मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारत र चीनको सबै सीमा नाका एकसाता बन्द हुने मन्त्रिपरिषद्को निर्णय

भारत र चीनको सबै सीमा नाका एकसाता बन्द हुने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ । सरकारले भारत र चीनका सबै सीमा नाकाहरु सोमबार बिहान १० बजेदेखि एक सातासम्म पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
 
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो । 
 
नेपालले भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि सीमा नाका बन्द गर्ने प्रस्ताव राखेकोमा भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौँ नेपाली फर्किएका छन् ।
 
यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए । केही जिल्लाले आइतबार स्थानीयस्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय गरेका थिए । 
 
भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगत्तै नेपालमा मन्त्रिपरिषद् बैठकले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
 
त्यस्तै, सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । मन्त्रिपरिषदको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो ।
 
सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना सं‌क्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए ।