राजनीति / समाज

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

58 पटक पढिएको

9th Apr 2020, Thursday | २०७६ चैत्र २७, बिहीवार ०७:१५
काठमाडौँ । काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कुनै निर्णय नभएको जनाएका हुन् ।  
 
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार (यही चैत २८/२९ गते) काठमाडौँ प्रवेश गर्न नपाइने तर काठमाडौँबाट बाहिर जान खुला गर्ने कुनै पनि निर्णय नभएको जनाएको छ । 
 
यस्तै, समितिका संयोजक ईश्वर पोखरलले बिहीबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएका समाचारमा कुनै पनि सत्यता नभएको उल्लेख छ । “यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु”, विज्ञप्तिमा भनिएको छ ।
 
विज्ञप्तिमा सार्वजनिक सञ्चारमाध्यम खासगरी सामाजिक सञ्जालमा आइरहेका सन्दर्भमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खुला गर्ने विषयमा किसिमको कुनै निर्णय नभएको र सङ्क्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी लकडाउनलाई जारी राखिएको बताइएको छ । 
 
“प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीररूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ”, विज्ञप्तिमा भनिएको छ, “यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकले पनि त्यत्तिकै महत्त्वका साथ लिनुपर्ने आवश्यकता छ ।”
 
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन् । 
 
सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पारेका हुन् ।  ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वाभाविक भएको उनले बताए । 
 
आफूले पनि सञ्चारमाध्यमबाट सयौँ किलोमिटर हिँडेरै घर जान लागेको जानकारी पाइरहेको उनले बताए । उनले भने, “आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुनेछ ।” रासस