मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनमा कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा मौनधारण

चीनमा कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा मौनधारण


बेइजिङ । चीनमा कोरोनाभाइरस (कोभिड–१९) का कारण निधन भएकाहरुको सम्झना गर्दै शनिबार राष्ट्रिय शोक कार्यक्रमको आयोजना गरिएको छ । कोरोनाभाइरसका कारण ज्यान गुमाएकाको स्मृति गर्दै उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न देशभर तीन मिनेट मौनधारण गरिएको हो ।
 
चीनले हरेक वर्ष अप्रिल ४ लाई स्वर्गीयजनको सम्झना गर्ने परम्परागत छिङमिङ पर्वमा देशभर विभिन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको स्मरण रहँदै आएकोमा यस वर्ष वुहानलगायत देशका विभिन्न भागमा कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने नागरिक, स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा रहेर काम गर्ने क्रममा ज्यान गुमाउने व्यक्तिप्रति पनि सम्मान गरिएको हो ।
 
चीनमा कोरोना भाइरसका कारण ३३२६ जनाको मृत्यु भएको छ भने ८१ हजार ६३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ७६ हजार ७५५ जना निको भएर घर फर्किसकेका छन् । मुख्यभूमि चीनमा विगत २४ घन्टामा नयाँ सङ्क्रमितको सङ्ख्या १९ रहेको छ भने चार जनाको मृत्यु भएको छ ।  उनीहरु सबैको स्मृति दिवस शनिबार रहेको थियो ।
 
स्थानीय समयअनुसार शनिबार बिहान १० बजे चीनभर सर्वसाधारणहरु उभिएर तीन मिनेट मौनधारण गरेका छन् । गन्तव्यमा रहेका यातायातका साधन कार, रेल तथा पानीजहाजहरुले साइरन बजाएर मृतकप्रति श्रद्धा व्यक्त गरेका थिए । 
 
कोरोनाभाइरसका साथै अन्य विपत्तिमा ज्यान गुमाएका नागरिकको सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा चिनियाँहरूले कतिपय स्थानमा समूहमा भेला भई राष्ट्रिय झण्डामुनि छातिमा सेतो फूल टाँसेर मृतात्माप्रति श्रद्धा पनि व्यक्त गरेका थिए ।
मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागिता रहेको थियो । 
 
मौनधारण कार्यक्रम चीन बाहिर रहेका कूटनीतिक निकायहरुमा समेत गरिएको थियो । यस कार्यक्रममा करौडौँ व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ । 
 
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबे प्रान्तको उहान सहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा १४ जना स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन् । श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने नौलो संक्रमण फैलिएको पत्ता लगाउने चिकिसक लि बेन्लियाङको पनि सोही संक्रमणका कारण मृत्यु भएको थियो । उनलाई शनिबार शहीद घोषणा गरिएको छ । एएनआई / तस्बिर: सिन्ह्वा