मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कोरोनाले सिकाएको पाठ

कोरोनाले सिकाएको पाठ


चीनबाट उत्पन्न भएको प्राणघातक कोभिड–१९ अर्थात् कोरोना भाइरसले पूरै विश्वलाई तहसनहस बनाएको छ । आफूलाई शक्तिशाली ठान्ने सम्पन्न मुलुकहरूमा नै यसले प्रकोपको ताण्डव बढी मच्चाएको छ । यस भाइरसलाई बैज्ञानिकहरूले अन्य भाइरसभन्दा कमजोर मानेका छन् यद्यपि यसको फैलने रफ्तार भने बुलेट ट्रेनको गतिमा रहेको बताइन्छ । विकसित भनिने मुलुकहरूले पनि नियन्त्रण गर्न मुस्किल भएको यस भाइरसको सङ्क्रमण गतिलाई रोक्न साना विकासोन्मुख र अझ अविकसित मुलकका लागि त झनै हम्मेहम्मे हुने नै भयो । यति हुँदाहुँदै पनि समयमा सचेतता अपनाउन सकेको खण्डमा यसको नियन्त्रण र समाधान सम्भव छ भन्ने कुरा चीनले प्रमाणित गरिदिएको छ । अचानक यस भाइरसको सामना गर्नुपरेको चीनले सुरुमा यस भाइरसको प्रकृतिसँग परिचित हुनै समय लागेको परिस्थितिमा पनि दुई महिनाभित्र यसको सङ्क्रमणलाई पूर्णविराम लगाउन सफल भएको छ । उसले अपनाएको प्रक्रिया अवलम्बन गरेर यसको प्रकोप नियन्त्रण गर्न अन्य मुलुकहरूलाई सहज भएको छ र तयारीका लागि समय पनि मिलेको छ । यस अवसरको भरपूर फाइदा उठाउन आज हाम्रो देश पनि प्रयत्नरत छ । 
 
यस्ताखाले समस्याहरू अचानक नै आउने गर्दछन् । विश्वका विभिन्न ठाउँमा बेलाबखत विभिन्न किसिमका भाइरस प्रकोपहरू देखापर्दै आएको हामी पाउँछौँ । हरेक पटक भिन्न प्रकृतिका भाइरसको प्रकोप देखापर्ने भएको कारण त्यसको निदान गर्ने औषधिको आविस्कार गर्नु बैज्ञानिकहरूकालागि चुनौतीको विषय बनेको छ । तथापि प्रकोपको तत्काल नियन्त्रण र समाधान गर्न कुनै न कुनै उपाय अवलम्वन गरिँदै आएको हामी पाउँछौँ । संसारमा हालै मात्र देखापरेको कोभिड–१९ (कोरोना) भाइरसको प्रकोप नियन्त्रणका लागि सुरुमा चीनले अवलम्वन गरेको लकडाउनको नीति नै सबैभन्दा बढी प्रभावकारी भएको देखिन्छ । यसै प्रक्रियाबाट नै चीन कोरोनामुक्त बन्न सफल भएको छ । यसर्थ विश्वले यस उपायको अवलम्वन गर्दै आएको छ । 
 
कोभिड–१९ भाइरस आफैँमा प्राणघातक भाइरस हो । यद्यपि यसलाई अरु भाइरसको तुलनामा कमजोर भाइरस भनिएको छ । सायद यसैले होला रोग प्रतिरोधात्मक क्षमता मजबुत भएको मानिस यस भाइरसको प्रकोपबाट पनि बच्न सफल भएको कुरा यो भाइरस संक्रमित भएकामध्ये झण्डै ९५ प्रतिशत मानिसहरू निको भएर फर्किने गरेको तथ्यबाट पनि प्रमाणित भएको छ । तथापि यसबाट जोगिनु नै पहिलो प्राथमिकता हो मानिसका लागि । चीनमा यो भाइरसको प्रकोप देखापर्दा तेस्रो विश्वले यसलाई चीनको मात्र पेवा समस्याका रूपमा परिभाषित गर्दै रमिते बनेर हेरिरह्यो।  यातायातका अत्याधुनिक साधनहरूले विश्वलाई एउटै गाउँमा परिणत गरिरहेको बेला उक्त समस्या आफ्नो देशमा पनि भित्रिन सक्छ भन्ने कुरालाई उनीहरूले बेवास्ता गरिरहे । फलश्वरूप ती शक्तिराष्ट्रहरू नै आज चीनभन्दा बढी तवाह बन्न पुगेका छन् । 
 
कुनै पनि समस्या समाधानरहित हुँदैन । समस्याले समाधान पनि सँगसँगै लिएर आएको हुन्छ । आशा गरौँ बैज्ञानिकहरू यसको निदान गर्ने प्रभावकारी औषधी पत्ता लगाउन सफल हुने छन् । कुनै पनि घटना चाहे त्यो सकारात्मक होस् या नकारात्मक त्यसले मानिसलाई केही न केही सकारात्मक पाठ भने सिकाउने गर्दछ । कोभिड–१९ (कोरोना) भाइरसले पनि विश्वमानव समुदायलाई नै निरीह बनाउँदै तहल्का मच्चाएको छ । यसको नकारात्मक पाटो त भयावह छँदै छ तर यसले मानव समुदायलाई केही सकारात्मक पाठ पनि सिकाएको छ । जो यसप्रकार छः
 
१. सरसफाईको पाठः ‘दीसा धोएपछि साबुन–पानीले राम्रोसँग हात धोऔँ’ भन्ने सन्देश प्रसारण गर्नुपर्ने र खुल्ला दीसामुक्त क्षेत्र घोषणालाई ठुलै उपलब्धी मान्नुपर्ने हाम्रो जस्तो मुलुकमा ‘खाना खानुभन्दा अघि वा अनुहारमा हात लानुभन्दा अघि साबुन पानीले राम्ररी हात धोऔँ, नत्र हामीलाई रोगको सङ्क्रमण हुन्छ’ भन्ने सन्देश कोरोनाले दिएको छ ।
 
२. निश्चित दुरी कायम राख्ने पाठः  अहिले कोरोना सङ्क्रमण रोक्नका लागि कम्तिमा एक मिटरको शारीरिक दूरी कायम राख्ने सल्लाह स्वास्थ्यविद्हरूले दिएका छन् । यसरी निश्चित शारीरिक दूरी कायम राख्दा भाइरस तथा ब्याक्टेरियाजस्ता किटाणुहरूबाट बच्न सकिने कुराले मानिसहरू बिच मानसिक रूपमा पनि यसैगरी निश्चित दूरी कायम राख्न सकेमा यसले मानिस–मानिसबिचको सौहाद्र्रता, मित्रतामा अझ बढी स्थायित्व र हार्दिकता थपिने कुरालाई पनि सङ्केत गर्दछ ।
 
३. बाँचौँ र बचाऊँको सिद्घान्तको स्थापनः ‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ, म बाँचूँ मै नाचूँ अरु अब मरुन् दुर्वलहरू’ भन्ने स्वार्थी मानवहरूका पनि आँखा खोलिदिएको छ कोरोनाले । कोरोना आतङ्कबाट बच्न केवल आफू मात्र सुरक्षित भएर वा बाँचेर नहुने रहेछ, आफू बाँच्न अरु पनि बाँच्नु आवश्यक रहेछ भन्ने कुरालाई यसले राम्ररी स्थापित गरिदिएको छ । यस कुरालाई मानिसले जीवनको मूल मन्त्रका रूपमा अङ्गिकार गर्नुपर्ने कुरा सर्वमान्य बन्न पुगेको छ ।
 
४. सरकारको सही निर्देशनको पालना गर्नः सरकार भन्नु जनतामाथि शासन गर्नलाई होइन जनहितका लागि हो भन्ने मान्यतालाई कोरोना आतङ्कले स्थापित गरिदिएको छ । कोरोना आतङ्कबाट जनतालाई बचाउन हाम्रो मात्र होइन जुनसुकै देशको सरकारले पनि चालेका उपयोगी कदम र उसले जारी गरेका निर्देशनहरू जनताकै लागि हो भन्ने कुरालाई आत्मसात गर्नु आजको आवस्यकता हो । यस कुरालाई पनि यही कोरोना आतङ्कले स्थापित गरिदिएको छ ।
 
५. आवस्यक सतर्कताको अभ्यासः कुनै पनि प्रतिकुल परिस्थितिमा सतर्कताको कति महत्व रहेछ भन्ने कुराको राम्रो पाठ कोरोना आतङ्कले सिकाएको छ । चीनमा कोरोनाले तहल्का मच्चाइरहेको बेला यो चीनको मात्र समस्या हो, हामीलाई त यसले केही छुनेवाला छैन भनेर सुरुमा हेल्चेक्र्याइँ गर्नाले इटाली, स्पेन र अमेरिका लगायतका विकसित भनिने मुलुकहरूले आज भोग्नुपरेको कठिनताले मानिसलाई समयमै आवश्यक सतर्कता अपनाउनुपर्ने पाठ पढाएको छ । त्यसै कारण अन्य मुलुकहरूले सतर्कताको यस पाठलाई राम्रोसँग मनन गरेको पाइन्छ । 
 
६. आत्मबल निर्माण गर्ने पाठः आत्मबल नै प्रतिकुलताको सामना गर्ने सबैभन्दा ठुलो हतियार हो भन्ने कुरा कोरोना आतङ्कले सिकाएको अर्को पाठ हो । कमजोर आत्मबल भएका मानिसलाई मानिसले त हेप्छ नै रोगले पनि त्यसैगरी हेप्छ भन्ने कुरा यसअघि पनि स्थापित भएको विषय हो । तथापि यस कुरालाई यस कोरोना आतङ्कले अझ राम्रोसँग र प्रामाणिक रूपमा स्थापित गराएको छ ।
 
७. पारस्परिक सहयोगको आवस्यकता वोधः स्वार्थी प्रवृत्तिका कतिपय मानिसहरूलाई पनि विपत्तिका बेलामा एक–अर्काको सहयोग आवश्यक रहेछ भन्ने कुरालाई कोरोना आतङ्कले महसुस गराएको छ । यतिसम्म कि आफूलाई विश्वकै हिरो ठान्ने अमेरिका पनि आज कोरोना आतङ्ककै कारण अन्य मुलुकसँग सहयोगको याचना गर्ने अवस्थामा पुगेको छ । खासगरी चीनलाई दुस्मन ठान्ने अमेरिका अहिले त्यही चीनसँग सहयोगको अपेक्षा गरिरहेको अवस्था छ । यो कुरा व्यक्ति–व्यक्तिमा पनि उत्तिकै लागू भएको पाइन्छ ।
 
८. समयमा आवस्यक सतर्कता अपनाउने पाठः चीनमा कोरोना सङ्क्रमणले तहल्का मच्चाइरहेको बेला तेस्रो विश्व यसलाई चीनियाँ भाइरस भनेर आपूmहरूलाई यसले केही नगर्ने भनी रमिते बनिरहेका थिए । अत्याधुनिक यातायातका साधनले गर्दा विश्वलाई नै एउटा गाउँमा परिणत गरिरहेको र एक देशमा फैलिएको सङ्क्रमण अर्को देशमा पनि जान्छ भन्ने कुरालाई बेवास्ता गर्दै गर्दा आज विश्वका शक्तिशाली र विकसित भनिने मुलुकहरू नै कोरोना सङ्क्रमणबाट ग्रस्त भई निरीह बनिरहेको दृष्य हामी देखिरहेका छौँ । एकाएक आफ्नो देशमा पनि कोरोनाको सङ्क्रमण डढेलोझैँ सल्किन थालेपछि आत्तिएका ती राष्ट्रहरू अहिले आफ्नै लापर्वाहीप्रतिको पश्चात्तापले जलिरहेका छन् । त्यसैगरी मलाई त केही हुँदैन, अरुलाई मात्र कोरोनाले छुन्छ भन्ने गलत सोचले ग्रसित मानिसहरूका कारणले आज यो सङ्क्रमणले फैलिने मौका पाएको हो । समयमा सतर्कता नअपनाए त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने रहेछ भन्ने पाठ कोरोनाले सिकाएकै हो । 
 
९. विषम परिस्थितिको सामना गर्ने तत्परताको पाठ ः ‘दशा बाजा बजाएर आउँदैन’ भन्ने नेपाली उखान जस्तै कुनै पनि विषम परिस्थिति पूर्व सूचना दिएर आउँदैन । भाइरस, भूकम्प, हैजा जस्ता प्रकोपहरू एक्कासी नै आउने हुन् । यस्तो परिस्थितिमा धैर्यता नगुमाइकन सावधानीपूर्वक सम्भावित उपायहरूको अवलम्वन गरी परिस्थितिको सामना गर्न तत्परता देखाउनु नै बुद्घिमानी हुन्छ । परिस्थितिले मानिसलाई त्यसो गर्न वाध्य र प्रेरित गराउने गर्दछ । विगतमा आएको भूकम्पजस्तै यस कोभिड–१९ (कोरोना) भाइरसले पनि एकतावद्घ भएर विषम परिस्थितिका विरुद्घ जुध्नुपर्ने पाठ सिकाएको छ । 
 
१०. सानो लापरवाहीबाट उत्पन्न हुन सक्ने हानीको आँकलन गर्ने पाठ : माथि वर्णन गरिएजस्तै विपत्ति आउनु र त्यसप्रति संवेदनशील बनी समय छँदै आवश्यक सतर्कता नअपनाइएमा त्यसले पु¥याउन सक्ने हानीको आँकलन गर्न नसक्दा त्यसले पार्ने असर कति नकारात्मक र भयावह हुन्छ भन्ने उदाहरण सहित कोरोना काण्डले नयाँ पाठ सिकाएको छ । 
 
११. राष्ट्रिय विपत्तिमा सामुहिक प्रतिबद्घताको आवस्यकता वोध : बिपत्तिको अवस्थामा पारस्परिक सहयोगको सामूहिक प्रतिबद्घता नै त्यस्तो विपत्तिबाट मुक्ति पाउने उपयुक्त विकल्प हो भन्ने कुरालाई आत्मसात गर्न कोरोना आतङ्कले राम्ररी पाठ सिकाएको छ । 
 
१२. मौकामा हिरा फोर्न सक्नुपर्ने कुराको वोधः भनिन्छ, आवस्यक परेको बेला हिरा फोर्न सक्नुपर्छ । त्यस्तो बेलामा खर्च गरेर बाँकी रहेको सम्पत्ति मात्र वास्तविक सम्पत्ति हो । यसै आदर्शलाई आत्मसात गरी विभिन्न मनकारी व्यक्तित्वहरूले राष्ट्र र जनताका लागि सहयोगको हात बढाउने गरेका छन् । उनीहरूको अमूल्य सहयोग विपत्तिबाट राहत पाउनका लागि सञ्जीवनी बन्न सक्छ । यस्तै विभिन्न विपत्तिहरूमध्ये कोरोना आतङ्क पनि एक हो ।   
 
१३. मानवीयताको उद्बोधनः स्वार्थी मानिसहरू पनि राष्ट्रिय विपत्तिको बेलामा मानवीयताको प्रदर्शन गर्न अघि सर्ने गरेको उदाहरण हामी देख्न सक्छौँ । एकअर्काको सहयोग बिना यस्ताखाले बिपत्तिबाट बच्न कठिन हुन्छ भन्ने कुराको महसुस यस्तै विपत्तिहरूले नै गराउने गरेका छन् ।
 
१४. समानताको सिद्घान्तको प्रतिस्थापन ः विपत्तिले ठुलो सानो, धनी गरीब कसैलाई पनि चिन्दैन । विगतको महाभूकम्पले पनि ठुला साना, धनी गरीब सबैलाई एउटै पालमुनी सुत्न वाध्य बनाएकै हो । त्यसैगरी कोरोनाको सन्त्रासले पनि ती सबैलाई उत्तिकै त्रसित र ग्रसित बनाएको छ । यसले म ठुलो, तँ सानो, म धनी तँ गरीब, म ठुलो पदको तँ सानो पदको आदिजस्ता कुरालाई गौण बनाएको छ । यसरी मानव–मानवबिच समानताको सिद्घान्तलाई स्थापित गराएको छ । 
 
१५. विश्व एउटै परिवारः चीनमा कोरोना सङ्क्रमणको डढेलो सल्किरहेको बेला रमिते बनेको तेस्रो विश्व स्वयम् प्रताडित भएपछि विश्व राजनीतिक रूपले अलग अलग राष्ट्रका हैसियतमा रहे पनि वास्तवमा विश्व एउटै परिवार रहेछ, परिवारको एक सदस्य दुःखमा पर्दा अर्को पनि अछुतो रहन नसक्दो रहेछ भन्ने वास्तविकता कोरोनाले विश्वलाई सिकाएको अर्को महत्वपूर्ण पाठ हो जो मननीय छ । यसै कारणले नै हो, हाल मित्रराष्ट्र चीनले नेपाललाई निःशर्त सहयोग गर्न थालेको देखिन्छ ।
 
१६. ओजोन तहमा सुधारः कुनै पनि नराम्रो कुराभित्र केही न केही राम्रो पक्ष पनि लुकेको हुँदो रहेछ । कोरोनाले विश्वव्यापी रूपमा आतङ्क मच्चाइरहँदा यसबाट छुटकारा पाउन अपनाइएको सर्वमान्य उपाय लकडाउनलाई पूरै विश्वले एकैचोटी बाध्यतावश नै किन नहोस् अपनाएको छ । यसले जनजीवनमा निश्चय नै केही कठिन परिस्थिति उत्पन्न गराएको छ । अर्थतन्त्रमा नकारात्मक प्रभाव छोडेको छ । मानिसहरूलाई सन्त्रस्त बनाएको छ । तर चरम औद्योगिकरण, सवारी सानहरूको चरम प्रयोग जस्ता कुराहरू जो आवश्यक हुँदाहुँदै पनि त्यसले उत्सर्जन गरेको प्रदूषणका कारण वायुमण्डलमा पारेको नकारात्मक असरले ओजोन तहमा ल्याएको विनास अर्कोतिर छ । यसलाई सन्तुलनमा ल्याउन विश्वव्यापी लकडाउनले ठुलो योगदान पु¥याएको छ । यसलाई कोरोनाको सकारात्मक योगदानका रूपमा लिन सकिन्छ । यसले समय समयमा विश्व समुदायले सल्लाह गरेर एकैसाथ केही दिन प्रदूषणको उत्सर्जन गर्ने क्रियाकलापहरू रोक्न सके उपयुक्त हुने कुरा सुझाएको छ ।
 
१७. जनचेतना अभिवृध्दि गर्नु आवश्यकः कोरोनाजस्तो प्राणघातक भाइरसको नियन्त्रणका लागि सरकारले जनहीतका लागि घोषणा गरेको लकडाउनलाई जनताले आफ्नै सुरक्षाका लागि हो भनेर पालना गर्नुपर्नेमा सरकारका लागि लकडाउन मानिदिनुपर्ने जस्तै गरी कतिपय जनताले लकडाउनलाई इमान्दारीपूर्वक पालना नगरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर बिदेशबाट नेपाल भित्रिएका नागरिकहरूले आफ्नैलागि, आफ्ना परिवारका लागि, समाजका लागि र सिङ्गो राष्ट्रका लागि हो भनेर इमान्दारीपूर्वक चौध दिनसम्म सेल्फ क्वारेण्टाइनमा बसिदिनुपर्नेमा सरकारका आँखा छल्न उद्यत देखिनुको प्रमुख कारण चेतनाको अभाव नै हो । यसैले हामीले सम्पूर्ण जनतालाई सचेत बनाउनै पर्ने आवश्यकता महसुस गराएको छ । यसका लागि शिक्षा नै महत्वपूर्ण अश्त्र हो । यो कुराको महसुस पनि कोरोना आतङ्कले नै गराएको छ । 
 
यसरी नकारात्मकताभित्र पनि सकारात्मकताको खोजी गर्न सकिन्छ भन्ने कुराको सन्देश अहिलेको परिस्थितिले सृजना गराएको मान्नुपर्छ । यति हुँदाहुँदै पनि अहिलेको कोरोना महामारीविरुध्द सबैले एकजुट भएर इमान्दारीपूर्वक आ–आफ्नो स्तरबाट सहयोग गर्नु आजको आवश्यकता हो । यसै आवस्यकतालाई मनन गरी आज कतिपय मनकारी दाताहरूले ठुलो ठुलो रकमको सहयोग गरिरहनुभएको छ । उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ । त्यसैगरी हाम्रा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले आफ्नो स्वास्थ्यलाई नै जोखिममा राखेर भएपनि रातदिन नभनी सेवा पु¥याउँदै आउनुभएको छ । यसको जति प्रशंसा गरेपनि कम हुन्छ । आशा गरौँ हामी सबैको साझा प्रयासबाट कोरोना भगाउन हामी सफल हुने छौँ । अस्तु ।