मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना कहर : १८९ देशका १३ हजार ७८२ व्यक्तिको मृत्यु

कोरोना कहर : १८९ देशका १३ हजार ७८२ व्यक्तिको मृत्यु


काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट आइतबार रातिसम्म १८९ देशका १३ हजार ७८२ जनाको मृत्यु भएको छ ।      
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार कोरोनाको संक्रमणबाट ३ लाख २४ हजार ६४ व्यक्ति प्रभावित भएकोमा ९६ हजार ६ जना निको भई घर फर्किएका छन् । अझै विश्वभर २ लाख १४ हजार २७६ जनाले उपचार गराइरहेका छन् । जसमध्ये १० हजार १५५ को अवस्था जटिल रहेको छ । 
 
चीनमा हालसम्म ८१ हजार ५४ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२६१ पुगेको छ भने नयाँ संक्रमितको संख्या ४६ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ६ रहेको छ । चीनमा ७२ हजार ४४० जना उपचारपश्चात् घर फकिएका छन् । अब जम्मा संक्रमित ५३५३ जनाको उपचार जारी छ । जसमध्ये १८४५ को अवस्था गम्भीर छ ।  
 
इटालीमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएको छ । हालसम्म ५३ हजार ५७८ जना संक्रमित भएकोमा ४८२५ जनाको ज्यान गएको छ । इटालीमा एकै दिन ६५५७ जना संक्रमित भएका छन् भने एकै दिन ७९३ जनाको मृत्यु भएको छ ।    
 
इटाली पछि अमेरिकामा धेरै जना संक्रमित भएका छन् । अमेरिकामा ३० हजार २९१ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने ३८८ जनाले ज्यान गुमाएका छन् । आइतबार अमेरिकामा एकै दिन ८६ जनाको ज्यान गएको छ भने ६०८४ जना नयाँ संक्रमित थपिएका छन् । 
 
यस्तै, स्पेनमा २८ हजार ६०३ व्यक्ति संक्रमित छन् भने हालसम्म १७५६ जनाले ज्यान गुमाएका छन् । आइतबार नयाँ संक्रमितमात्रै ३१०७ पुगेको छ । स्पेनमा शनिबार २८५ र आइतबार ३७५ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, जर्मनीमा २४ हजार ७१४ संक्रमित छन् भने ९३ जनाको मृत्यु भएको छ । जर्मनीमा २३५० नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ ।   
 
इरानमा २१ हजार ६३८ जना संक्रमित भएकोमा १६८५ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १०२८ छन् । इरानमा आइतबार १२९ जनाले ज्यान गुमाएका छन् । 
 
फ्रान्समा १४ हजार ४५९ जना प्रभावित रहेकोमा ५६२ जनाले ज्यान गुमाएका छन् । नयाँ मृत्यु हुनेको संख्या ११२ पुगेको छ । 
 
दक्षिण कोरियामा ८८९७ जना कोरोनाबाट प्रभावित छन् भने १०४ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित २४५ छन् भने शनिबार थप १० जनाको मृत्यु भएको छ ।  
 
स्वीट्जरल्याण्डमा ७२३० संक्रमित छन् भने ८५ जनाको ज्यान गएको छ । ३६७ नयाँ संक्रमित थपिएका छन् । आइतबार ५ जनाको ज्यान गएको छ । 
 
यसैगरी, युकेमा ५६८३ व्यक्ति संक्रमित भएकोमा २८१ जनाको मृत्यु भएको छ । आइतबार ४८ जनाको ज्यान गएको छ । नेदरल्याण्ड्समा ४२०४ संक्रमित भएकोमा १७९ जनाको मृत्यु भएको छ । बेल्जियममा ३४०१ संक्रमित भएकोमा ७५ जनाको मृत्यु भएको छ । जसमा आइतबारमात्रै ८ जनाको ज्यान गएको छ । यस्तै, जापानमा १०८६ संक्रमित छन् भने ३६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 
 
भाग्यवश, नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा पनि संक्रमण नदेखिएको पुष्टि भएको छ । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । सोमबारदेखि सार्वजनिक यातायात सेवासमेत बन्द हुँदैछ । (एजेन्सीहरुको सहयोगमा ।)