मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कोरोना भाइरस विकसित मुलुकहरूमा अपेक्षाकृत किन बढी देखिन्छ ?

कोरोना भाइरस विकसित मुलुकहरूमा अपेक्षाकृत किन बढी देखिन्छ ?


चीनबाट सुरू भएको कोरोना अहिले विश्वका लागि टाउको दुखाइ बनेको छ । अझ बेलायत, फ्रान्स, स्पेन, इटली, बेल्जियम जस्ता उन्नत र विकसित युरोपियन राष्ट्र र उता संसारकै सबैभन्दा समृद्ध र शक्तिशाली मानिएको अमेरिकामा सबैभन्दा उच्चतम संख्यामा कोरोनाका संक्रमितहरू बढेको र मृत्यु भएको देखिन्छ । अपेक्षाकृत अविकसित मुलुकहरूमा भन्दा विकसित मुलुकहरूमा यो कीटाणु तीब्र गतिमा फैलनुको कारण के होला ? भन्ने स्वभाविक जिज्ञासा पनि यसैसाथ उत्पन्न भएको छ ।
 
आखिर किन अविकसित मुलुकहरूमा भन्दा विकसित मुलुकहरूमा कोरोनाका संक्रमित र मृत्यु दर बढिरहेको छ त ? यसका केही कारणहरू छन् । यी कारणहरू कुनै शोधमा आधारित वा कुनै वैज्ञानिक प्रयोगशालाद्वारा प्रमाणित नभई आफ्नो अनुभव र ती देशहरूको सामाजिक जनजीवन र रहनसहनका आधारमा लेखिएका हुन् ।
 
पूर्ण पूँजीवाद
अहिले उच्चतम संक्रमित भएका विकसित राष्ट्रहरू पूर्ण पूँजीवादी अर्थतन्त्रमा आधारित रहेका छन् । यसको अर्थ के हो भने यी देशहरूमा मानिसहरूको आवश्यकताको मुख्य पूर्ति उद्योग वा कलकारखानाबाट उत्पादन हुने र यस्ता उद्योग कलकारखानाहरूमा काम गर्ने व्यवसायी, उद्योगी, मजदुर, ढुवानी, गोदाम, बजार र यससँग सम्बन्धित ठूलो वा सानो समूह एकीकृत रूपमा काम गर्नुपर्ने भएकोले संक्रमण सजिलैसँग सर्न सक्ने वातावरण बन्यो । यी देशहरूमा भूमिको व्यवस्थापन पनि साना साना टुक्रामा विभाजन नभई कुनै खास कृषि उद्योग वा कुनै कलकारखाना वा वस्ती विकास वा कुनै निश्चित रूपमा औद्योगिक उत्पादनका रूपमा मात्र हुने भएकोले मानिसहरूबीच आपसी निर्भरताका एउटा ठूलो श्रृंखला नै निर्माण भएको छ । यसको विपरीत अविकसित देशहरूमा भने धेरै जसो व्यक्तिहरू आफ्ना आधारभूत आवश्यकताका पूरा गर्न उत्पादनका लागि आ–आफ्नै निजी जमिन हुने भएकोले सामुहिकभन्दा बढी एकल प्रणाली हुन्छ । यसले गर्दा मानिसहरूबीचको दूरी पनि बढी हुन्छ । जहाँ मानिसहरू समूहमा बढी रहन्छन् र अहिले भनिएको सामाजिक दुरी कायम गर्न कठिन हुन्छ र यही कठिनाइका कारण पनि विकसित देशहरूमा तीब्र गतिमा कोरोना भाइरसको फैलिएको देखिन्छ ।
 
अर्को शब्दमा भन्नुपर्दा कुनै शहरको कुनै एक घरमा अगलागी हुँदा ठूलो संख्यामा घरहरूमा आगलागी सर्ने सम्भावना बढी हुन्छ तर गाउँमा एउटा घरमा आगलागी भयो भने त्यही घर मात्र नस्ट हुन्छ । कोरोनाका संक्रमणलाई पनि यसरी नै बुझे हुन्छ ।
 
सामाजिक परिपाटी
विकसित राष्ट्रहरू विशेष गरी पूँजीवादी राष्ट्रहरू खुला समाजमा आधारित छन् । खुला समाजमा व्यक्तिगत स्वतन्त्रताको हक पनि खुकुलो नै हुन्छ । यस्तो समाजमा व्यक्ति व्यक्तिका बीच सार्वजनिक रूपमा अँगालो हाल्नु, गाला जोड्नु, ओठ जोड्नु, चुम्वन गर्नु अति सामान्य मानिन्छ । यसो गर्दा एउटा रोगी मानिसमा भएको सरूवा रोग सजिलै अर्को व्यक्तिमा सर्न सक्छ र यो प्रक्रिया गुणात्मक रूपमा बढेर जान्छ ।
 
भोजनालयतिर जाँदा र खाँदा पनि चाहे साथीभाइको समूह होस् वा पारिवारिक सदस्यहरू हुन्, जुठो मान्ने वा बार्ने परम्परा अति नै कम हुन्छ । मेरो आफ्नै अनुभव छ– कुनै कम्पनिमा काम गर्दा कम्पनिभित्र कुनै न कुनै बहानामा भइरहने “फुड फेस्टिवल”मा समूहगत भोज चल्दा कसैले कुनै खाद्य पदार्थ खाइनसक्ने अवस्था छ र अर्कोलाई त्यही खानेकुरा मन पर्यो भने अर्कोले खाएको जुठो पनि सजिलै खाइन्छ । अर्थात्, यहाँ जुठो बार्ने चलन त्यति देखिँदैन । यो पनि कोरोना भाइरस सर्ने अर्को सजिलो कारण हो ।
 
सामाजिक दूरीमा कमी
विकसित राष्ट्रहरूमा व्यक्तिहरूबीचका सामाजिक दूरी कम हुन्छ । भन्नलाई एकअर्कोलाई छुनुहुँदैन भने पनि नयाँ चिनजान हुँदा हात मिलाउने, तुरून्तै गला मिलाउने र आफ्नी केटी साथी वा केटा साथीलाई अरूसँग परिचय गराउँदा पनि अँगालो हालेर औपचारिकता बढाउने चलन आम छ । तर हाम्रो जस्तो देशमा यसरी औपचारिक बन्दा नमस्ते गर्ने वा खास दूरीबाट अभिवादन गर्ने चलन रहेकोले निश्चित सामाजिक दूरी कायम रहेकोले पनि यो भाइरस फैलने गति कम भएको हो ।
 
कानुन परिपालना र अनुशासनमा कमी
कानुन परिपालन र अनुशासनको विधि र प्रक्रियाले पनि भाइरस फैलने गति तीब्र हुने वा कम हुने हुन्छ । मैले एक जना चिनिया मुलका अमेरिकीलाई सोधें, “विश्वमा कोरोना यति तीब्र गतिमा फैलिइरहँदा चीनले कसरी यसको फैलावटलाई नियन्त्रण गर्यो ?” उनले जवाफ दिए, “खासमा कुनै पनि मुलुक कानुनद्वारा नै सञ्चालन हुन्छ तर कानुनको परिपालन भनेको सामान्य अवस्थामा मात्र हो । जुन बेला कानुन परिपालन गराउने सामान्य अवस्था रहँदैन, त्यतिबेला सरकारले कानुन होइन, विशेष अनुशासनको आह्वान गर्दछ र नागरिकले त्यसको पालना पनि कानुन सरह नै गरी अनुशासित हुनुपर्दछ । अहिले चीनमा भएको पनि यही हो ।” भन्दै उनले अगाडि भने, “चीनले यो विषय परिस्थितिमा कानुनबाट होइन, लकडाउन घोषणा गर्यो र नागरिकहरूले पनि त्यसको परिपालन अनुशासित रूपमा गरे । लकडाउनपछि सबै जनताहरू होम क्वारेन्टाइनमा निर्देशनअनुसार बसे । त्यसो भएपछि सरकारलाई खाद्यान्न पुर्याउने, कोरोनाको परीक्षण र विरामीको पहिचान गर्न सजिलो भयो । जसको कोरोना परीक्षणको नतिजा पोजिटिभ देखियो, उनीहरूलाई तत्काल आइसोलेसनमा राखेर उपचार गराउने काम भयो भने बाँकी जनतामा यो भाइरस फैलन नै पाएन । जुन बिन्दुमा सरकारले लकडाउनको घोषणा गरी काम सुरू गर्यो, त्योभन्दा अगाडि जेजति क्षति भयो त्यो भयो तर त्यसपछिको अवस्था नियन्त्रण भएर गयो ।”
 
यो सही कुरा हो भन्ने नै देखिन्छ । यसको विपरीत यता अमेरिकामा हेर्यो भने अहिले पनि मानिसहरूमा कानुनको परिपालन गर्ने र सरकारी निर्देशनका खासै वास्ता गरेको देखिँदैन । मानिसहरू आफ्नै गतिमा हिँडिरहेका छन् । यसको कुनै परवाह गरेको देखिँदैन । भोज चलेकै छ, पार्कहरूमा भीड उत्तिकै देखिन्छ । सपिङ मलहरूमा मानिसहरूको भीड लागेकै छ । सामाजिक दुरी यहाँका मानिसहरूका लागि एउटा मजाक बनेको छ र यो कसरी सर्छ भन्ने सूचना पाएर पनि यहाँका मानिसहरू सचेत देखिँदैनन् ।
 
सचेतनामा कमी
विकसित देशका नागरिकहरू सचेत हुन्छन् भन्ने कुरामा पनि विश्वासिलो कारण देखिँदैन । अघिल्लो बूँदामा व्याख्या गरिएको कुरामा मानिसहरूले वेवास्ता गर्नुको अर्थ सचेतनामा कमी नै हो भन्न सकिन्छ । सामाजिक दुरी कायम गर्ने कुरामा धैर्यता नहुनु, त्यसलाई अटेर गर्नु, यसबाट कोरोना भाइरस सर्छ भन्ने कुरामा ध्यान नदिनु सचेतनामा कमी हुनु नै हो ।
 
मानिसहरूलाई हातमा “ग्लोभ” लगाउन भनिएको छ तर धेरै मानिसहरूले लगाएको देखिँदैन । अझ आश्चर्यलाग्दो कुरा त के छ भने मानिसहरूलाई सम्भव भएसम्म माक्स लगाउन भने पनि माक्स कसरी लगाउने ? भन्ने कुरामा अधिकांश मानिसहरू सचेत छैनन् । माक्स लगाउनुको उद्देश्य नाक र मुखबाट संक्रमण अरूबाट पनि नसरोस् र आफूबाट पनि अरूलाई नसरोस् भन्ने हो तर थोरैले माक्स लगाएका छन् जसमध्ये धेरैले चाहिँ माक्स कि त चिउँडोमुनी वा मुखमात्र छोप्ने गरी नाकमुनी बाँधेका छन् । उनीहरूले माक्स लगाइसकेपछि चलाउनु वा छुनु हुँदैन भन्ने कुरा थाहा पाए पनि किन त्यसो गर्नु हुँदैन ? भन्ने प्रश्नको उत्तरमा बेखवर छन् । माक्स चलाउनै परे हात सफा गर्नुपर्छ वा हात स्यानिटाइज गर्नुपर्छ भन्ने कुरा त धेरै टाढाको कुरा भयो, उनीहरूले लगाएको माक्स नाक र मुखको भागमा चलाउँदा चलाउँदै बाहिरबाट देखिने गरी मैलो भइसकेको हुन्छ । यसबाट उनीहरूले लगाएको माक्सले भाइरस छेक्ने होइन, उनीहरूले पटक पटक हातले माक्स चलाउँदा भाइरस नाक र मुखको माध्यमले उनीहरूको शरीरभित्र छिर्न सक्ने सजिलो माध्यम बन्न सक्ने देखिन्छ । यति सामान्य कुरामा पनि ध्यान नदिनु वा वेवास्ता गर्नु भनेको सचेतनाको कमी नै हो ।
 
अरू पनि धेरै कारणहरू छन् । अहिलेलाई यति, बाँकी पछि लेख्दै गरौंला ।