मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा मंगलबार बिहानदेखि एकहप्ता लकडाउन, सरकारको निर्देशन पालना नगरे एक महिना कैद

नेपालमा मंगलबार बिहानदेखि एकहप्ता लकडाउन, सरकारको निर्देशन पालना नगरे एक महिना कैद


काठमाडौँ । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्तासम्म घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । सोमबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले ११ गते मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो । 
 
७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले चेतावनी दिएका छन् । 
 
संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’
 
फ्रान्सबाट कतार हुँदै मङ्गलबार नेपाल आएकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले लक डाउन गर्ने निर्णय गरेको हो । त्यस्तै समितिले निजी सवारी साधन चलाउनसमेत पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । 
 
देशभर लकडाउन भएपछि कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन् । निजी तथा सार्वजनिक सवारीका साधन तथा आन्तरिक उडानसमेत बन्द हुनेछन् । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीमात्र हिँडडुल गर्न पाउने छन् ।
 
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन् । उनले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताए । “कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षितरुपमा उद्धार गरेर अस्पताल लगेर उपचार गछौँँ”, उनले भने ।
 
उनले नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनुपर्छ भन्दै कोभिड–१९ पोजेटिभ देखिएपछि नेपाल अब ग्रीनजोनमा नरहेको समेत बताए ।  “हिजोसम्म हामी ग्रीन जोनमा रहेका थियौँ”, उनले भने, “कोभिड–१९ पोजेटिभ देखिएपछि हामी अब धैर्य गरेर थप सावधानी अपनाउनुपर्छ ।”