अमेरिका -अमेरिकामा अहिलेसम्म नेपाली समुदायका कसैलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक भएको छैन । तर, स्टोर , ग्यांस स्टेशन लगायत विभिन्न क्षेत्रमा अग्रपंक्तिमा नेपाली काम गर्नेको संख्या निकै वढी रहेकाले नेपाली समुदायमा कोरोना संक्रमणको जोमिख भने उच्च छ ।
अमेरिकामा अहिलेसम्म करिव २० हजार कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो संख्या दैनिक वढ्दो छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या करिव २५० छ । नेपाली समुदायको बाक्लो वस्ती रहेका अमेरिकाका प्रमुख शहर अहिले कोरोनावाट वढी प्रभावित छन् ।
अमेरिकामा पनि नेपाली समुदाय विच कोरोना भाइरसका वारेमा विभिन्न हल्ला चलिरहेका छन् । केही दिनअघि न्यूयोर्कमा एक जना नेपालीलाई कोरोना भाइरस लागेको हल्ला चलेको थियो । तर, ती नेपालीका आफन्तले पछि यो हल्ला सत्य नभएको र अन्य स्वास्थ्य समस्याले ती नेपाली अस्पताल गएको सार्वजनिक गरेका थिए ।
न्यूयोर्क नेपाली समुदायको सवैभन्दा ठुलो वस्ती भएको क्षेत्र हो । अमेरिकामा सवैभन्दा वढी कोरोना संक्रमित पनि यही भेटिएका छन् । तर, अहिलेसम्म त्यहां कुनै नेपाली कोरोनावाट संक्रमित भएको समाचार छैन ।
तर अमेरिकामा स्वास्थ्य सम्वन्धि समस्या व्यक्तिगत र गोप्य हुन्छन् । परिवारले नभनीकन कसलाई भयो कसलाई भएन त्यो थाहा हुदैंन ।
नेपालीको अर्को ठूलो वस्ती रहेको टेक्ससमा पनि कोरोना भाइरसका विषयमा यस्तै हल्लाहरु चलिहेका छन् ।
केही दिन अघि टेक्सस डलासको भारतीय स्टोर पटेल ब्रदर्शका कर्मचारी कोरोना भाइरसवाट संक्रमित भएको हल्ला चलेको थियो । तर, उक्त स्टोरले यो सत्य नभएको दावी गरेको छ ।
शनिवार पनि टेक्ससको ग्यांस स्टेशनमा काम गर्ने एकजना युवतीलाई कोरोना भाइरस संक्रमण भेटिएको हल्ला चलेको छ । तर, यो पनि पुष्टि हुन सकेको छैन ।
अमेरिकामा कोराना भाइरसको चेक जांचलाई तिव्रता दिईएको छ । तर, कति नेपाली समुदायले कतिले जांच गरेका छन् यो प्रष्ट छैन । कोरोना भाइरसको संक्रमण छिटो फैलिने भएकाले समुदायमा कसैलाई देखियो भने यो धेरैमा सर्ने जाखिम भने छ ।
कोरोना भाइरसको संक्रमणका वारेमा सचेत हुने विभिन्न संघ संस्था र व्यक्तिले समुदाय भित्र आग्रह गरेपनि चेक जांचलाई भने जोड दिएका छैनन् ।
वासिंटन स्थित नेपाली दुतावासले शुक्रवार एक अपिल जारी गर्दै नेपाली समुदायलाई सजग र सतर्क हुन आग्रह गरेको छ ।
नेपाली दुुतावासले कोरोना भाइरस संक्रमणका कारण आएको विशेष परिस्थितिले यात्रा अवरुद्ध भएका नेपालीको समस्या समाधानका लागि पहल भईरहेको पनि जनाएको छ ।
राजदुत डा अर्जुन कुमार कार्की द्धारा शुक्रवार सार्वजनिक अपिलमा नेपाल जान नपाउंदा ओभरस्टे भएकाहरुको समस्या समाधानका लागि पनि कुटनीतिक पहल भईरहेको अपिलमा उल्लेख छ ।
नेपाल सरकारले कोरोना संक्रमण हुन नदिन नेपालीलाई समेत नेपाल प्रवेश प्रतिवन्ध लगाएको छ । दुतावासले आकस्मिक सेवा लिनुपरे टेलिफोन र इमेलवाट सम्पर्क गरेर दुतावासमा समय लिन सकिने पनि जनाएको छ । अपिलमा ओभरस्टे हुने समस्या दुतवासमा आईरहेको पनि उल्लेख छ ।
केही साता अघि राजदुत कार्कीले टेक्ससमा आयोजित एक सार्वजनिक कार्यक्रममा दुतासावमा टेलिफोन नगर्ने भनेका थिए । उनको यो भनाईको व्यापक आलोचना भएको थियो ।
दुतावासले क्षमताले भ्याएसम्म वर्तमान परिस्थितिमा नेपाली समुदायलाई सेवा पुर्याउन दुतावास तत्पर रहेको पनि अपिलमा उल्लेख छ ।
प्रतिक्रिया