मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कोरोना भाइरस विषम परिस्थितिको सूचना हो

कोरोना भाइरस विषम परिस्थितिको सूचना हो


भन्छन् दशा बाजा बजाएर आउँदैन । जे भने पनि विरामी, आपतकालिन अवस्था वा मृत्यु कुनै न कुनै लक्षण बोकेर आउँछन् । संकेत दिएर आउने वा आउन सक्ने अवस्थाका लागि समयमै सतर्क हुइँदैन भने त्यसले आफैंलाई समाप्त गर्छ । मानिस जबसम्म आफैमाथि समस्या आइलाग्दैन, छिमेकीसम्म आइपुगेको समस्या आफूलाई पनि आउन सक्छ भन्ने कुरामा वेवास्ता गर्छ र त्यस्ता समस्याको मजाक बनाएर उडाइरहेको हुन्छ ।
  
कुरा कोरानाको हो । इटली र स्पेन करीव करीव ध्वस्त भएका छन् । इटली र स्पेनको कोरोनाको अवस्था कहिले र कहाँ गएर रोकिएला, यसको सहजै अनुमान लगाउन सकिने अवस्था छैन । 
 
अहिले नै भएको क्षतिलाई भरपाइ गर्न सक्ने अवस्थामा ती देश छैनन् । चीन वा अन्य केही धनी राष्ट्रहरूले क्षतीलाई थेग्न सक्लान् तर इटली र स्पेन जस्ता राष्ट्रहरू भने अझै लम्बिन सक्ने यो महामारीको अवस्था र भविष्यमा ती देशहरूमा पर्ने आर्थिक समस्याबाट कसरी पार पाउलान्, सहजै भन्न सकिने अवस्था छैन । 
 
अमेरिकाकै स्थिति पनि सजिलो छैन । अथाह सम्पत्ति भएर पनि योजनाविहीन हुँदा त्यो सम्पत्तिको के काम ? अहिले अमेरिका यही अवस्थामा छ । पैसा छ, जनशक्ति छ, साधन स्रोत छ तर कसरी कोरोनाविरुद्ध लड्ने, योजना छैन । चीनमा जस्तो सरकारी आदेशका भरमा “लकडाउन” गर्न सक्ने अवस्थामा अमेरिका छैन । 
 
संक्रमण फैलन सक्ने अवस्थाले शैक्षिक क्षेत्र, धेरै कामदार हुने उद्योग वा संक्रमित भइसकेका क्षेत्रलाई लकडाउन गरे पनि पूर्ण लकडाउनको अवस्था सम्भव देखिँदैन । जति र जुन रूपमा लकडाउन भएको छ, त्यो पनि लम्बिरहने अवस्था देखिँदैछ । 
 
अर्को कुरा, लकडाउन नै समस्याको अन्तिम उपाय पनि होइन किनभने लकडाउनले बजारमा जीवनयापनका लागि चाहिने माग र आपूर्तिको सन्तुलन कायम गर्न सकेन भने त्यतिबेलाको अवस्था के होला, त्यो हिसाबकिताबको अर्कै पाटो हुन सक्छ ।  
 
यहाँ भन्नै पर्ने हुन्छ, अमेरिकामा लकडाउन पछि के गर्ने ? यसको योजना अमेरिकी सरकारसँग पनि छैन । जसरी चीनमा सरकारको एक निर्णयको आधारमा लकडाउन गरी हरेक व्यक्तिको स्वास्थ्य परीक्षणका माध्यमले संक्रमितहरूको विवरण संकलन गरी आवश्यक कदम चालेर चीनले अवस्था शुन्यमा झारेको छ, त्यही अवस्था अमेरिकमा सम्भव भइरहेको छैन । 
 
तसर्थ, यहाँ संक्रमितहरूको संख्या र मृत्युदर बढिरहेको छ । बजारमा अभावको सिर्जना नै त भएको छैन तर हुने अवस्था देखिँदैन र भयो भने अगाडि के होला, यसको अनुमान भयावह हुन सक्छ । 
 
यस्तो विषम परिस्थितिमा पनि सुखद कुरा, नेपालमा अहिलेसम्म कोरोनाको समस्या देखिएको छैन । समस्या देखिएको भनिएको एउटा विरामी उपचारपछि घर फर्काइएको छ भने अर्को बिरामीमा कोरोना नेगेटिभ आएको छ । यसो भन्दैमा नेपालले मुक्ति पाएको छ भनेर सोच्ने अवस्था भने कदापि छैन किनभने भारतमा कोरोना संक्रमणको अवस्था तीब्रतर गतिमा बढिहरेको छ । 
 
अहिले विश्वमा पछिल्लो चरणमा कोराना प्रभावित देशको रूपमा भारत अगाडि आइरहेको छ र भारतमा अहिलेसम्म संक्रमितहरूको संख्या ३३२ र मृत्यु भएको संख्या ५ पुगेको छ । यो क्रम यही रूपमा अगाडि बढे चीन, इटली र स्पेन भन्दा भारत बढी क्षति व्यहोर्ने देशको सुचीमा आउन सक्ने कुरा भारतकै विशेषज्ञहरुले अनुमान लगाइरहेका छन् जसका लागि भारतको आफ्नै आन्तरिक तयारी पनि अत्यन्तै फितलो देखिन्छ । 
 
भारतको यो अवस्था देखिएको बेलामा खुला सीमाना भएको नेपालमा यदि कोरानाको प्रकोप देखियो भने स्थिति के होला ? न सरकार यसको तयारीमा छ, न तयारीका लागि सरकारसँग कुनै साधन स्रोत छ । 
 
तसर्थ, यो कुरालाई मध्यनजर राखेर खेलाँची नगरी नागरिक स्तरमा नै आफूलाई चारवटा कुरामा पूर्ण रूपले सतर्कता अपनाऔं । 
 
(१) संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने स-साना कणबाट कोरोना भाइरस सर्नसक्छ, त्यसैले व्यक्ति-व्यक्तिबीच कम्तिमा ६ फुटको दूरी कायम गरौं ।
 
(२) शरीरमा आँखा, नाक र मुख कोरोना संक्रमित हुने सबैभन्दा सरल अंग भएकोले ती अंगहरूमा हात पुर्याउनुअघि पूर्ण रूपले सावुन पानीले हात धुने बानी गरौं । सम्भव भए ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।
 
(३) खोक्दा वा छ्युँ गर्दा सम्भव भए मास्क प्रयोग गरौं, नभए कम्तिमा आफ्नो कुहिनाको प्रयोग गरौं ।
 
(४) सरकारी आदेश वा अनुरोधको परिपालन गरी घरभित्र आफूलाई (सेल्फ क्वारेन्टाइनमा) सुरक्षित राखौं ।
 
संक्रमित अन्य देशहरूमा सरकारले विभिन्न अवस्थामा सेवा, सुरक्षा प्रदान गर्ने, आर्थिक सहायत उपलब्ध गराउने, स्वास्थ्य सेवा दिन सक्ने भए पनि हाम्रो जस्तो देशमा महामारी फैलिएमा सरकारी तवरमा त्यस्तो सेवा वा क्षतिपूर्ती उपलब्ध गराउने सक्ने अवस्था छैन । तसर्थ, देश र सरकारको अवस्था बुझी आफैंले आफैंलाई सुरक्षित राख्न भरपुर कोशिस गरौं । 
 
धन्यवाद ।
नारायण अधिकारी
भर्जिनिया, अमेरिका ।