
 
गैरआवासीय नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाले कोभिड-१९ बाट प्रभावित नेपाली समुदायलाई सहयोग गर्न निकै संगठित गतिबिधी चलाइरहेको छ। संभवत एनआरएनए अमेरिकाको कामलाई लिएर नेपालीहरुबीच यति सकारात्मक चर्चा यसअघि प्राय सुन्न पाइएको थिएन।
 
हिमालस खबरले एनआरएनएका गतिबिधिहरुका बारेमा चासो राखेपछि अध्यक्ष सुनिल साहले एनआरएनएले अमेरिका भर गरिरहेका गतिबिधीहरुलाई बुॅदागत रुपमा नै जानकारी गराएका छन्। एनआरएनएले अमेरिका भर कोभिड-१९ बाट प्रभावित गैरआवासीय नेपालीहरुलाई आवश्यक सहयोग पुर्याउन गरिने सबै कामहरुको समन्वयका लागि अध्यक्ष साहकै संयोजकत्वमा एक उच्चस्तरीय समन्वय समिति गठन गरेको छ भने पूर्व अध्यक्ष डा. केशव पौडेलको संयोजकत्वमा अन्य नेपाली चिकित्सकहरुको समेत सहभागितामा स्वास्थ्य सहयोग समिति परिचालन गरेको छ। र, सो समितीले दुईपटक कोभिड-१९ का बारेमा भर्च्यूअल अन्तर्क्रिया चलाइसकेको छ। अध्यक्ष साहका अनुसार एनआरएनए अमेरिकाले आफू मातहतका राज्य कमिटी, बिभिन्न समिती, उपसमिति र टास्कफोर्सहरु समेतलाई परिचालन गरेर प्रभावित नेपाली समुदायलाई तत्काल आवश्यक राहत सेवा समेत प्रदान गरेको छ।
 
यसैगरी एनआरएनएले कोभिड-१९ बाट प्रभावितहरुलाई आवश्यक आर्थिक सहयोगका लागि गोफण्डमि एकाउण्ट समेत संचालनमा ल्याएको छ र हालसम्म १३ हजारभन्दा बढी सहयोग जुटिसकेको जानकारी प्राप्त भएको छ। अध्यक्ष शाहका अनुसार हाल कोभिड-१९ बाट सबभन्दा बढी प्रभावित भएका नेपाली विद्यार्थीहरुका लागि सहयोग गर्न गठित एनआरएनए टिमले उनीहरुका लागि खाद्यान्न लगाएतका सहयोग संकलन र वितरणलाई तिब्रता दिएको छ। रोजगारी गुमाएका र तत्काल खान-बस्न समेत असजिलोमा परेका विद्यार्थी लगाएतका नेपालीहरुलाई चामल-दाल लगाएतका सामग्रीहरु वितरणमा समेत एनआरएनएका स्थानीय राज्य कमिटीले अग्रसरता लिएको छ। यसैबीच टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्याल र डालास स्थित सामाजिक अभियन्ता हरिबोल भण्डारी लगाएतको अग्रसरतामा ६० जना भन्दा बढी नेपाली बिद्यार्थीहरुका लागि खाद्य सामग्री बितरण गरिएको जानकारी आएको छ।
 
एनआरएनएले अमेरिकी सरकारबाट घोषित आर्थिक राहतबाट लाभ लिन नेपाली समुदायलाई सहज होस् भनेर नेपाली भाषामा राहत प्याकेजका बारेमा जानकारीमूलक सामग्री समेत तयार पारेर आफ्ना सदस्यहरुलाई सम्प्रेषण गरिरहेको छ। साना व्यवसायीहरुलाई संघीय सरकारले प्रदान गर्ने सहुलियत ऋण र रोजगारी गुमाएकाहरुलाई बेरोजगार भत्ताका लागि कसरी आवेदन दिन सकिन्छ भनेर आवश्यक जानकारी दिन सूचना सामग्री तयार पारिएको अध्यक्ष साहले बताएका छन्। यस अतिरिक्त बिभिन्न दाताहरुबाट संकलित मास्क, पंजा लगाएतका सुरक्षा सामग्रीहरुको वितरणमा पनि एनआरएनए अमेरिकाले समन्वय गरिरहेको छ भने पहिले देखि संचालनमा रहेको हेल्प डेस्कको सक्रियता अझै बढाएको छ।
 
कोभिड्-१९ बाट सबभन्दा बढी प्रभावित राज्य न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीको सक्रियता यसबीचमा निकै प्रशंसित छ। उनले न्यूयोर्कका सबै जसो संघसंस्थाहरुको सहयोग लिएर सहयोग परिचालन गर्ने कार्यको अगुवाई गरिरहेको सूचनाहरु आइरहेका छन्।
यसैगरी एनआरएनए-आइसीसीका सचिव गौरीराज जोशी लगाएतका आइसीसी सदस्यहरुको समेत आर्थिक संकलन र सहयोग वितरणमा सक्रियता देखिएको छ। 
पश्चिम तटीय राज्य क्यालिफोर्नियामा पनि क्षेत्रीय उपाध्यक्ष सर्वज्ञ वाग्ले लगाएतका एनआरएनकर्मीहरुको सक्रियतामा नेपालीहरुलाई सहयोग गर्ने प्रयासहरु भैरहेका छन्। अमेरिकामा नै सबभन्दा पहिले कोभिड-१९ संक्रमण देखिएको राज्य वाशिंगटनमा पनि समाजसेवी मोहन गुरुंग, एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डे लगाएतको सक्रियता रहेको जानकारी प्राप्त भएको छ।
 
न्यूयोर्कमा जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट लगाएतका नेपाली सामाजिक संघसंस्थाका अगुवाहरु सहयोगको आवश्यकता भएका नेपालीहरुलाई खानेकुराको प्रवन्ध गर्ने देखि मास्क र स्यानिटाइजरको व्यवस्थापनमा समेत खटिइरहेको जानकारी प्राप्त भैहेका छन्। अफ्ठ्यारोमा परेका नेपालीहरुको सहयोगार्थ जनसम्पर्क समितिले महासचिव मुनिन्द्र नेम्वांगको संयोजनमा समिति नै बनाएर सहयोग परिचालन गरिरहेको छ भने बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसीले सामाजिक संजाल मार्फत सहयोग परिचालनका लागि अपील गरिरहेका छन्।
 
यसैगरी प्रवासी नेपाली मंचका अगुवाहरुले पनि अफ्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षा सामग्रीहरुको वितरण र परिआएकाहरुलाई आर्थिक सहयोग समेत गरिरहेको मंचका केन्द्रीय सदस्य बिनोद कुईंकेलले बताएका छन्। मंचका अमेरिकाभरी छरिएका सदस्य/सहयोगीहरुलाई परिचालन गरेर सहयोग जुटाउने र आवश्यक परेकालाई तत्काल सहयोग गर्ने गरिएको कुईंकेलले जानकारी गराएका छन्।
 
एम्बुलेन्सको आवाज सुन्दा मनै कटक्क खान्छ
अधिकारवादी संस्था अधिकारकी कार्यक्रम निर्देशक नर्वदा क्षेत्री काम गरेर खानेहरुको आवाज बुलन्द गर्न जहिल्यै सक्रिय रहॅदै आएकी छिन्। उनको सक्रियता यतिबेला कोभिड-१९ बाट प्रभावित न्यूयोर्कका नेपाली लगाएतका कामकाजी समूहका व्यक्तिहरुलाई सहयोग गर्नमा छ। भाइरस संक्रमणको केन्द्र न्यूयोर्कको क्वीन्स क्षेत्र मै बसेर आफ्नो सामाजिक अभियान चलाइरहेकी क्षेत्रीलाई अचेल निरन्तर कुदिरहने एम्वुलेन्सका आवाजले झस्काइरहन्छ। ‘एम्वुलेन्सको आवाजले फेरि को भाइरसको चपेटामा पर्यो भन्ने लाग्छ र मेरो मन कटक्कै खान्छ’, क्षेत्रीले दुखि हुॅदै भनिन्। कतिपय संक्रमित नेपालीहरुले आफ्नो अवस्थाका बारेमा नबताएकाले न्यूयोर्कमा कतिजना नेपालीहरु संक्रमित भएकाछन् भन्ने एकिन संख्या त थाहा हुन सकेको छैन, तर करीब डेढ दर्जन नेपालीहरुलाई आफूले सहयोग गरिरहेको उनले जानकारी गराएकी छिन्। अस्पताल जान नसकेका बिरामी नेपालीहरुलाई फ्लोरिडा बस्ने नेपाली डाक्टरको समेत अनलाइन मार्फत सहयोग लिएर स्वास्थ्य सहयोग गरिएको क्षेत्रीले बताइन्। सार्वजनिक यातायात, ग्रोसरी र रेष्टुरेण्ट लगाएत केही अत्यावश्यकीय काम बन्द नभएको अवस्थामा भाइरस संक्रमण कसरी रोकिन सक्ला र भन्ने प्रश्नमा क्षेत्रीको जवाफ थियो- युरोपका केही देशहरु लगाएत नेपालमा भए जस्तो ‘लकडाउन’ भयो भने त कामकाजी निम्न बर्गीय न्यूयोर्कवासीको जीवन नै ‘क्लकडाउन’ हुन सक्छ।
 
नेपाली राजदूतावासको सक्रियता
अमेरिकामा स्थित नेपाली राजदूतावासले पनि एनआरएनए अमेरिका र यसका स्थानीय च्याप्टरहरु, नेपाली जनसम्पर्क समिति, प्रवासी मंच लगाएतका नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा कोभिड-१९ बाट प्रत्यक्ष प्रभावित नेपालीहरुलाई सहयोग पुर्याउने प्रयास गरिरहेको छ। दूतावासले आपतकालीन सेवाका लागि टेलिफोन र समाजिक संजाल मार्फत चौविसै घण्टा दूतावासमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ भने भिसा लगाएतका समस्या परेका नेपालीहरुलाई आवशयक सहजीकरण गर्ने भनेको छ।
 
ह्यारी भण्डारीको अपील
अमेरिकामा सार्वजनिक पदमा पुग्ने नेपाली-अमेरिकनहरुमा ह्यारी भण्डारीको नाम अग्रस्थानमा छ। मेरिल्याण्ड राज्यसभामा डेमोक्रेटिक पार्टीका तर्फबाट निर्वाचित भण्डारी अमेरिकामा नेपालको राजनीति गरेर रमाइरहनेहरुका लागि राम्रो उदाहरण त हुॅदै हुन्, यस अतिरिक्त अफ्ठ्यारो परेको बेला नेपाली समुदायलाई सहयोग गर्न पनि भण्डारी पछि परेका छैनन्। उनले नेपाली समुदायलाई कोभिड-१९ को संक्रमणबाट सुरक्षित रहन र आवश्यक सहयोगको लागि आफूसंग समन्वय गर्न पनि नेपाली समुदायलाई अपील गरेका छन्।
 
नेपाली संचारकर्मीहरुको सक्रियता
कोभिड-१९ को संक्रमण बढेसंगै अमेरिकामा रहेका नेपाली संचार माध्यम र त्यससंग आबद्ध अधिकाॅस स्वंयसेवी संचारकर्मीहरुको सक्रियता पनि ह्वात्तै बढेको छ। नेपाली संचारकर्मीहरुले छिन-छिनमा गरिरहने समाचार सम्प्रेषण र प्रत्यक्ष प्रशारणहरुले अमेरिकामा रहेका नेपाली समुदायले आफ्नै भाषामा कोभिड-१९ का बारेमा धेरै सूचना र जानकारी त पाएका छन् नै त्यस अतिरिक्त अमेरिकी सरकारले घोषणा गरेको आर्थिक राहत प्याकेजका बारेमा समेत यथेष्ट जानकारी पाउन सकेका छन्। सम्वन्धित विषय विज्ञहरुसंगको सम्वादलाई प्रत्यक्ष प्रशारण गरेर पनि नेपाली संचार माध्यमहरुले यो पाली नेपाली समुदायलाई निकै ठूलो गुण लगाएका छन्। नेपाली अमेरिकन पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकारसंघ (नेजा)को तर्फबाट एनआरएनए न्यूयोर्क च्याप्टरलाई मास्क, ग्लोव्स र ह्याण्ड स्यानिटाइजर लगाएतका सुरक्षा सामग्री उपलब्ध गराएर समेत नेपाली पत्रकारहरुले बिपदमा परेका नेपालीहरुलाई सहयोग गरेको नेजाका कार्यबाहक अध्यक्ष विकास राज न्यौपानेले जानकारी गराएका छन्।
 
कोभिड-१९ बाट प्रभावितहरुका लागि एनएएचको सहयोग अभियान
टेक्ससको दक्षिणी शहर ह्युस्टनमा रहेको नेपालीहरुको प्रमुख संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) पनि कोभिड-१९ बाट प्रभावित भएका वा हुन सक्ने नेपाली समुदायको सहयोगको लागि सक्रिय देखिएको छ। एनएएचले सहयोग अपेक्षा गर्ने र सहयोग गर्न चाहनेहरुको सूचना संकलन गर्न सुरुवात गरेको छ भने एभण्ट ट्याक्सका संस्थापक एवं लेखा सम्वन्धी विज्ञ प्रेम शाहीसंगको सहकार्यमा भर्च्यूअल अन्तरक्रिया समेत गरेको छ। फेसबुक लाइभ मार्फत गरिएको अन्तरक्रियामा अमेरिकी सरकारले हालै घोषणा गरेको आर्थिक राहत प्याकेज र त्यसबाट नेपाली समुदाय, साना व्यवसायहरुले पाउन सक्ने सुविधाका विषयमा निकै सूचनामूलक प्रस्तुति समेटिएको थियो। संयौं नेपाली समुदायका व्यक्तिहरु प्रत्यक्ष जोडिएको अन्तरक्रियामा सिपीए शाहीको प्रस्तुति पश्चात साना व्यवसाय कर्जा, बेरोजगार भत्ता सुविधा, व्यक्तिगत राहत सुविधा, तलब/ पेरोल सुरक्षा कर्जा, ट्याक्स फाइलिंग लगाएतका विषयमा प्रत्यक्ष प्रशारणमा जोडिएका नेपालीहरुले राखेका जिज्ञासाको जवाफ समेत तत्काल दिने प्रवन्ध मिलाइएको थियो।
 
न्यूयोर्क पछि धेरै नेपालीहरुको बसोवास रहेको टेक्ससमा पनि स्थानीय नेपाली संघसंस्था र स्थानीय अगुवाहरुले सहयोगको घोषणा गरेका छन्। नेपाली एशोसियसन अफ ह्युस्टनका उपाध्यक्ष एवं भि-केयर क्लिनिकका कार्यकारी अधिकृत द्रोण गौतमले सहयोग आवशयक पर्ने नेपालीहरुका लागि निशुल्क स्वास्थ्य उपचार समेतका लागि सम्पर्क गर्न अपील गरेका छन्।
 
नेपाली संघसंस्था र त्यसका अगुवाहरुको निस्वार्थ सक्रियताले अमेरिकामा रहेका नेपालीहरुलाई बिपदका बेला एकता हुनु पर्ने सन्देश पनि दिएको छ। राष्ट्रपति ट्रम्पले भने झैं अदृष्य शत्रुका बिरुद्ध हामी सबैको एकिकृत प्रयासले मात्र हामी सुरक्षित रहन सक्छौं। संक्रमणबाट जोगिन सिडिसी र डब्लुएचओका निर्देशनहरु पालना गरौं। परिस्थितिले हामीलाई सामाजिक दूरी कायम राख्न बाध्य पारेको भएपनि आपसी सद्भाव, सहयोग र भाइचारा झन बढाउनु पर्ने भएको छ। र, हामीलाई यो पनि थाहा छ, कोरोना भाइरसले हामी कसैलाई बक्सन्न। बेलायती युवराज चार्ल्स र प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनालाई जितेका छन् र हामीले पनि जित्नै पर्छ। 
 
‪नयाॅ बर्ष २०७७ को शुभकामना। कोरोना भाइरसबाट सुरक्षित रहौं र अरुको सुरक्षाको ख्याल गरौं। सुरक्षित रहन सहयोग गरौं।‬