मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

७२ घन्टामा तयार भयो भरतपुरमा कोरोना विशेष अस्पताल

७२ घन्टामा तयार भयो भरतपुरमा कोरोना विशेष अस्पताल


चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० शैय्याको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा  तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउने छ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरणसहितको संरचना तयार गरिएको हो ।
 
महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबारदेखि अस्पतालको सेवा शुभारम्भ हुने जानकारी दिइन् । अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ । अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोसाकको व्यवस्था गरिएको उनले बताइन् । 
 
कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ ।
 
महानगरपालिका प्रमुख दाहालसंयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घन्टामा अस्पताल तयार गरी सञ्चालन गर्न लागेको हो । कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीले अस्पताल सञ्चालन गर्न जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक शैय्या ल्याइएको जानकारी दिए । 
 
प्रयोगशाला, रेडियोलोजीलगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन् । अस्पताल सञ्चालनका लागि उद्योग संघ चितवन र उद्योग वाणिज्य संघ चितवनले आ–आफ्नो ठाउँबाट सहयोग गरेको उनले बताए । अस्पतालमा सरकारी अस्पताल, निजी मेडिकल कलेज र भरतपुर महानगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
 
अन्य सबै खर्च अहिले भरतपुर महानगरपालिकाले गरिरहेको जनाएको छ । अस्पतालमा छिट्टै १० शैय्याको सघन उपचारकक्ष र १० शैय्यायाका हाइ डिपेन्डेन्ट युनिट (एचडीयू)समेत सञ्चालन गरिँदैछ । यसका लागि काम अघि बढिसकेको प्रमुख डा अधिकारीले जानकारी दिए । अस्पताल सञ्चालनका लागि सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । 
 
केबलकार, सिनेमाघर र हाटबजार बन्द गर्न निर्देशन
 
कुरिनटारको चेरेशमा रहेको मनकामना केबलकार र जिल्लामा सञ्चालन हुँदै आएका हाटबजारलाई बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केबलकार र हाटबजारमा सर्वसाधारणको ठूलो जमघट हुने भएकाले तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको जानकारी दिए ।
 
उनका अनुसार केबलकार सञ्चालकले सूचना प्रवाह गर्न एक दिनको समय माग गरेकाले केवलकार शनिबारबाट बन्द गर्न भनिएको छ । हाटबजार र सिनेमाघर आजबाट बन्द गर्न सूचना जारी गरिएको छ । मनकामना मन्दिर दर्शन गर्न जाने केबलकार चितवनको कुरिनटारस्थित चेरेशमा रहेको छ । 
 
तत्कालका लागि वैकल्पिक व्यवस्थाको खोजी गर्न भन्दै हाटबजार बन्द गर्न भनिएको हो । यस्तै, जिल्लाका सबै सिनेमा घर पनि बन्द गर्न निर्देशन दिइएको छ ।