मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विज्ञको सुझावअनुसार कोभिड–१९ रोकथाम गर्दैछौँ : स्वास्थ्यमन्त्री

विज्ञको सुझावअनुसार कोभिड–१९ रोकथाम गर्दैछौँ : स्वास्थ्यमन्त्री


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन् । 
 
जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उनले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताए । 
 
कोभिड–१९ को रोकथाम र नियन्त्रणको सरकारी प्रयासमा नागरिकको महत्त्वपूर्ण साथ रहेको भन्दै उनले चिकित्सक र स्वास्थ्यकर्मी दिएको साथको प्रशंसा गरे । 
 
मन्त्री ढकालले कोभिड–१९ का विरूद्ध नेपालले गरेको तयारीका बारेमा बिहीबार आफूले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एशियाली राष्ट्रहरुको संगठनका सदस्य राष्ट्रबीच छलफल भएकोसमेत उल्लेख गरेको जानकारी गराए । 
 
उनले अहिलेसम्म विदेशबाट आएका व्यक्तिभन्दा बाहेकमा कोभिड–१९ नदेखिएको भन्दै ती व्यक्तिबाट अरूमा कोरोना सर्न नदिनका लागि काम भइरहेको बताए । 
 
उनले नेपाल र भारतको सीमामा रहेका नागरिकका लागि दुवै देशले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने विषयमा पनि काम भइरहेको जानकारी दिए । 
 
छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइरालाले अर्बौं खर्च गरेर पनि हजारौँ मर्ने कि भोकै बसेर बाँच्ने भन्ने सन्दर्भमा नागरिकलाई सचेत गराउनुपर्ने बताए । 
 
उनले कोभिड–१९ को नमूना परीक्षण कम्तीमा दैनिक एक हजार जनाको गर्ने गरी अघि बढ्नुपर्ने बताए । उनले लकडाउनको समय लम्ब्याउनुपर्ने धारणा राखे । 
 
जनस्वास्थ्य विज्ञ डा अर्जुन कार्कीले जनस्वास्थ्यका दृष्टिकोणले सरकारले गरिरहेको काम राम्रो भएको भन्दै कोभिड–१९ संसारकै लागि नौलो भएकाले वैज्ञानिकसमेत अन्योलमा रहेको बताए । 
 
उनले कोभिड–१९ सङ्क्रमितमध्ये ८० प्रतिशतमा सामान्यमात्र लक्षण देखिएको भन्दै गम्भीर बनेर सामना गर्नुपर्ने बताए । छलफलमा मन्त्रालयका सचिव यादव कोइराला, प्रा डा शरद वन्त, डा दीपेन्द्ररमण सिंह, डा प्रदीप वैद्य, डा केदारप्रसाद बराललगायत विज्ञको उपस्थिति रहेको थियो ।