मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अफवाह फैलाउने पाण्डेले मागे माफी

अफवाह फैलाउने पाण्डेले मागे माफी


ड्यालस (टेक्सस) – भाइरल हुनका लागि विवादास्पद भिडियो बनाएका नयनराज पाण्डेले चर्चित सेलिब्रेटीको स्टाटसका आधारमा आफुले त्यस्तो काम गरेको दावी गरेका छन् । 
 
टेकु अस्पतालमा कोरोना भाइरसका कारण १७ जनाको निधन भएको र त्यसलाई सरकारले लुकाएको भनाई राखेर उनले शुक्रबार भिडियो बनाएर सामाजीक सञ्जालमा राखेका थिए । ‘मैले सिड्नी गुरुङ लगायत अरु केही साथीहरुले लेखेको स्टाटसलाई आधार लिएर नेपाल सरकारलाई प्रश्न गरेको हुँ’ उनले दावी गरे । 
 
उनले आफुले साभार गरेका स्टाटसका स्क्रिनशट हिमालयखबरलाई पठाउने पनि बताए । तर उनले पठाएका सिड्नी गुरुङ लगायत साभार गरिएका स्क्रिनशट भने त्यति प्रमाणिक र तथ्यपूर्ण छैनन् । हावादारी रूपमा लेखिएका स्टाटसहरू छन् । 
 
आफुबाट गल्ती भएको भने उनले स्विकार गरेका छन् । उनले माफी पनि मागेका छन् । लामो स्टाटस लेख्दै उनले माफी मागेका हुन् । उनलाई अफवाह फैलाएको आरोपमा नेपाल प्रहरीले पक्राउ गर्नका लागि इन्टरपोल मार्फत अमेरिकी प्रहरीलाई आग्रह गरिसकेको छ । 
 
टेक्ससको अर्भिङमा बस्दै आएका उनले अफवाहयुक्त भिडियो बनाएर राखेपछि व्यापक आक्रोश उत्पन्न भएको छ। सामाजीक सञ्जालमै उनलाई गाली गर्ने र कारवाही गर्नुपर्ने आवाज उठेको छ । 
 
उनले आफुले ४० सेकेण्डको भिडियो बनाएर सामाजीक सञ्जालमा राखेकोमा २० सेकेण्डको मात्रलाई लिएर गाली भएको उल्लेख गरे । 
 
उनले आफ्नो स्टाटसमा पटक पटक माफी माग्दै क्षमायाचना गरेका छन् । 
 
सारा संसारलाई कोभिड–१९ का नामले परिचित कोरोना भाइरसले त्रस्त बनइरहेको छ । नेपालमा अहिलेसम्म संक्रमित व्यक्ति फेला परेका छैनन् । तर भिडियोमा ५ वटा लाश प्लास्टिकले बेरेर अस्पताल बाहिर निकालेको र १७ जनाको निधन भैसकेको हावादारी कुरा गरिएको छ । 
 
सामाजीक सञ्जालमा लेख्दा र बोल्दा सचेत हुनुपर्ने पाठ धेरैलाई यो घटनाले सिकाएको छ ।
 
तस्बिर : नयनराज पाण्डेको फेसबुकबाट