मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बालगायक प्रिन्स सिलवालको पाँचौँ म्युजिक भिडियो ‘माया लाग्छ नेपालको’ सार्वजनिक

बालगायक प्रिन्स सिलवालको पाँचौँ म्युजिक भिडियो ‘माया लाग्छ नेपालको’ सार्वजनिक


चितवन । पूर्वी चितवनको रत्ननगर-७,सौराहाका १२ वर्षीय बालगायक प्रिन्स सिलवालको पाँचौँ प्रस्तुति ‘माया लाग्छ नेपालको’ भर्खरै सार्वजनिक भएको छ ।
 
आफूलाई जन्म दिने आमाबाबु र जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने सन्देशसहित बालगायक प्रिन्स सिलवालको देशप्रेमले ओतप्रोत भएको गीत ‘माया लाग्छ नेपालको’ आफ्नो युट्युबमार्फत् भर्खरै सार्वजनिक गरेका छन् । प्रिन्सका संगीत शिक्षक प्रेम घिमिरेको संगीत, दिनेश न्यौपानेको संयोजन तथा अनिल कटुवालको निर्देशनमा बनेको म्युजिक भिडियोमा सुन्दर पर्यटकीय नगरी पोखरा, सौराहा र काठमाडौँमा छायांकन गरिएको छ ।
 
बालगायक सिलवालको पहिलो एल्बम ‘दशैँ मनाउने’ दर्शक स्रोताले अत्यधिक मन पराएका थिए । पहिलो एल्बमबाटै चर्चा कमाएका उनले त्यसपछि न मानामा नापिन्छ माया, बाबा, देउसीभैलो गीत प्रस्तुत गरे ।
 
एकपछि अर्कोगरी आफ्नो प्रतिभा देखाएका उनले हालैमात्र ‘माया लाग्छ नेपालको’ गीत सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा स्वर तथा मोडलिङ प्रिन्स र उनका संगीत शिक्षक प्रेम घिमिरेले गरेका छन् । सानैदेखि गीत(संगीतमा रुचि राख्ने प्रिन्सले कक्षा १ पढ्दादेखि नै आफ्नो प्रतिभा देखाउने गरेका उनका बुबा रमेश सिलवाल बताउँछन् ।
 
प्रिन्सको रुचि बुझेर बुबा रमेश र आमा प्रतिभा सिलवालले बालगायक बनाउन प्रोत्साहन दिँदै आएका छन् । प्रिन्सले पाँच कक्षामा पढ्दा पहिलो गीत रेकर्ड गराएका हुन् । प्रिन्सका बुबा होटल व्यवसायी हुन् भने आमा गृहणी हुन् । सौराहा स्थायी घर भएका प्रिन्स काठमाडौँस्थित चन्दवाग स्कुल बाँसवारीमा पढ्दैछन् ।
 
अभिनेता सरोज खनालसँगै अभिनय गरेका प्रिन्सले ‘बाबा’ बोलको गीत बुबाप्रतिको सम्मानमा गाएको बताएका छन् । सो गीतमा २०७२ सालको विनाशकारी महाभूकम्पले कैयौँ जनधनको क्षति गर्नुका साथै कयौँ नागरिकको सपना उजाड बनाएको विषयवस्तुमा केन्द्रित थियो ।
 
फरक धारको गीत ‘दशैँ मनाउने’मा बालगायिका दिप्ती भट्टले उनलाई साथ दिएकी थिइन् । रमेश पाठकको शब्द, संगीत र नरेन्द्र वियोगीको संयोजनमा बुद्ध लामाले निर्देशन गरेको उक्त गीतमा दीपेन्द्र भट्टले छायांकन र सम्पादन गरेका हुन् । सो गीतमा पनि प्रिन्स, दिप्ती र उनका साथीहरुले अभिनय गरेका थिए ।
 
प्रिन्सले ‘न मानामा नापिन्छ माया’ बोलको आधुनिक गीतमार्फत् सफल बालगायकको रुपमा आफूलाई उभ्याएका थिए । उनको एकल गायन रहेको सो गीतमा वसन्त बित्यासी थापाको शब्द, अशोक लुहारुङ राईको शब्द संगीत रहेको थियो ।
 
प्रिन्सका बुबा रमेश सिलवालका अनुसार प्रिन्सको छैठौँ गीत पनि छिट्टै सार्वजनिक हुँदैछ । उनले ट्राफिकसम्बन्धी सचेतनामूलक गीत ल्याउँदैछन् । गीत रेकर्ड भइसकेको छ भने छायांकन हुन बाँकी छ । ट्राफिक प्रहरीकै संयोजन र लगानीमा उक्त गीत आउन लागेको उनको भनाइ छ ।