मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसको उच्च अवस्थासँग जुध्न अमेरिका सक्षम : राष्ट्रपति ट्रम्प

कोरोना भाइरसको उच्च अवस्थासँग जुध्न अमेरिका सक्षम : राष्ट्रपति ट्रम्प


अमेरिका । कोरोना भाइरसको महामारी दुई सातामा उच्च बिन्दुमा पुग्दा त्यसको सामना गर्न अमेरिका निकै राम्रो अवस्थामा हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उनको जिकिर छ । 
 
सोमबार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेका छन्।’
 
के गर्दैछ अमेरिका ?
 
ट्रम्पका अनुसार अहिलेसम्म आठ हजार १०० भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको छ। मिसिगनमा थप चार सय, न्यूजर्सीमा तीन सय, इलिनोइ र लुजिआना प्रत्येकमा १५० र कनेटिकटमा ५० को सङ्ख्यामा भेन्टिलेटर पठाइने उनको भनाइ छ । एक दिनअघि भने ट्रम्पले गभर्नरहरूलाई महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरू लुकाएर राखेको आरोप लगाएका थिए।
 
ट्रम्पले पुनः भने, ‘केही राज्यहरूले आफूहरूलाई चाहिनेभन्दा बढी सामग्री थुपारेर राखेका छन्।’ फोर्ड मोटर कम्पनीले सय दिनभित्रै ५० हजार नयाँ भेन्टिलेटरहरू बनाउने ट्रम्पको भनाइ छ।
 
सहायताको योजना
 
भाइरसले फोक्सोमा असर गर्दै श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू सिर्जना गर्ने भएकाले त्यस्तो बेला बिरामीका लागि भेन्टिलेटर अत्यावश्यक मानिन्छ। राष्ट्रपति ट्रम्पले अमेरिकालाई चाहिनेभन्दा बढी उत्पादन भएपछि त्यस्ता उपकरणहरू देशबाहिर पठाउने आफ्नो योजना समेत सुनाए। सामग्री पठाइने देशमा उनले उच्च प्रभावित इटली, फ्रान्स र स्पेनको नाम लिएका थिए। इटलीका हकमा भने उनले १० करोड डलर बराबरका ुसर्जिकल र मेडिकलु सामग्री पठाइने बताएका छन्।
 
सामाजिक दूरीमा जोड
 
राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदा तीस दिनलाई निकै महत्त्वपूर्ण भन्दै सामाजिक दूरी कायम राखेर दश लाखभन्दा बढी अमेरिकीको जीवन बचाउन सकिने बताएका छन्।
 
उनले अहिलेसम्म अमेरिकामा १० लाख भन्दा बढीमा भाइरस जाँच गरिएको भन्दै त्यो अन्य कुनै पनि देशमा भन्दा बढी रहेको दाबी गरे। तर पत्रकारहरूले उनलाई प्रतिव्यक्ति जाँचमा अमेरिका किन दक्षिण कोरियाभन्दा पछाडि रह्यो भनेर सोधेका थिए। जवाफमा ट्रम्पले भने आफ्नो प्रशासनले गरेको प्रगतिका लागि आफूलाई बधाई दिनुपर्ने बताए।
 
अमेरिकामा रहेको मास्कको अभावबारे बोल्दै ट्रम्पले एउटा मास्कलाई २० पटकसम्म किटाणुमुक्त पारेर प्रयोग गर्न सकिने भन्दै त्यसका लागि आवश्यक उपकरणहरू मुख्यमुख्य केन्द्रमा पठाइने बताए। पत्रकार सम्मेलनमा ट्रम्पले एक प्रयोगशाला कम्पनीले तयार पारेको पाँच मिनेटमै जाँच गर्न सकिने किट देखाउँदै त्यसले दिने नतिजा निकै विश्वसनीय रहेको जनाए।
 
न्यूयोर्कमा नौसेनाको पानीजहाज अस्पताल
 
यसअघि अमेरिकी नौसेनाको अस्पतालको रूपमा प्रयोग गर्न सकिने एउटा पानीजहाज देशको सबैभन्दा बढी प्रभावित न्यूयोर्क आइपुगेको छ। एक हजार शैय्या भएको पानीजहाजमा कोभिड १९ को उपचार भने हुनेछैन। तर, त्यसले न्यूयोर्कका अस्पतालमा रहेका अन्य बिरामीको चापलाई कम गर्न सघाउने छ।
 
न्यूयोर्कमा ६० हजार बढी सङ्क्रमित भएका छन् भने १२ सय बढीले ज्यान गुमाइसकेका छन्। अमेरिकामा १ लाख ६५ हजार सङ्क्रमित भइसकेका छन्। जसमा मंगलबार बिहानसम्म ३१६४ को मृत्यु भएको छ । बीबीसी